नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनसिएल)को टोली धनगढी एफसीले विशाल राईलाई ‘मार्की प्लेयर’का रूपमा अनुबन्ध गरेको छ । क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत राष्ट्रिय टोलीका मिडफिल्डर विशाललाई मार्की खेलाडीका रूपमा सार्वजनिक गरेको हो । क्लबले अनुबन्ध रकम भने सार्वजनिक गरेको छैन ।
एनसिएल ११ वैशाखबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगिताका लागि आफ्नो मार्की खेलाडी घोषणा गर्ने धनगढी पहिलो टोली हो । धनगढीका मालिक सुवास शाहीले विशाललाई मार्की खेलाडीका रूपमा भित्र्याउन पाउँदा क्लब परिवार खुसी रहेको जनाए । ‘हामी विशाललाई मार्की खेलाडीका रूपमा स्वागत गर्दछौँ,’ सम्झौतामा हस्ताक्षर गरेपछि सुवासले भने, ‘हामीलाई निकै खुसी लागेको छ ।’
विशालले पनि धनगढीसँगको अनुबन्धमा खुसी व्यक्त गरेका छन् । ‘अन्य टोलीबाट पनि कुरा आएको थियो । यद्यपि, मलाई धनगढीको प्रस्ताव मन पर्यो । उहाँहरूको योजनाबाट प्रभावित भए,’ विशालले भने, ‘धनगढीको व्यवस्थापन फ्रेन्चाइज शैलीमा अनुभवी पनि हो । क्लबसँगको अनुबन्धमा खुसी छु ।’
धनगढीको मालिक सुवास क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता धनगढी प्रिमियर लिग (डिपिएल)को आयोजक पनि हुन् । उनी फुटबलको पहिलो फ्रेन्चाइज लिगमा भने टोली मालिकका रूपमा प्रवेश गरेका छन् । विशालले प्रतियोगितामा विदेशी खेलाडीको प्रभाव महत्वपूर्ण हुने बताए ।
‘पहिलोपटक नेपालमा यस्तो खालको प्रतियोगिता हुँदै छ । मेरा लागि मार्की खेलाडीको यो अनुबन्ध पनि पहिलोपटक हो । त्यसैले फरक अनुभव भइरहेको छ,’ विशालले भने, ‘प्रतियोगिता राम्रो हुने अपेक्षा छ । विशेषगरी प्रायः खेलमा विदेशी खेलाडीको भूमिका निर्णायक हुने देखेको छु ।’
सन् २०१५ मा भारतविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका विशाल त्यसयता टोलीको महत्वपूर्ण सदस्य रहँदै आइरहेका छन् । नेपालले बंगलादेशको बंगबन्धु गोल्डकप र एसियाली फुटबल महासंघ (एएफसी) को सोलिडारिटी कपको उपाधि जित्दा उनले महत्वपूर्ण योगदान दिएका थिए ।
घरेलु फुटबलमा उनले पछिल्लो ए डिभिजन लिग मच्छिन्द्र फुटबल क्लबबाट खेलेका थिए । त्यसअघि उनले मनाङ मस्र्याङ्दी, झापा ११ लगायत टोलीबाट खेलेका छन् । नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको प्रतियोगितामा सहभागी हुने टोली र टोली मालिकको नाम आइतबार सार्वजनिक भइसकेको छ । प्रतियोगितामा विभिन्न सहरको नामबाट सात टोलीले सहभागिता जनाउँदै छन् ।