मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिका गेटाका स्थानीय । तस्बिर : नयाँ पत्रिका
२०७७ चैत २ सोमबार १०:५५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बलात्कारपछि गर्भवती भएकी बालिकालाई घटना मिलाउन प्रलोभन र दबाब

Read Time : > 1 मिनेट
२०७७ चैत २ सोमबार १०:५५:००

आफन्तबाटै बलात्कृत भई गर्भवती भएकी गोदावरी नगरपालिका गेटाकी १३ वर्षीया बालिकालाई मुद्दा फिर्ता लिन पीडक पक्षले दबाब दिन थालेको छ । आर्थिक प्रलोभन दिएर घटना मिलाउन लगातार दबाब दिएपछि बालिकाका आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् । 

उनीहरूले धनगढी–अत्तरिया सडकको गेटाखण्डमा शनिबार बिहान एक घन्टा चक्काजाम गरे । करणीमा परेकी ती बालिका हाल चार महिनाको गर्भवती छिन् । बाजे नाता पर्ने ५५ वर्षीय कल्लु थारूबाट बलात्कृत बालिकाको पेटमा अहिले चार महिनाको बच्चा छ । प्रहरीले मुद्दा चलाएपछि अभियुक्त चौधरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । तर, पीडक पक्षले घटना मिलाउन भन्दै आर्थिक प्रलोभन दिन थालेको बालिकाका आफन्तले बताएका छन् । 

बालिकाका बुबाले घटना मिलाउन पीडक पक्षबाट पटक–पटक आर्थिक प्रलोभन आइरहेको बताए । ‘घटना मिलाइदिनुप¥यो भनेर कहिले १५ लाख, कहिले २० लाख दिन्छु भनिरहेका छन्,’ उनले भने, ‘हामीलाई पैसा चाहिएको छैन, न्याय चाहिएको छ ।’

पैसाको प्रलोभन देखाउने व्यक्तिले अदालतलाई पनि प्रभावित पार्न सक्ने भएकाले दबाब दिन आन्दोलन गर्नुपरेको उनले बताए । शनिबार सडकमा निस्किएका स्थानीय महिलाले बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै नाराबाजी पनि गरे । पैसाको बलमा प्रहरी र अदालतलाई प्रभावमा पारेर ‘अपराधी’ छुट्न नसकोस् भनी न्यायका लागि दबाब दिन आन्दोलनमा उत्रेको उनीहरूको भनाइ छ । 

समयमा महिनावारी नभएपछि आफन्तले बालिकालाई चेकजाँचका लागि गत ९ माघमा स्थानीय गेटा स्वास्थ्य चौकी लगेका थिए । चेकजाँचपछि बालिकाको पेटमा दुई महिनाको बच्चा रहेको पत्ता लागेको थियो । आफन्तका अनुसार बालिकाले सुरुमा कसको बच्चा हो भनेर भन्न मानेकी थिइनन् । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले सम्झाएपछि उनले घटना बताएकी थिइन् ।

‘बलात्कारमा संलग्न व्यक्तिले कसैलाई भनेमा मारिदिने धम्की दिएकाले छोरीले भन्न डराएकी रहिछ,’ उनकी आमाले भनिन्, ‘महिनावारी नभएको दुई महिनाजति भइसकेको थियो, किन भएन भनेर जाँच गर्न स्वास्थ्य चौकी लग्दा पेटमा दुई महिनाको बच्चा रहेको थाहा भयो ।’ 

पेटमा बच्चा छ भन्ने नपत्याएर आफन्तले दोस्रो दिन पुनः जाँचका लागि सेती प्रादेशिक अस्पताल ल्याएका थिए । सेतीमा पनि भिडियो एक्सरे गरेपछि डाक्टरले बच्चा रहेको पुष्टि गरेका थिए । बालिकाको पेटमा बच्चा रहेको खुलेपछि आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालयमा चौधरीविरुद्ध जाहेरी दिए । प्रहरीले अभियुक्तलाई सोही दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

चौधरी पक्राउ परेपछि बालिकाले गत ५ मंसिरमा बिहान घरमा कोही नभएका वेला अश्लील भिडियो देखाएर आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । कसैलाई भने मारिदिने धम्की दिएकाले डराएर आफूले कसैलाई नभनेको बालिकाले बताएकी थिइन् । सहमतिमै भए पनि बालबालिकासँगको शारीरिक सम्बन्धलाई कानुनले जबर्जस्ती करणी मानेको छ । प्रहरीका अनुसार छिमेकमै घर भएका चौधरीले त्यसअघि पनि ती बालिकालाई अश्लील भिडियो देखाउने गरेको खुलेको छ । 

अहिले घरमै बसिरहेकी ती बालिकाको गर्भपतन गराइएको छैन । प्रमाणको अभावमा दोषी उम्कन सक्ने भन्दै आफन्तले बालिकाको गर्भपतन गराउन मानेका छैनन् । ‘न्यायाधीशसँग व्यक्तिगत रूपमा भेट गरेका थियौँ, उहाँले अदालतबाट अनुमति दिन सक्दैनौँ, आफ्नै हिसाबले फाले फाल्नू भन्नुभयो,’ बालिकाका बुबाले भने, ‘पछि डिएनए जाँच खोजेपछि के गर्ने, प्रमाण नष्ट भइसक्छ । त्यसैले बच्चा फालेका छैनौँ ।’