मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७७ चैत ६ शुक्रबार ०६:२७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सैनिक अधिकृतको माग १०७, परीक्षार्थी १८५, उत्तीर्ण ७२ मात्रै

लोकसेवाले लिने सेनाको लिखित परीक्षामा उत्तीर्ण हुने घटे

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७७ चैत ६ शुक्रबार ०६:२७:००

नेपाली सेनाले आन्तरिकतर्फ खुला गरेको अधिकृत क्याडेडको लिखित परीक्षामा ७२ जना उत्तीर्ण भएका छन् । सेनाले रिक्त एक सय सात पदका लागि आन्तरिकतर्फ विज्ञापन आह्वान गरेको थियो । प्रतिस्पर्धामा एक सय ८५ सैनिक सहभागी थिए । 

सन्तोषबल्लभ पौडेल, सहायक रथी, सैनिक प्रवक्ता

लोकसेवा आयोगले नेपाली सेनाको लिखित परीक्षा लिँदै आएको छ । यस्तो परीक्षामा उत्तीर्ण हुने सैनिकको संख्या विगतमा पनि कमै थियो । अहिले पनि कम नै देखिएको छ । लोकसेवाले लिने परीक्षाको आफ्नै सिस्टम छ । जसबारे सैनिक कर्मचारी अभ्यस्त नभएको हुन सक्छ । यसले पनि उत्तीर्ण प्रतिशत घटेको हुन सक्छ । अन्य देशको अध्ययन गर्दा पनि यस्तै नै देखिन्छ ।

अधिकृततर्फको लिखित परीक्षा लोकसेवा आयोगले लिने र परीक्षा प्रणालीको सम्बन्धमा सैनिक कर्मचारी अभ्यस्त भइनसकेका कारण परीक्षामा कम उत्तीर्ण हुने सेनाको भनाइ छ । अन्य देशमा पनि लोकसेवाबाट हुने लिखित परीक्षामा कम सैनिक उत्तीर्ण हुने गरेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । ‘लोकसेवा आयोगले नेपाली सेनाको लिखित परीक्षा लिन्छ । यस्तो परीक्षामा उत्तीर्ण हुने सैनिकको संख्या विगतमा पनि कम थिए । अहिले पनि कम नै देखिएको छ । आयोगको परीक्षा प्रणालीसँग सैनिक कर्मचारी अभ्यस्त भइनसकेकाले पनि उत्तीर्ण प्रतिशत घटेको हुन सक्छ । अन्य देशको अध्ययन गर्दा पनि यस्तै नै देखिन्छ,’ उनले भने ।

सेनाले गत २२ देखि २५ मंसिरसम्म अधिकृत क्याडेडका लागि परीक्षा सञ्चालन गरेको थियो । आन्तरिकका लागि खुला गरिएको यो परीक्षामा सेनाका जमदार, सुवेदार र हवल्दार दर्जाका सैनिक कर्मचारी सहभागी थिए । अब उनीहरूले मनोवैज्ञानिक विधिबाट लिइने ‘साइकोलोजिकल टेस्ट’ र अन्तिममा ‘इन्टरभ्यु बोर्ड’बाट लिइने अन्तर्वार्ता चरण पास गर्नुपर्ने हुन्छ । 

सैनिक छनोटका क्रममा लिइने परीक्षामा सम्झौता नगरिने भएकाले उत्तीर्णको दर कम हुने गरेको सैनिक प्रवक्ता पौडेलले बताए । ‘लोकसेवाले लिने परीक्षाको आफ्नै सिस्टम छ । जसबारे सबै सैनिक कर्मचारी अभ्यस्त नभएको हुन सक्छ । त्यसैले परीक्षामा कम उत्तीर्ण हुन्छन् । सैनिक अधिकृत छनोटका क्रममा सम्झौता हुन्न । यसले पनि उत्तीर्ण हुने संख्या घट्छ । यसको असर पदपूर्तिका क्रममा पर्छ नै,’ उनले भने । सातौँ चरणको परीक्षापछि मात्रै सैनिक अधिकृत सेनामा अधिकृत क्याडेडतर्फको भर्ना छनोटमा लिखित परीक्षालाई पाँचौँ चरण मानिन्छ । सैनिक अधिकृतमा छनोट हुनेले यसअघि बियरिङ, प्रि–मेडिकल, फिजिकल र आइक्यू (इटेलिजेन्ट कोसेन्ट) गरी चार चरणको परीक्षा पास गर्नुपर्ने हुन्छ । तर, यी चरण खुला प्रतिस्पर्र्धाबाट अधिकृत क्याडेडमा नाम निकाल्न चाहनेहरूको हकमा मात्रै लागू हुन्छ । अन्तरिकतर्फका सैनिकले भने यी चरणको परीक्षा दिनुपर्दैन । एकैपटक पाँचौँ चरणको परीक्षा पास गरे पुग्छ । त्यसपछि उनीहरूले छैटौँ चरणको मनोवैज्ञानिक विधिबाट लिइने ‘साइकोलोजिकल टेस्ट’ र अन्तर्वार्ता चरण उत्तीर्ण गर्नुपर्ने हुन्छ । सैनिक प्रवक्ता सहायक रथी पौडेलले सैनिक भर्ना गर्नेमाथि उल्लेखित सबै अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताए । ‘सैनिक अधिकृत भर्ना गर्दा हामीकहाँ अन्तर्राष्ट्रिय मापदण्डलाई फलो गर्छौंं । यसमा सेनाले सम्झौता गर्दैन । कडाइका साथ यो मापदण्ड लागू हुन्छ किनकि सैनिक नेतृत्व त्यहीँबाटै विकास गर्नुपर्ने हुन्छ,’ उनले भने ।

