Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ चैत ८ आइतबार १०:०३:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

शक्तिशाली भूकम्पपछि  जापानमा सुनामीको चेतावनी

Read Time : > 1 मिनेट
२०७७ चैत ८ आइतबार १०:०३:००

जापानमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी मौसम विज्ञान निकायले दिएको छ । मौसम विज्ञान निकायले उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । भूकम्पको केन्द्रबिन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटर गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ ।

जापानमा सुरुमा भूकम्पको मापन ७.२ म्याग्निच्युड गरिएको थियो । पछि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्निच्युडको पुष्टि गरेका छन् । अमेरिकी भूगर्भ विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्निच्युडको रहेको बताएको छ । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउन सक्ने अवस्थालाई ध्यानमा राख्न सरकारले नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । 

स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा मियागी क्षेत्रमा भूकम्पको महसुस गरिएको थियो । भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरंग निस्किन सक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ । जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य संकेतको महसुस नगरिएको जनाएका छन् ।

टोकियो इलेक्ट्रिक पावरले भूकम्पपछि फुकुसिमामा केही असर नगरेको जनाएको छ । ‘सामान्य अवस्थामै फुकुसिमाको आणविक क्षेत्र सञ्चालन भइरहेको छ,’ टोकियो इलेक्ट्रिक कम्पनीले भन्यो । सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु वा बेपत्ता भएका थिए । दश वर्ष पहिले जापानमा आएको सुनामीका कारण निम्तिएको विनाशलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षित स्थलतर्फ हतारहतार भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेले प्रसारित गरेको छ । 

सरकारले उच्च सतर्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसिनोमाकी सहरका ताकासी योकोताले बताए । ‘मैले दश वर्षअघिको जस्तै अनुभव गरेँ,’ योकोताले भने, ‘त्यस वेलाको अनुभवले यसपटक काम गर्‍यो, भूकम्पको धक्का महसुस गरेपछि हामी छिटो गतिमा सुरक्षित क्षेत्रमा लाग्यौँ ।’ उनले सरकारबाट सुरक्षित रहेको आधिकारिक सूचना नआउँदासम्म आफू पहाडी क्षेत्रमै बसोवास गर्ने बताएका छन् । जापानी अधिकारीले सुनामीको सम्भावना क्रमशः कम हुँदै गएको तर सावधानीका लागि अझै केही समय सुरक्षित स्थलमा रहन सुझाब दिएका छन् ।