मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७७ चैत ८ आइतबार १०:४३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘लिभिङ टुगेदर’मा पनि महिला हिंसा

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७७ चैत ८ आइतबार १०:४३:००

नेपाल प्रहरीको तथ्यांकअनुसार यस वर्ष नेपालभरमा ११ हजार सात सय ३८ वटा महिला हिंसासँग सम्बन्धित उजुरी दर्ता भएका छन्

- ललितपुर प्रहरी परिसरमा एक महिनाअघि २१ वर्षीया एक युवतीले दुई वर्षदेखि सँगै बसेको पुरुष साथीबाट हिंसा भएको भन्दै उजुरी दिइन् । घरेलु हिंसा शीर्षकमा उजुरी दिए पनि सोधपुछको क्रममा ‘लिभिङ टुगेदर’मा रहेको पुष्टि भएको प्रहरीको भनाइ छ । उनीहरूबीच विवाहको विषयलाई लिएर झगडा भएको र यसैले हिंसाको रूप लिएको प्रहरी बयानबाट पत्ता लागेको छ । केही समयपछि सम्बन्धलाई विवाहमा परिणत गर्ने सर्तमा उनीहरू सँगै बसेको खुलेको छ । तर पुरुषले धोका मात्र दिएनन्, हिंसामासमेत उत्रिए ।

- २२ वर्षीया एक युवतीले परिवारको सहयोगमा दुई साताअघि ललितपुर प्रहरी परिसरमा बलात्कारमा परेको भन्दै उजुरी दिइन् । ती युवती ललितपुर बस्ने २३ वर्षीय पुरुषसँग तीन वर्षदेखि ‘लिभिङ टुगेदर’ मा रहेको खुलेको छ । सुरुमा घरपरिवारमा उनीहरूबीचको सम्बन्धबारे जानकारी थिएन । गत पुस महिनामा उनी गर्भवती भएको थाहा पाइन् । स्वास्थ्य समस्याका कारण ‘मिस क्यारेज’ भयो । उनको जटिल स्वास्थ्य अवस्था देखिएपछि पुरुष साथीले छाडेर भागे । युवती अहिले परिवारसँगै छिन् । प्रहरीले पुरुषविरुद्ध मुद्दा चलाएको छ । 

- कञ्चनपुर घर भई हाल काठमाडौंमा अध्ययन गरिरहेकी २६ वर्षीया युवती केही दिनअघि सहयोगका लागि महिला तथा बालबालिका केन्द्र, कालीमाटी पुगिन् । दुई वर्षदेखि काठमाडौंकै एकजना पुरुषसँग उनी ‘लिभिङ टुगेदर’मा रहिछन् । विवाह गर्ने योजनासहित उनीहरू सँगै बसेका रहेछन् । युवतीले आफ्नो परिवारमा विवाह भइसकेको बताएकी रहिछन् । माघ दोस्रो सातातिर उनले बच्चा जन्माएपछि केटा साथी फरार भएछन् । उनको उजुरीका अधारमा प्रहरीले ती पुरुषलाई पक्रेको छ । प्रहरी अनुसन्धानमा जात नमिलेका कारण युवतीलाई छोडेको ती पुरुषले बयान दिएका छन् । प्रहरीले थप अनुसन्धान गरेर मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ । 

.... ...                    .......

पछिल्लो समय सहरी क्षेत्रका प्रहरी कार्यालयमा लिभिङ टुगेदरसँग जोडिएका यस्ता हिंसाका घटना दैनिकजसो आउने गरेका छन् । जसमध्ये अधिकांश घटनालाई प्रहरीले मिलापत्रमा टुंग्याउने गरेको छ । प्रहरीका अनुसार ललितपुरमा मात्रै माघ महिनामा ४४ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । जसमध्ये ३७ वटा मिलापत्र भइसकेको छ । महिला तथा बालबालिका केन्द्र कालीमाटीको तथ्यांक हेर्दा दैनिक पर्ने उजुरीहरूमा ललितपुरको तुलनामा काठमाडौंमा बढी देखिन्छन् । प्रहरीका अनुसार दर्ता हुने हिंसाका यस्ता घटनामध्ये आधाभन्दा बढी विवाहइतर सम्बन्ध र लिभिङ टुगेदरसँग सम्बन्धित हुन्छन् ।

