१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत ३ मंगलबार ०८:४३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दोलखामा भूकम्प प्रभावित २१ स्वास्थ्यचौकी पुनर्निर्माण हुँदै

Read Time : > 1 मिनेट
२०७७ चैत ३ मंगलबार ०८:४३:००

भूकम्पबाट क्षतिग्रस्त भएर पनि लामो समयसम्म पुनर्निर्माण हुन नसकेका दोलखाका २१ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माण गरिने भएको छ । जिल्लाका नौ स्थानीय तहका ७४ वडामध्ये २१ वडामा अझै पनि स्वास्थ्यचौकी भवन पुनर्निर्माण हुन सकेको छैन । 

यसअघि सहरी विकास तथा भवन निर्माण विभाग र अन्य निकायले निर्माण गरेका स्वास्थ्य भवनबाहेक पुनर्निर्माण प्राधिकरण र अन्य दातृ निकायको सहयोगमा दोलखामा थप २१ स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ । प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयले आगामी डेढ वर्षभित्र जिल्लाका सबै स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न हुने जनाएको छ । 

कार्यालयका प्रमुख इन्जिनियर अर्जुन तामाङले भारतीय दूतावासको ८५ प्रतिशत अनुदान सहयोग र नेपाल सरकारको १५ प्रतिशत लगानीमा १७ वटा भवन बन्ने जानकारी दिए । यस्तै, नेपाल सरकारको आफ्नै लगानीमा चारवटा सुविधासम्पन्न स्वास्थ्य संस्था भवन बनाइने उनले बताए । तामाङका अनुसार नेपाल सरकारले निर्माण गर्न लागेको चारवटा स्वास्थ्य भवनको ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । अन्य १७ वटा स्वास्थ्य संस्था भवन निर्माणको प्रक्रिया पनि अघि बढिसकेको छ । प्रमुख इन्जिनियर तामाङले १७ वटा स्वास्थ्य संस्थाका भवन निर्माणका लागि ठेक्का आह्वान भइसकेको जानकारी दिए । 

पुनर्निर्माण हुने स्वास्थ्यचौकी
निर्माण हुन लागेका स्वास्थ्य संस्थामा स्वास्थ्यचौकी बोच, मार्बु, चिलंखा, बिगु, झ्याँकु, लाँकुरीडाँडा, लापिलाङ, लामीडाँडा, आयुर्वेद औषधालय लापिलाङ छन् । यस्तै, भेडपु, भुषाफेदा, ठूलोपातल, श्यामा, मागापौवा, झुले, घ्याङ्सुकाठोकर र ताम्चेत दूधपोखरी स्वास्थ्यचौकी छन् । ती भवन १५ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

ठेक्का सम्झौता भएर निर्माणको काम सुरु भएका चारवटा स्वास्थ्य संस्थामा पवटी, ओराङ, मकैबारी र शैलुंगेश्वर स्वास्थ्यचौकी छन् । निर्माणाधीन तथा अब निर्माण हुने भवनमा १२ वटा कोठासहित आवश्यक सुविधा सहजै प्रवाह गर्न सक्ने संरचना हुनेछन् । भवनमा लेवर रुम, ओपिडी, औषधि वितरण कक्ष, भण्डार कक्ष, मातृशिशु तथा परिवार नियोजन कक्षलगायत हुने कार्यालयका सूचना अधिकारी अनन्त पौडेलले जानकारी दिए । 

केही स्वास्थ्यचौकी अन्तिम चरणमा
प्राधिकरणको भवन कार्यालयका अनुसार यसअघि मालु स्वास्थ्यचौकीको भवन निर्माण भइसकेको छ भने चालू आर्थिक वर्षभित्रै हावा, च्यामा, सुस्पा, चंखु , खारे र फस्कु स्वास्थ्यचौकीको भवन पुनर्निर्माण सक्ने गरी अन्तिम चरणमा पुगेको छ । गौरीशंकर र दोलखा स्वास्थ्यचौकीको भवन निर्माणका लागि पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा प्रस्तावपत्र पठाइसकिएको इन्जिनियर तामाङले जानकारी दिए ।

भारतीय राजदूतावासको सहयोगमा निर्माण हुन लागेका भवनबाहेक अन्य ११ स्वास्थ्य संस्थाका भवन निर्माण प्रतिभवन एक करोड ७५ लाखका दरले झन्डै १८ करोड खर्च हुने कार्यालयको अनुमान छ । थप १७ वटाको भने लागत अनुमान टुंगिएको छैन । जिल्लाका अन्य स्वास्थ्य संस्थाको भवन भने यसअघि नै निर्माण सम्पन्न भइसकेका छन् ।