मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ९ सोमबार ०९:१०:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

युरोपमा लकडाउनसँगै प्रदर्शन

Read Time : < 1 मिनेट
२०७७ चैत ९ सोमबार ०९:१०:००

 केही युरोपियन देशले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न पुनः लकडाउन घोषणा गरेका छन् । पोल्यान्ड, फ्रान्स तथा युक्रेनले शनिबारदेखि लागू हुने गरी पसल बन्द गराएका छन् । सरकारले घरबाटै अफिसको काम गर्न निर्देशन दिएका छन् । विभिन्न देशले घोषणा गरेको लकडाउनको विरोधमा प्रदर्शन भएको एजेन्सीहरूले जनाएका छन् । 

जर्मनीको कासेल सहरमा हजारौँ जर्मन नागरिक प्रतिबन्धको विरोध कार्यक्रम आयोजना गरेका छन् । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । यसैगरी, लेस्टल, स्विट्जरल्यान्ड तथा लन्डनमा पनि प्रदर्शन भएका छन् । ‘कोरोनाको ट्याग लगाउँदै पुनः लकडाउन गर्न मिल्दैन, यसको अन्त्य हुनुपर्छ,’ जर्मनीको कासेल सहरमा प्रदर्शनकारीले यस्तो नारा लगाएका छन् ।

फ्रान्सको १६ प्रान्तमा लकडाउन घोषणा हुँदा एकतिहाइभन्दा बढी जनसंख्या मारमा छन् । सरकारले पुनः लागू गरेको लकडाउन विगतको जस्तो कठोर बनाएको छैन । फ्रान्समा विद्यालय, सैलुन र चकलेट पसल खुलेका छन् । यो एक साताभित्र विश्वभरि १४ प्रतिशतले संक्रमति संख्या बढेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । 

डब्लुएचओले शनिबार एस्ट्राजेनेका भ्याक्सिन सुरक्षित रहेको दाबी गरे पनि यसको विवाद अझै साम्य भएको छैन । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लायनले युरोपेली मुलुकलाई खोपमा प्राथमिकता नदिई अन्यत्र निकासी गर्ने क्रम नरोकिए पूरै निकासी रोक्ने चेतावनी दिएका छन् । 

एस्ट्राजेनेका कम्पनीले नौ करोड डोज खोप युरोपलाई दिने घोषणा गरे पनि हालसम्म ३० प्रतिशत मात्र आपूर्ति गरेको छ । कम्पनीले युरोपेली प्लान्टमा उत्पादनमा ढिलाइ भएको बताउँदै आएको छ ।