तोयनारायण सुवेदी प्रवक्ता, लोकसेवा आयोग

परीक्षाका लागि बनाइएको पाठ्यक्रमको विषयवस्तु तय सेनाबाटै हुन्छ । सोही आधारमा हामीले प्रश्न बनाउने हो । परीक्षण पनि सोही आधारमा हुने हो । प्रतिस्पर्धी उम्मेदवारमध्ये जसले पासमार्क ल्याउँछ ऊ पास हुन्छ, जसले ल्याउँदैन ऊ फेल हुन्छ । निजामतीतर्फको परीक्षामा पनि हुने यही हो ।

०७६ मा रोकिएको सैनिक छनोट पुनः हुँदै 

सेनाले ०७६ मा खुलातर्फ अधिकृत क्याडेडमा एक सय ५० जना माग गरेको थियो । दुई हजार एक सय ६३ ले आवेदन दिएका थिए । जसमध्ये तीन सय ११ जनाले पाँचौँ चरणमा हुने लिखित परीक्षा पास गरेका थिए । कोरोना भाइरस महामारी सुरु भएलगत्तै सम्पूर्ण परीक्षा रोकिन पुगेको थियो । रोकिएको उक्त परीक्षालाई सेनाले पुनः सञ्चालन गरेको छ । लिखित परीक्षा पास गर्नेले अब साइकोलोजिकल टेस्ट र इन्टरभ्यु बोर्ड परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । परीक्षा उत्तीर्ण गर्नेको मात्रै अधिकृत क्याडेडमा नाम निस्कनेछ । 

सेनाले ०७७ ब्याचका लागि अधिकृत क्याडेड खुलातर्फको विज्ञापन पनि अह्वान गरिसकेको छ । जसमा मुलुकभरबाट पाँच हजार नौ सय १३ ले निवेदन दिएका छन् । सेनाका अनुसार उनीहरूको सबै चरणका परीक्षा लिन बाँकी छ । 

लोकसेवा आयोग भन्छ– पाठ्यक्रम सेनाले नै बनाउने हो

लोकसेवा आयोगले पाँच वर्षदेखि नेपाली सेनामा लिखित परीक्षा लिँदै आएको छ । तर, पाठ्यक्रम निर्माण भने सेनाकै परामर्शमा तयार पारिन्छ । लोकसेवाले परीक्षामा सहभागी हुनेहरूका लागि आवश्यक प्रश्न सोही पाठ्यक्रमबाट छनोट गर्छ ।

लोकसेवा आयोगको उत्तर पुस्तिका परीक्षण मापदण्डअनुसार नै हुने हुँदा पनि कम संख्यामा उत्तीर्ण भएको हुन सक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए । ‘सेनाले लिने परीक्षाका लागि पाठ्यक्रम बनाइएको छ ।

पाठ्यक्रमका विषयवस्तु तय सेनाबाटै हुन्छ । सोही आधारमा हामीले प्रश्न बनाउने हो । परीक्षण पनि सोही आधारमा हुने हो । प्रतिस्पर्धी उम्मेदवारमध्ये जसले पासमार्क ल्याउँछ ऊ पास हुन्छ, जसले ल्याउँदैन ऊ फेल हुन्छ । निजामतीतर्फको परीक्षामा पनि हुने यही हो,’ उनले भने ।