मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७७ चैत ६ शुक्रबार ०६:२७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विद्यार्थीले परीक्षा दिएपछि युथ कलेजको सम्बन्धन खारेज

Read Time : > 2 मिनेट
२०७७ चैत ६ शुक्रबार ०६:२७:००

त्रिविका केही अधिकारी र कलेजको लापरबाहीले विद्यार्थीलाई तनाव 

थापाथलीस्थित एभरेस्ट कलेज, कान्तिपुर कलेज अफ टेक्नोलोजी, एबर्डिन कलेज, हिमालयन कलेज अफ इन्जिनियरिङ, रामनाथ कलेजले पनि सम्बन्धनको स्वीकृतिपत्र नलिई बिसिए कार्यक्रम सञ्चालन गरेका छन्

एक वर्ष बिसिए अध्ययन गरी विद्यार्थीले जाँचसमेत दिइसकेपछि त्रिभुवन विश्वविद्यालयले जनकपुरस्थित युथ कलेजको सम्बन्धन खारेज गरेको छ । नियमविपरीत स्वीकृति पाएको भन्दै त्रिवि कार्यकारी परिषद्ले १८ फागुनमा बिसिए कार्यक्रम खारेज गरेको हो । दुई वर्षअघि सम्बन्धन दिने निर्णय भए पनि कलेजले स्वीकृतिपत्र नलिईकनै पढाउन सुरु गरेको थियो । 

युथ कलेजले बिसिए अध्ययनका लागि ३५ विद्यार्थी भर्ना गरेको थियो । नयाँ कार्यक्रम अध्ययन गरी उज्ज्वल भविष्यको कल्पना गरेका विद्यार्थी त्रिविको निर्णयपछि चिन्तामा परेका छन् । कलेजको सम्बन्धन खारेज भएपछि त्रिविले विद्यार्थीलाई अन्य कलेजमा सार्न निर्देशन दिएको छ । 

कलेजको सम्बन्धनका विषयमा उजुरी परेपछि त्रिविको अनुगमन निर्देशनालयले छानबिन गरेको थियो । त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय र योजना निर्देशनालयबाट त्रिविको नियम, विनियमविपरीत युथ कलेजलाई बिसिए कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइएको छानबिन प्रतिवेदनमा उल्लेख छ । त्यसकै आधारमा कार्यकारी परिषद्ले १८ फागुनमा सम्बन्धन खारेज गरेको हो । 

त्रिवि कार्यकारी परिषद्ले १० भदौ ०७५ मा एक सय १६ कलेजलाई स्वीकृति दिने निर्णय गरेको थियो । त्यसैलाई आधार मानेर योजना निर्देशनालयले २८ पुस ०७७ मा युथ कलेजलाई कार्यक्रम सञ्चालनको स्वीकृतिपत्र दिएको थियो । तर, त्रिविबाट गरिएको स्थलगत अनुगमनमा कार्यक्रम सञ्चालनका लागि कलेजसँग आवश्यक पूर्वाधार, जनशक्तिलगायत नभएको पाइएको थियो । दुई वर्षअघि निर्णय भए पनि कलेजले समयमा धरौटी बुझाएको थिएन । स्वीकृतिपत्र नलिईकनै विद्यार्थी भर्ना गरेर पढाइ सुरु गरेको थियो ।

कार्यकारी परिषद्ले बिसिए कार्यक्रम सञ्चालनका लागि युथ कलेजले त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायमा राखेको १० लाख धरौटी र त्रिवि विनियोजन शाखामा राखेको ५० हजार धरौटी फिर्ता गर्न पनि निर्देशन दिएको छ । परिषद्ले कलेजमा अध्ययनरत विद्यार्थीलाई अन्यत्र व्यवस्थापन गर्न डिन कार्यालयलाई निर्देशन दिएको छ । ‘सम्बन्धन खारेज भएपछि त्यहाँका विद्यार्थी अन्यत्र सार्ने तयारी भएको छ,’ त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका बिसिए कार्यक्रम हेर्ने सहायक डिन किरण आचार्यले भने ।

