मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत ४ बुधबार ०७:५१:००
Read Time : > 3 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

फेरि बढ्यो कोरोना संक्रमण : दुई सातामै विश्वमा थपिए ६१ लाख संक्रमित

Read Time : > 3 मिनेट
२०७७ चैत ४ बुधबार ०७:५१:००

१२ मार्चमा ०२१ सुरु भएयताकै सबैभन्दा बढी चार लाख ९० हजारमा संक्रमण 

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनले अनुमति पाएपछि विश्वभर संक्रमण दर घट्ने अपेक्षा गरिएको थियो । तर, पछिल्लो दुई साताको तथ्यांक हेर्दा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार १ देखि १५ मार्चसम्ममा विश्वमा ६१ लाख चार हजार पाँच सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो एक सातामा त हरेक दिन चार लाखभन्दा बढी संक्रमित थपिएको डब्लुएचओको तथ्यांक छ । 

१२ मार्चमा सन् ०२१ सुरु भएयताकै सबैभन्दा बढी चार लाख ९० हजारजनामा संक्रमण पुष्टि भएको थियो । यो दुई सातामा कोरोनाबाट एक लाख २७ हजार ४३ जनाले ज्यान गुमाएका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार हालसम्म विश्वमा १२ करोड आठ लाख ६९ हजार तीन सय ९१ जना संक्रमित भइसकेका छन् । जसमध्ये नौ करोड ७४ लाख ८८ हजार तीन सय ३५ व्यक्ति कोरोनामुक्त पनि भइसकेका छन् । यसबीच दुई करोड ७० लाख ६ सय १२ जना व्यक्ति भाइरसविरुद्ध लडिरहेका छन् । डब्लुएचओको डाटाअनुसार ८८ हजार चार सय १३ जनाको अवस्था जोखिम रहेको छ । 

युरोपको अवस्था नाजुक
युरोपले जनवरीमै कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । अहिले यहाँ दोस्रो चरणको भ्याक्सिन अभियान चलिरहेको छ । सबैमा भ्याक्सिनको पहुँच पुर्‍याउने युरोपको लक्ष्य भए पनि संक्रमित घट्नुभन्दा दिनप्रतिदिन बढिरहेका छन् । यसका कारण कतिपय युरोपियन देशले पुनः लकडाउन घोषणाको तयारी गरेका छन् । मंगलबार पोल्यान्डमा एकैदिन १४ हजार तीन सय ९६ व्यक्ति संक्रमित भएका छन् भने तीन सय ७२ जनाले ज्यान गुमाएको तथ्यांक छ । पोल्यान्डमा अहिलेसम्म १९ लाख ३१ हजार नौ सय २१ जना संक्रमित भइसकेका छन् । 

पोल्यान्डको छिमेकी युक्रेनको अवस्था पनि राम्रो छैन । युक्रेनमा मंगलबार नौ हजार ६ सय ४२ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने दुई सय ६४ व्यक्तिले ज्यान गुमाएका छन् । यसैगरी रसियामा पनि संक्रमित र मृतक संख्या बढेको छ । रसियामा एकैदिन नौ हजार तीन सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । चार सय ४३ व्यक्तिले ज्यान गुमाएका छन् । रोमानियामा ६ हजार एक सय १८ व्यक्ति संक्रमित भए भने एक सय ३३ जना कोरोना संक्रमणका कारण निधन भएको डब्लुएचओले जनाएको छ । 

इरानमा नियन्त्रणबाहिर
इरानमा मंगलबार आठ हजार तीन सय ८० जना संक्रमित भएका छन् । स्थानीय एजेन्सीहरूका अनुसार यहाँ पछिल्लो समय दिनप्रतिदिन संक्रमितहरू बढिरहेका छन् । इरानमा मंगलबार एकैदिन कोरोनाका कारण ९७ व्यक्तिले ज्यान गुमाएका छन् । इरानपछि संक्रमित संख्या बढेको देश इन्डोनेसिया हो । इन्डोनेसियामा मंगलबार पाँच हजार चार सय १४ व्यक्तिमा कोरोना संक्रमण भएको छ भने एक सय ९० जनाले ज्यान गुमाएका छन् ।

इन्डोनेसियाको छिमेकी देश फिलिपिन्समा पनि मंगलबार चार हजार चार सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै ठूला सहरमा लकडाउन घोषणाको तयार गरिरहेको भारतमा मंगलबार पाँच हजार तीन सय ८६ जनामा संक्रमण फेला परेको डब्लुएचओले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै क्षति पु¥याएको देशमध्ये भारत विश्वको तेस्रो स्थानमा छ । भारतमा अहिलेसम्म ११ करोड चार लाख नौ हजार आठ सय ३१ जना संक्रमित भइसकेका छन् । जसमध्ये ११ करोड २७ हजार पाँच सय ४३ जना निको भएका छन् । भारतमा अझै दुई लाख २३ हजार तीन सय ९६ सक्रिय संक्रमित छन् । दक्षिण एसियाली राष्ट्र पाकिस्तानमा मंगलबार दुई हजार पाँच सय ११ र बंगलादेशमा एक हजार सात सय १९ जना संक्रमित भएका छन् । यसैगरी नेपालमा एक सय १४ जना संक्रमित थपिएको डब्लुएचओले जनाएको छ ।

