मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत ५ बिहीबार ०८:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाका नखुल्दा रसुवामा लक्ष्यको ६% मात्र राजस्व संकलन

Read Time : > 1 मिनेट
२०७७ चैत ५ बिहीबार ०८:१८:००

नियमित नाका सञ्चालन नभएपछि रसुवा भन्सार कार्यालय टिमुरेले फागुनमा लक्ष्यको ६ प्रतिशत मात्र राजस्व उठाएको छ । चालू आर्थिक वर्ष ०७७/७८ को फागुनमा ९० करोड ६९ लाख १४ हजार राजस्व संकलनको लक्ष्य राखेको कार्यालयले ६ करोड १७ लाख ४२ हजार राजस्व असुली गरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । कोरोनाका कारण चीनले एकतर्फी नाका खोल्नु, सामग्रीको आयात कम हुनु र नाकामा आयात–निर्यात सहज बन्न नसक्दा राजस्व संकलनमा कमी आएको उनको भनाइ छ । 

कोरोनाको बहानामा चीनले नाका सञ्चालन नगर्दा रसुवागढी नाकाको आम्दानीमा असर देखिएको छ । त्यस्तै, ल्होसारको बहानामा चीनले फागुनमा तीन साता नाका बन्द गरेको थियो । गत वर्ष १५ माघदेखि बन्द भएको नाका गत २१ जेठसम्म  बन्द भएको थियो । २२ जेठदेखि चीनले एकतर्फी कोटा प्रणालीमा नाका सञ्चालन गरेको छ । सुरुमा आफ्नो चार कन्टेनरमा सामान नेपाल ल्याउन थालेको चीनले अहिले सातवटा कन्टेनर सामग्री नेपाली भूमिमा ल्याइदिने गरेको छ । 

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ । यसको असर भन्सार राजस्व असुलीमा देखिन थालेको छ । रसुवागढी नाकाबाट आयात–निर्यात सहज बन्न नसक्दा लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन भएको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । सामग्री लोड–अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट लगाएका नेपाली कामदार नाकामा खटिएका छन् । 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषिसुधार, अन्तःशुल्क भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।