परिषद्ले युथ कलेजलाई कार्यक्रम सञ्चालनको स्वीकृति दिने योजना निर्देशनालयका पदाधिकारी र निर्देशनालयलाई राय दिने डिन कार्यालयका पदाधिकारीलाई आइन्दा त्यस्ता कार्य नगर्न सचेत गराएको छ । 

त्रिवि योजना निर्देशनालय प्रमुख प्रा.डा. रिदिश पोखरेलले डिन कार्यालयको राय लिएर युथ कलेजलाई सम्बन्धनको पत्र दिएको बताए । ‘सामान्यतया कार्यकारी परिषद्ले निर्णय गरेको एक वर्षभित्रमा हामीले पत्र दिन्छौँ । त्यसपछि डिन कार्यालयको राय लिएर मात्रै पत्र दिन्छौँ । अहिले युथ कलेजलाई पनि डिन कार्यालयको राय लिएर सम्बन्धनको पत्र दिएका थियौँ,’ उनले भने, ‘सम्बन्धन निर्देशिकामा निर्णय भएको कति समयपछि पत्र दिन नहुने भन्ने स्पष्ट छैन । युथ कलेजको सम्बन्धन खारेज गरेको कार्यकारी परिषद्को निर्णयपत्र आइपुगेको छ । त्यतिवेला निर्णय भएर अहिलेसम्म पत्र नलैजाने अरू पनि आधा दर्जन कलेज छन् ।’ 

स्वीकृतिपत्र नलिई बिसिए कार्यक्रम सञ्चालन गर्दै छन् यी कलेज
आधा दर्जन कलेजले त्रिविबाट सम्बन्धनको स्वीकृतिपत्र नलिई बिसिए कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्रिवि स्रोतका अनुसार थापाथलीस्थित एभरेष्ट कलेज, कान्तिपुर कलेज अफ टेक्नोलोजी, एबर्डिन कलेज, हिमालयन कलेज अफ इन्जिनियरिङ, रामनाथ कलेजलगायतले स्वीकृतिपत्र नलिई कार्यक्रम सञ्चालन गरेका छन् ।

यी कलेजलाई कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णय ०७५ सालमै भएमो थियो । युथ कलेजको सम्बन्धन खारेज गरिएपछि यी कलेजको भविष्य के हुने भन्ने अन्योल छ । केही कलेजले अहिले स्वीकृतिपत्र मागे पनि त्रिविले दिएको छैन । त्रिवि योजना निर्देशनालयका प्रमुख प्रा.डा. रिदिश पोखरेलले भने, ‘अहिले केही कलेजका चिठी आएका छन्, युथ कलेजको सम्बन्धन खारेज भएकाले अरूलाई के गर्ने भनेर उपकुलपतिकोमा पठाएका छौँ ।’


त्रिवि योजना निर्देशनालयका प्रमुख प्रा.डा. रिदिश पोखरेल भन्छन्–डिन कार्यालयको रायमा स्वीकृतिपत्र दिएका थियौँ 
०७५ मा एक सय १६ कलेजलाई बिसिए कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिने निर्णय भएको थियो । तीमध्ये युथ कलेज पनि थियो । तर, उसले चिठी लगेको थिएन । सामान्यतया कार्यकारी परिषद्ले निर्णय गरेको एक वर्षभित्रमा हामीले पत्र दिन्छौँ । एक वर्षपछि डिन कार्यालयको राय लिएर मात्रै पत्र दिन्छौँ । अहिले पनि डिन कार्यालयको राय लिएर सम्बन्धनको पत्र दिएका थियौँ । सम्बन्धन निर्देशिकामा निर्णय भएको कति समयपछि पत्र दिन नहुने भन्ने स्पष्ट छैन । युथ कलेजको सम्बन्धन खारेज गरेको कार्यकारी परिषद्को निर्णयपत्र आएको छ । त्यतिवेला निर्णय भएर अहिलेसम्म पत्र नलैजाने अरू पनि आधा दर्जन कलेज छन् ।