एस्ट्राजेनेका र अक्सफोर्ड भ्याक्सिन रोक्दै युरोप 
एस्ट्राजेनेका र अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गरेको भ्याक्सिनको प्रभावकारिता राम्रो नभएको भन्दै युरोपका केही देशले यी भ्याक्सिनलाई स्थगित गरेका छन् । सोमबार स्पेन र पोर्चुगलले यी दुवै भ्याक्सिन तत्काल प्रयोगमा नल्याउन आग्रह गरेका छन् । स्पेन र पोर्चुगलमा भ्याक्सिन लगाएका व्यक्तिमा ‘ब्लड क्लट’ समस्या देखिएको छ । यसैगरी जर्मनी, फ्रान्स र इटालीले पनि एस्ट्राजेनेका र अक्सफोर्ड भ्याक्सिन अस्थायी रूपमा रोक्ने निर्देशन दिएका छन् । 

फ्रान्सले आफ्ना चिकित्सकहरूको रिपोर्ट नआउँदासम्म एस्ट्राजेनेकामाथि रोक लगाएको छ । यसैगरी डेनमार्क, अस्ट्रिया, बुल्गेरिया, रोमानिया, लिथुनिया, लक्जम्बर्ग, लाट्भिया, नर्वे तथा आइसल्यान्डमा ‘ब्लड क्लट’को गुनोसो आएपछि एस्ट्राजेनेका र अक्सफोर्ड भ्याक्सिन कार्यक्रम रोकिएको बिबिसीले जनाएको छ ।

एस्ट्राजेनेका र अक्सफोर्ड कम्पनीले भने आफ्ना भ्याक्सिन पूर्ण सुरक्षित रहेको दाबी गरेका छन् । अक्सफोर्ड कम्पनीका मेडिकल अफिसर एन टेलेरले युरोपियन युनियन र बेलायतमा अहिलेसम्म एक करोड ७० लाख व्यक्तिले भ्याक्सिन लगाइसकेको बताएका छन् । ती व्यक्तिहरूमा कुनै समस्या नआएको उनको भनाइ छ । 

५ जनवरी ०२१ मा स्कटल्यान्डमा लकडाउन घोषणा भएको थियो । स्कटिस सरकारले जुनको मध्यबाट लकडाउन खुकुलो हुने जनाएको छ । एक वर्षपछि मंगलबार स्कटल्यान्डमा नयाँ संक्रमित संख्या देखिएको छ । 

भारतको नागपुरमा फेरि लकडाउन
भारतको नागुपर सहरमा एक वर्षपछि फेरि लकडाउन गरिएको छ । कोरोना संक्रमण दर अनियन्त्रित भएपछि यहाँ लकडाउन घोषणा गरिएको हो । गत वर्ष २५ मार्चमा यहाँ पहिलोपटक लकडाउन गरिएको थियो । नागपुरमा एक साताका लागि लकडाउन घोषणा भएको स्थानीय समाचार एजेन्सीले जनाएका छन् । लगातार दुई दिन दुई हजारभन्दा बढी संक्रमित देखिएपछि १५ देखि २१ मार्चसम्म लडडाउन जारी भएको हो ।

प्रशासनले मोटरसाइकलमा दुईजना बस्न नपाउने नियम पनि लागू गरेको छ । लकडाउनको समयमा बैंक, हुलाक, औषधि पसल, सरकारी तथा निजी अस्पताल खुला रहनेछन् । यसैगरी विनाजानकारी वा अनुमतिपत्र नलिई अन्य सहरबाट नागपुर प्रवेश गर्ने व्यक्तिमाथि कारबाही हुने प्रशासनले जनाएको छ । 

भारतका चार सहरमा ३१ मार्चसम्म कर्फ्यु
कोरोन नियन्त्रण गर्न भोपाल, इन्दौर, गुजरात तथा अहमदावाद सहरमा रात्रिकालीन कर्फ्यु ३१ मार्चसम्म जारी रहनेछ । मध्यप्रदेशको राजधानी भोपालमा बुधबार रातिदेखि नै कर्फ्यु थप कडाइ हुने प्रशासनले जनाएको छ । रातको १० बजेपछि घरबाट बाहिर ननिस्कन आदेश जारी भएको छ । मध्यप्रदेशमा पछिल्लो चार दिनमा २४ हजार संक्रमित थपिएका छन् । 

–एजेन्सीको सहयोगमा