१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ चैत ५ बिहीबार ०८:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सवारीसाधन आउजाउ सहज नहुँदा नेपालगन्जको पर्यटन व्यवसाय ठप्प

नाकामा भारतबाट मानिसको आउजाउ सुचारु भए पनि मालवाहकबाहेक अन्य सवारीसाधनलाई सीमामा खटिएका सुरक्षाकर्मीले फिर्ता पठाइदिन्छन्

Read Time : > 1 मिनेट
२०७७ चैत ५ बिहीबार ०८:१६:००

नेपाल सरकारले कोरोनाका कारण ११ चैत २०७६ देखि बन्द रहेको नेपाल–भारत सीमानाका ११ माघ ०७७ बाट सुचारु गर्ने निर्णय गर्‍यो । त्यसलगत्तै गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नाका खोल्न परिपत्र गर्‍यो ।

सरकारको निर्णय र गृह मन्त्रालयको निर्देशनात्मक परिपत्रका आधारमा प्रमुख जिल्ला अधिकारीले नाकामा मानिसहरूलाई ओहोर–दोहोर गर्न केही खुकुलो पनि गरे । तर, सवारीसाधनमा कडाइ गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको तथा नेपालगन्जको व्यवसायमा असर परेको स्थानीय उद्योगी तथा व्यवसायीले गुनासो गरेका छन् ।

सरकारको निर्णयसँगै नेपालगन्ज नाकामा भारतबाट मानिसको आउजाउ सुचारु भए पनि मालवाहकबाहेक अन्य सवारीसाधनलाई सीमामा खटिएका सुरक्षाकर्मीले नाकामै रोकेर फिर्ता पठाइदिने गरेका छन् । जसका कारण भारतबाट नेपाल आउन चाहने भारतीय दशगजा क्षेत्रमै आफ्ना सवारीसाधन थन्क्याएर पैदलै नेपालगन्ज आउजाउ गर्न बाध्य छन् । 

सरकारको निर्णयपछि नाका खुलेको भनिए पनि अवस्था लकडाउनजस्तै  रहेको होटेल व्यवसायी भास्कर काफ्लेले बताए । ‘झन्डै आठ महिना बन्द भएका होटेल लकडाउन खुकुलो भएसँगै सामान्य खुलेका छन् । सरकारले नाका खोल्ने निर्णय गरेपछि केही आशा पलाएको थियो । सवारीसाधन आउन नपाउँदा होटेल चलाउन मुस्किल भएको छ,’ उनले भने ।

  सीमानाकामा सवारीसाधन आउजाउ सहज नभए नेपालगन्ज र आसपासका सहरको व्यापार– व्यवसाय संकटमा पर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बताए । स्थानीय व्यापार–व्यवसाय बढाउन नाकामा सवारीसाधन आउजाउमा सहज हुनुपर्ने उनको भनाइ छ । ‘मानिस आउजाउ गर्न दिँदा सवारीसाधनलाई पनि सहज गर्नुपर्‍यो । सवारीसाधनबाट कोरोना सर्ने होइन होला,’ उनले प्रश्न गरे, मानिस ओहोर–दोहोर गर्न दिने, तर सवारीसाधन आउजाउ गर्न नदिने कस्तो नियम हो ? 

सवारीसाधन सहज नहुँदा बाँकेको पर्यटन र होटेल व्यवसाय धरापमा परेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।  भारतीय पर्यटक घुम्नका लागि नेपालगन्ज, कोहलपुरलगायत आसपासका जिल्लामा पुग्ने गरेको बताउँदै उनले सो क्षेत्रका होटेल, पर्यटन र क्यासिनो व्यवसाय सबैभन्दा मारमा परेको बताए ।

उनले भने ‘दुई–चार दिन बस्ने गरी सपरिवार गाडीमा आउँछन् । रमाइलो गरेर स्वदेश फर्किन्छन्, तर गाडी लिएर भारतीय आउन नपाउँदा यहाँको पर्यटन, होटेल र क्यासिनो व्यवसाय सबैभन्दा धेरै मारमा परेको छ ।’ नेपालगन्ज र आसपासका होटेल तथा रिसोर्ट भारतीय पर्यटकमा निर्भर रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सोही कारण यथाशक्य चाँडो सवारी आवागमन खुलाउन माग गरे ।