मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
यात्रुबाहक सवारीसाधन नचलेपछि सुनसान नेपाल–भारत सीमानाका रुपैडिहा । तस्बिर : विश्वराज पछल्डङ्ग्या
जीवन बस्नेत काठमाडौं
२०७७ चैत ९ सोमबार १०:४५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१२ महिनादेखि नेपाल–भारत यात्रुबाहक यातायात सेवा सञ्चालन ठप्प

दैनिक सञ्चालन हुँदै आइरहेका ५० भन्दा बढी बस ग्यारेजमा थन्किए, ३ सय कामदार बेरोजगार, सीमानाकाका होटेल खाली, भारतीय पर्यटन आगमनमा समेत कमी भएको व्यवसायीको भनाइ

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ चैत ९ सोमबार १०:४५:००

नेपाल–भारत यात्रुबाहक यातायात बन्द भएको १२ महिना पुग्दा पनि पुनः सञ्चालन हुन सकेको छैन । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले ११ चैत ०७६ देखि संघीय सरकारले दुई देशबीच सञ्चालन भइरहेको यातायात सेवा बन्द गरेको थियो । 

त्यसपछि स्वास्थ्य मापदण्ड अपनाएर ०७७ साउनदेखि आन्तरिक यातायात सुचारु गर्ने निर्णय गरे पनि सरकारले नेपाल–भारत यातायात भने अझसम्म खुलाएको छैन । सरकारले निर्णय नगर्दा नेपालबाट दैनिक भारत सञ्चालन हुने बस अहिले ग्यारेजमा थन्किएर बसेका त्रिसिद्धेश्वरी राप्ती यातायातका अध्यक्ष सुरेश हमालले बताए । 

व्यवसायीका अनुसार दुई देशबीच यातायात सञ्चालन नहुँदा बैंकको ऋणको किस्ता तिर्न कठिन भएको छ । त्यस्तै, बसमा कार्यरत २ सय र प्रशासनिक थप १ सय गरी कुल ३ सय कामदार बेरोजगार भएका छन् । ‘ड्राइभरले बस छाडेर हिँडेका छन्, काउन्टरमा काम गर्ने पनि अहिले सम्पर्कमा छैनन्, बैंकले किस्ता तिर्न ताकेता गरेका गर्‍यै छन्, एक किसिमले बिजोगको अवस्थामा छौँ,’ दाङ–दिल्ली बस सञ्चालक रहेका हमालले भने । यसका साथै देशका विभिन्न ठाउँबाट दैनिक आवतजावत गर्ने यात्रुलाई पनि दुई देशबीच यातायात सञ्चालन नहुँदा कठिन भएको व्यवसायीहरूको भनाइ छ । 

यस विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निरन्तर पैरवी गरिरहेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । देशभरका व्यवसायीले बस सञ्चालन खुलाउन माथिल्लो निकायमा दबाब दिइरहेको उनको भनाइ छ । ‘चाँडै सकारात्मक निर्णय आउने प्रतीक्षामा छौँ,’ उनले भने । 

वर्ष दिनदेखि नेपाल–भारत बस सञ्चालन नहुँदा सीमानाका र त्यसवरपरका बजारसमेत प्रभावित भएको पूर्व मेची बस व्यवसायी कम्पनीका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । ‘अहिले भारतीय पर्यटक शून्य जस्तै छ, यसले पर्यटन क्षेत्रलाई पनि नकारात्मक प्रभाव परिरहेको छ,’ उनले भने, ‘यसलाई सुधार गर्न पनि बस सञ्चालनमा ल्याउनुपर्छ ।’ अर्काेतर्फ भारतीय पक्ष पनि बस सञ्चालन गर्न चाहिरहेको बस व्यवसायीहरूको भनाइ छ । सरकारले बस सञ्चालनको निर्णय गर्नेबित्तिकै दुई देशबीच बस सुचारु हुनेछ । 
   
 नेपाल र भारत बस सञ्चालन स्वीकृत रुट
दुई देशबीचमा यातायात सेवा सञ्चालन गर्न १० वटा स्वीकृत रुट छन् । करिब दुई दर्जन यातायात कम्पनीले ती रुटमा बस सञ्चालन गर्दै आएका छन् । ती रुटहरूमा काठमाडौं–पटना–बोधगया, महेन्द्रनगर–दिल्ली, नेपालगन्ज–रुपैडिहा–बरेली–मोहदाबाद–हरिद्वार, सिलगुडी–काँकडभिट्टा–काठमाडाैं, जनकपुर–पटना, महेन्द्रनगर–देहरादुन, नेपालगन्ज–रुपैडिहा–लखनउ, नेपालगन्ज–रुपैडिहा–दिल्ली, काठमाडौं–सुनौली–गोरखपुर र पोखरा–भैरहवा–सुनौली–गोरखपुर–लखनउ–दिल्ली रहेका छन् । यातयात व्यवसायीका अनुसार नेपालदेखि भारत जाने बसमध्ये ८० प्रतिशत दिल्ली जाने गरेका छन् । 

बस सञ्चालनको निर्णय गर्न मन्त्रिपरिषद्मा सिफारिस
व्यवसायीले दबाब दिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले नेपाल र भारतबीच रोकिएको यात्रुबाहक यातायातलाई सुचारु गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ चैतमा बसेको सिसिएमसीको बैठकले कोभिड–१९ अगाडिकै अवस्थामा जस्तै खुला गर्नुपर्ने प्रस्तावसहित मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

सरोकारवाला निकायबाट आएको अनुरोध र सुझाबलाई लिएर दुई देशबीचको यातायात सेवा पूर्ववत् अवस्थामा झैँ खुलाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको सिसिएमसीका सचिव खगराज बरालले बताए । ‘अन्तरदेशीय यातायात सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना खुलाउने प्रस्ताव छ,’ उनले भने । 

नेपाल र भारतबीच यसअघि नै हवाई सेवा खुला भइसकेको छ । मन्त्रिपरिषद्ले यातायात सुचारु गर्ने निर्णय गरेको खण्डमा यात्रुले कोरोना संक्रमण रोकथामका लागि अपनाउनुपर्ने सबै प्रकारका स्वास्थ्य मापदण्ड भने कार्यान्वयन गरिने तयारी छ । साथै, यात्रा गर्नुभन्दा ७२ घन्टाअगाडिको पिसिआर नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने सिफारिससमेत गरिएको छ । 

यसबाहेक सिसिएमसीले कोभिड–१९ महामारीअघि दुई देशका सिमानामा आवतजावत गर्ने र नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन सञ्चालन गर्न पनि प्रस्ताव गरेको छ । तर, पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण वृद्धि भएको खबर आइरहेको छ । यसकारण सरकारले तत्काल दुई देशबीच बस सञ्चालनमा ढिलाइ हुन सक्ने अधिकारीहरूको भनाइ छ ।