मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७७ चैत ८ आइतबार ०७:०८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हुन्डीसम्बन्धी अपराध अनुसन्धानमा प्रहरी नै अलमलमा : कतै आफैँ मुद्दा दायर, कतै अन्य निकायलाई जिम्मेवारी 

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७७ चैत ८ आइतबार ०७:०८:००

काठमाडौं परिसर प्रमुख एसएसपी अशोक सिंह : हुन्डीसम्बन्धी अपराधमा पक्राउ परेकामाथि छानबिन गर्ने प्रस्ट कानुन छैन । हामीले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाउने गरेका छौँ ।  

पर्साका एसपी बेलबहादुर पाण्डे : हुन्डीको काम बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसारको कसुर हो । एक देशबाट अर्काे देशमा यसरी आर्थिक कारोबार गर्नुलाई सो ऐनले कसुर भनेको छ । सोही कारण हामीले मुद्दा अघि बढाएका हौँ । 

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर : सामान्यतया हुन्डीसम्बन्धी अपराधमा प्रहरीले अनुसन्धान गर्दैन । हुन्डीसँगै अन्य अपराध जोडिएको अवस्थामा प्रहरीले अनुसन्धान गर्छ, नत्र राजस्व र सम्पत्ति शुद्धीकरणमा बुझाउने गरेका छौँ । 

पर्सामा हुन्डी कारोबारीलाई सार्वजनिक गर्दै प्रहरी

गत १६ फागुनमा काठमाडौंमा प्रहरीले १७ लाख ७८ हजार रुपैयाँसहित तीनजनालाई हुन्डी कारोबारको आरोपमा पक्राउ गर्‍यो । कुलेश्वरमा फलफूल पसलको आवरणमा हुन्डीको कारोबार गरेको अभियोगमा नवराज कार्की, उनका कामदार समुन थापा र भारतीय नागरिक सत्यनारायण साहलाई पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान नगरी प्रहरीले सीधै राजस्व अनुसन्धान विभाग पठायो । 

सोही दिन पर्सामा प्रहरीले तीन लाख १२ हजार नेपाली र पाँच हजार दुई सय भारतीय रुपैयाँसहित भारतीय नागरिक सोनु साहलाई पक्राउ ग¥यो । तर, उनलाई भने प्रहरीले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ । 

एउटै कसुरमा यसरी प्रहरीले कतै आफैँ अनुसन्धान गर्दै आएको छ भने कतै राजस्व अनुसन्धान विभागलाई पठाउने गरेको छ । हुन्डीसम्बन्धी अपराधको अनुसन्धान आफूहरूले गर्न पाउने कि नपाउने भन्नेमा प्रहरी अधिकारी नै अन्योलमा छन् । कुनै जिल्लामा प्रहरीले आफैँ अनुसन्धान गरी मुद्दा चलाउँदै आएको छ भने कतै राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाउने गरेको छ । आफैँ अनुसन्धान गर्दा गिरोहका थप व्यक्ति पक्राउ पर्ने भएकाले अनुसन्धान थप बलियो हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । 

गत २५ फागुन जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका– ६ स्थित जय माँ अम्बे ट्रेडर्सका कर्मचारी जयराम राउत कुर्मीलाई स्रोत नखुलेको सात लाख ७५ हजार नेपाली र सात हजार चार सय भारतीय रुपैयाँसहित पक्राउ गरेको घटनामा पनि प्रहरीले आफैँ अनुसन्धान गरिरहेको छ । कुर्मीलाई प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार अदालतको अनुमतिमा म्याद थप गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानको क्रममा उनी कार्यरत कम्पनीबाट महिनामै करोडौँको हुन्डी कारोबार हुने गरेको खुल्यो । 

प्रहरीले उनी कार्यरत कम्पनीमा छापा हानी तीन करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको चेक, विभिन्न बैंकको २१ वटा चेकबुक र ४१ वटा खाली चेक बरामद गरेको छ । यी सबै चेक हुन्डी कारोबारसँग सम्बन्धित भएको प्रहरीको दाबी छ । गिरोहमा आबद्ध थप व्यक्तिबारे पनि प्रहरीले सूचना पाएको छ । यता काठमाडौंमा पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान नहुँदा उनीहरूको कारोबार प्रस्ट हुन सकेको छैन । पक्राउ परेका दुवै नेपालीलाई धरौटीमा छाडेर राजस्व अनुसन्धान विभागले भारतीयलाई मात्र थुनामा राखेको छ । 