काठमाडौं उपत्यकामा मात्र नभई बाहिरका सहरी क्षेत्रमा पनि ‘लिभिङ टुगेदर’ ट्रेन्ड बढिरहेको र सँगै हिंसाका घटना पनि बढेको प्रहरीको अध्ययन रिपोर्टले देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार यस वर्ष नेपालभरमा ११ हजार सात सय ३८ वटा यस्तै विषयसँग सम्बन्धित उजुरी दर्ता भएका छन् । पछिल्लो समय युवायुवतीमा ‘लिभिङ टुगेदर’ र वयस्कहरूमा विवाहेतर सम्बन्धका कारण सहरी क्षेत्रमा हिंसाका घटना बढिरहेको ललितपुर प्रहरी परिसरकी महिला सेल प्रमुख प्रहरी निरीक्षक निरला भण्डारी बताउँछिन् ।

उनी भन्छिन्, ‘हतारमा बिहे गर्नुभन्दा एक–अर्कोको व्यवहार बुझेर मात्र विवाह गर्ने उद्देश्यले टिभिङ टुगेदर बढिरहेको छ, तर दुर्भाग्यवश ! यस्ता सम्बन्धहरू निकै कम मात्र विवाहमा परिणत हुने गरेका छन् ।’ यस्ता घटना अविवाहितामा मात्र नभई विवाहितामा पनि देखिएको छ । कतिपय केस पहिलो विवाहको बारेमा थाहा नहुने र थाहा भएपछि महिला छुट्टिन खोज्ने हुन्छन् । तर, यस्ता केसमा पुरुषले फोटो वा भिडियोको डर देखाएर हिंसा गर्ने गरेको पाइन्छ । कतिपय केसमा पैसाको लोभ वा डर देखाएर शारीरिक मानसिक यातना दिइरहेका छन् । यौनहिंसाका उजुरीहरूमा अधिकांश महिला पीडित भएको देखिन्छ । तर, प्रहरीका अनुसार सम्बन्धबाट छुट्टिसकेपछि आर्थिक लेनदेन र साइबर क्राइमका घटना पनि जोडिएर आउने गर्छन् । 

व्यवहार पश्चिमा शैली खोज्ने सोच पुरातन : डा. मीना उप्रेती
व्यवहार र सोचमा एकरूपता नहुँदा नेपाली समाजमा ‘लिभिङ टुगेदर’ गम्भीर समस्या बनिरहेको समाजशास्त्री डा. मीना उप्रेतीको बुझाइ छ । उनका अनुसार कुनै पनि नयाँ संस्कृति/ट्रेन्ड समाजमा फिट हुन यसको अवधारणामा निर्भर गर्छ । सुरुमा ‘लिभिङ टुगेदर’को अवधारणालाई बुझ्नुपर्ने हुन्छ । तर, हाम्रो युवापुस्तामाझ यसप्रतिको बुझाइमा कमी छ । उनी भन्छिन्, ‘नेपाली समाजको संरचनासँग ‘लिभिङ टुगेदर’को अवधारणा मेल खाँदैन, अर्थात् हाम्रो संस्कृतिले विवाह नगरी महिला र पुरुष श्रीमान्–श्रीमतीको हैसियतमा बस्न दिँदैन । पछिल्लो समय लहैलहैमा वा बाध्यतावश यो अवधारणा लागू भए पनि सम्बन्धप्रतिको सोचमा परिवर्तन भएन । जसले समस्या निम्त्याइरहेको छ ।’

उप्रेतीका अनुसार ‘लिभिङ टुगेदर’ अवधारणाले नेपाली महिलामा आत्मनिर्भरता पनि बढेको छ । यसले पितृसत्तात्मक सोचलाई चुनौती दिएको छ । तर, यसको गलत प्रयोगले हिंसालाई पनि बढाइरहेको छ । पीडित महिला मात्र नभई पुरुष पनि छन् । सँगै बस्नेहरू अधिकांशले पछि गएर विवाह गर्ने योजना बनाएका हुन्छन् । तर, सँगै बस्दै जाँदा सामाजिक हैसियत, आर्थिक अवस्था, जात व्यवस्था, उमेर आदि विषयमा मेल हुँदैन । जसले सम्बन्धलाई विवाहमा परिवर्तन गर्न गाह्रो हुने अवस्था छ । यस्ता घटनाले हिंसाको रूप लिने, प्रहरीसम्म उजुरी पुग्ने र मुद्दाको रूप लिएर अदालतसम्म पुग्ने गरेका छन् । 

