मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल कर्णाली
२०७७ चैत ५ बिहीबार ०७:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले विवादले कर्णालीको सत्तासमीकरण प्रभावित

Read Time : > 1 मिनेट
रमेश रावल, कर्णाली
२०७७ चैत ५ बिहीबार ०७:२६:००

ओली समूहले फिर्ता लियो मुख्यमन्त्री शाहीलाई गरेको समर्थन, नेपाल समूह सरकारकै पक्षमा 

यामलाल कँडेल, एमाले संसदीय दल नेता
सरकारले तीन वर्षको कार्यकालमा केही काम नै गर्न सकेन । सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ । मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएका छौँ । संसदीय दलको बैठकमा अनुपस्थित सांसदलाई स्पष्टीकरण माग्ने निर्णय भएको छ । 

 प्रकाश ज्वाला, कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री
एमाले प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति ध्यानाकर्षण भएको छ । गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत छैन । गुटगत बैठकले गरेका भनिएका निर्णयप्रति असहमति छ । हामीले समर्थन फिर्ता लिएका छैनौँ । 

सीता नेपाली, माओवादी केन्द्रका प्रदेश सभा प्रमुख सचेतक
निर्णयमा एमाले एकताबद्ध छैन । राष्ट्रिय राजनीतिको समीकरणअनुसार प्रदेशमा पनि प्रभाव पर्ने भएकाले सरकार अहिले नै ढल्छ भन्ने छैन । सरकार अझै बहुमतमा छ । प्रदेश सरकारले विश्वासको मत लिएर देखाउँछ ।’

.....                  ......

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि त्यसको असर प्रदेशको सत्तासमीकरणमा देखिन थालेको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गरेको समर्थन फिर्ता लिएको छ । यद्यपि, सिंगो एमालेले समर्थन फिर्ता लिएको छैन, यस विषयमा पार्टीभित्र मतभेद भएको छ । 

नेकपा एमाले ओली पक्षका १० जना प्रदेश सभा सांसद उपस्थित बैठकले माओवादी केन्द्रका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको हो । कर्णाली प्रदेश सभामा रहेका एमालेका २० जना सांसदमध्ये ओली पक्षका १० जना सांसद बैठकमा उपस्थित थिए । बहुमत सांसद उपस्थित बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसको जानकारी प्रदेश प्रमुख गोविन्द्रप्रसाद कोलौनीलाई गराइसकेको एमाले संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए । ‘सरकारले तीन वर्षको कार्यकालमा केही काम नै गर्न सकेन,’ उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ ।’ 

एमाले पुनर्स्थापना भइसकेपछि पार्टीको व्यवस्थाअनुसारको संसद् सचिवालयलाई निर्देशन गर्ने, सरकारमा रहेको समर्थन फिर्ता लिने, मन्त्रीलाई फिर्ता हुन निर्देशन दिने, संसदीय दलको बैठकमा अनुपस्थित सांसदलाई स्पष्टीकरण माग्ने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् । 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमालेका २० सांसदले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । प्रदेश सभामा एमालेमा २० जना सांसद, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका ६ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना सांसद रहेका छन् । 

एमालेको नेपाल पक्षले एमाले संसदीय दलको कुनै बैठक नभएर गुटगत भेला भएको बताएको छ । नेपाल पक्षका नेता तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बुधबार नेकपा एमाले प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति ध्यानाकर्षण भएको बताएका छन् । ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रस्ट पार्न चाहन्छौँ,’ उनले भने, ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरूप्रति हाम्रो असहमति छ ।’