गत २० पुसमा प्रहरीले नागढुंगाबाट एक करोड ४७ लाखसहित भारतीय नागरिक अमित गुप्तालाई पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइएको थियो । 

पछिल्लो तीन महिनामा १७ जनालाई परिसरले हुन्डी कारोबारको आरोपमा पक्राउ गरेको छ । उनीहरू सबैलाई राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरणमा पठाइएको थियो । विगतमा कहिलेकाहीँ मात्र मुद्दा चलाएको देखिन्छ । अन्य जिल्लामा पनि पक्राउ परेकालाई राजस्वमै बुझाउने प्रचलन छ । प्रहरी प्रधान कार्यालयको यसबारे प्रस्ट नीति नहुँदा प्रहरी अधिकारीमै यसबारे अन्योलता छ । 

यसरी विस्तृत अनुसन्धान प्रहरीबाट नहुँदा मुख्य नाइकेहरू जोगिने र उनीहरूको कारोबारबारे विस्तृत खुल्ने गरेको छैन । जसकारण नाइकेहरू सधैँ जोगिने र एकपटक पक्राउ परे पनि छुटेकाहरू फेरि कारोबारमा लाग्ने गरेका छन् । कुलेश्वरबाट गत महिना पक्राउ परेका भारतीय नागरिक सत्यनारायण साह यसअघि पनि पक्राउ परेर छुटेका व्यक्ति हुन् । 

काठमाडौं परिसरका प्रमुख एसएसपी अशोक सिंह हुन्डीसम्बन्धी अपराधमा पक्राउ परेकामाथि छानबिन गर्ने प्रस्ट कानुन नभएकाले प्रहरीले अनुसन्धान नगर्ने बताए । ‘हामीले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाउने गरेका छौँ,’ उनले भने, ‘उताबाट पनि राम्रो अनुसन्धान हुन्छ ।’ 

पर्साका एसपी बेलबहादुर पाण्डे हुन्डीको काम बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसारको कसुर भएकाले आफूहरूले थुनामै राखेर अनुसन्धान गरेको बताउँछन् । ‘एक देशबाट अर्काे देशमा यसरी आर्थिक कारोबार गर्नुलाई सो ऐनले कसुर भनेको छ,’ उनले भने, ‘सोही कारण हामीले त्यहीअनुसार मुद्दा अघि बढाएका हौँ ।’ 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर सामान्यतया हुन्डीसम्बन्धी अपराधमा प्रहरीले अनुसन्धान नगर्ने बताउँछन् । ‘हुन्डीसँगै अन्य अपराध जोडिएको अवस्थामा प्रहरीले अनुसन्धान गर्छ, नत्र राजस्व र सम्पत्ति शुद्धीकरणमा बुझाउने गरेका छौँ,’ उनले भने । कस्तोमा प्रहरीले अनुसन्धान गर्ने र कस्तोमा अन्य निकायलाई बुझाउने भन्ने प्रस्टता नभएको उनी स्विकार्छन् । यसमा संगठनले एकरूपता कायम गर्ने उनको भनाइ छ । 

कतिसम्म भने सिआइबीले समेत हुन्डी कारोबारी पक्राउ गर्दा अनुसन्धानबाट पन्छिने गरेको छ । गत १७ कात्तिकमा ब्युरोले ९९ लाख ८४ हजार रुपैयाँसहित विकास मित्तल, कमल मित्तल तथा गणेश पौडेललाई ओमबहालबाट पक्राउ गरेको थियो । उनीहरूलाई ब्युरोले अनुसन्धान नगरी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ३१ मा ‘बैंक वा वित्तीय संस्थाबाहेक अन्य कसैले बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने’ उल्लेख छ । सोही दफाअनुनसार कतिपयलाई प्रहरीले मुद्दा चलाउने गरेको छ । सो ऐनअनुसार बिगोबराबर जरिवाना र पाँच वर्षसम्म कैद हुने प्रावधान छ । राजस्व अनुसन्धानले भने यसलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार मुद्दा चलाउने गरेको छ । हुन्डीसम्बन्धी प्रस्ट कानुनी व्यवस्थाको अभावका कारणसमेत यस्ता अपराधमा संलग्नहरूले सहजै उन्मुक्ति पाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।