‘लिभिङ टुगेदर’ले गम्भीर समस्या निम्त्याइरहेको छ : डिएसपी चुँडाल
महिला तथा बालबालिका केन्द्र, कालीमाटी प्रमुख डिएसपी कोपिला चुँडालका अनुसार सहरी क्षेत्रमा ‘लिभिङ टुगेदर’ समस्याको रूपमा देखिन थालेको छ । विवाहेतर सम्बन्ध र प्रेम सम्बन्धमा हुने हिंसा पनि यहीसँग जोडिएर आउने गर्छन् । उनी भन्छिन्, ‘लिभिङ टुगेदर’ले गम्भीर समस्या निम्त्याइरहेको छ ।’ उनका अनुसार यस्ता समस्यामा परेकाहरू उजुरी दिँदा बलात्कारको केस दर्ता गर्न आउँछन् । अनुसन्धान गर्दै जाँदा २२–२३ वर्षका युवायुवतीहरूसमेत नौ वर्षदेखि, पाँच वर्षदेखि, दुई वर्षदेखि सम्बन्धमा भएको बताउँछन् । उजुरीका लागि आउने सबै केस हिंसाका नहुन सक्छन् । धेरैजसोले बलात्कारसम्बन्धी उजुरी हालेर पैसा वा सम्पत्ति दिलाउन माग गर्ने गरेको डिएसपी चुँडाल बताउँछिन् । उजुरी दिनेको उमेर २० वर्षभन्दा कम भए सीधै मुद्दा दर्ता गर्ने गरेको उनको भनाइ छ । तर, उमेर पुगिसकेकाहरूलाई भने काउन्सिलिङ गर्ने गरिएको छ ।  

देखासिकीमा सँगै बस्ने ट्रेन्ड : करुणा कुँवर

मनोविद् करुणा कुँवरका अनुसार पश्चिमा समाजको देखासिकी नेपालमा पनि छ । अझ नयाँ पुस्ता यस्ता विषयमा अगाडि छ । उनी नेपालका युवायुवती ‘लिभिङ टुगेदर’को ट्रेन्ड नबुझी देखासिबीमा पछि लागेको बताउँछिन् । उनी भन्छिन्, ‘सम्बन्धप्रति परिपक्व व्यक्तिले यस्ता समस्या निम्त्याएको दैखिँदैन । खासगरी, कलेज पढ्ने किशोरीकिशोरी यस्तो सम्बन्धमा बढी छन्, जुन पुस्ता अर्काको देखासिकीमा बढी चलिरहेको हुन्छ ।’ साथी वा सर्कलको देखासिकीमा ‘लिभिङ टुगेदर’को लहर बढिरहेको उनको भनाइ छ । 

केही समय लिभिङ टुगेदरमा बसिसकेपछि अधिकांश महिलाको सोच विवाह र दीर्घकालीन सम्बन्धप्रति केन्द्रित हुने उनी बताउँछिन् । उनीहरूमा समाजले नस्विकार्ने, अर्को व्यक्तिसँग विवाह गर्न गाह्रो हुने पो हो कि भन्ने डर बढ्दा आकांक्षाहरू बढ्दै जान्छन् । जसले गर्दा सम्बन्ध समस्यामा रूपान्तरण हुने गरेका छन् । उनी भन्छिन्, ‘सम्झौताअनुसार व्यवहार नहुँदा समस्या बढिरहेको देखिन्छ । अनपेक्षित गर्भधारण, पटक–पटक गर्भ फाल्नेजस्ता समस्या बढिरहेका छन् । जसले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता केसमा युवतीहरू बढी पीडित हुन्छन् र भविष्यप्रति विश्वस्त नहुने हुँदा विवादको विषय बन्ने गर्छ ।’