१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत २ सोमबार १०:०४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेट्रोलियम अन्वेषणको अन्तिम सर्वेक्षण सुरु हुने चिनियाँ टोली दैलेख आउँदै

Read Time : > 1 मिनेट
२०७७ चैत २ सोमबार १०:०४:००

दैलेखमा अन्वेषण सुरु गरिएको पेट्रोलियम पदार्थ अन्तिम नतिजाका लागि चिनियाँ विशेषज्ञ टोली पुनः दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभाग काठमाडौंले दिएको जानकारीअनुसार १९ चैतसम्म उक्त टोली दैलेख आइपुग्नेछ । अन्तिम ‘ड्रिलिङ’का लागि सडक यातायातको अवस्था, अन्य पूर्वाधारको तयारीलगायतका विषयमा अनुगमन गर्न टोली आउन थालेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । 

यसअघि चिनियाँ टोलीले पहिलो चरणको काम सम्पन्न गरेको छ । अन्तिम सर्वेक्षणका लागि जमिनमुनि ४ किलोमिटरसम्म ‘ड्रिलिङ’ गर्नुपर्छ । त्यसको सम्भाव्यता अध्ययनका लागि टोली नेपाल आउन थालेको हो । अहिले आएको टोलीले प्रतिवेदन बुझाएपछि अन्तिम अन्वेषणका लागि पुनः अर्को टोली नेपाल आउने विभागले जानकारी दिएको छ । 

अन्तिम ‘ड्रिलिङ’ प्रतिवेदनका आधारमा दैलेख वा नेपालको कुन भूभागमा कति परिमाणमा पेट्रोलियम छ भन्ने टुंगो लाग्नेछ । त्यसपछि व्यावसायिक रूपमा उत्पादनका कामहरू अघि बढ्ने खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ । नेपाल आउने टोलीको भिसा प्रक्रिया सुरु भइसकेको विभागको भनाइ छ । 

पहिलो चरणमा दैलेखका करिब ३३ सय स्थानमा ‘ड्रिलिङ’ कार्य सम्पन्न भइसकेको छ । साइस्मिक सर्भे, जिओलोजिकल सर्भे, म्याग्नेटोटोरियल सर्भेलगायतका कामहरू भइसकेका छन् । पहिलो चरणको काम सकेर ०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । चीन फर्किएसँगै कोरोना महामारी बढेपछि केही समय काम रोकिएको थियो । 

 दैलेख–सुर्खेत सडक तत्काल चौडा गर्नुपर्ने माग
दैलेखमा रहेका पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ’ गर्न ३५ मिटरसम्म लामा फलामे पाइपलगायतका सामानहरू ल्याउनुपर्ने हुन्छ । त्यसका लागि सडक तत्काल चौडा गर्नुपर्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए ।

उनले भने, ‘हामीले केन्द्र सरकार र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समेत यो विषयमा जानकारी गराएका छौँ । सडक साँघुरो भएकाले तत्काल चौडा गर्नुपर्ने अवस्था छ । यदि त्यसो नभए विकल्पका रूपमा मध्यपहाडी राजमार्ग प्रयोग गर्नुपर्ने अवस्था आउँछ, त्यसका लागि मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम छिटो सम्पन्न गर्न पनि मध्यपहाडी आयोजनालाई ताकेता गरेका छौँ ।’ 

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले पनि दैलेखमा ठूला विकासे आयोजनाका लागि सामान ढुवानी गर्न मध्यपहाडी राजमार्ग विकल्पका रूपमा रहेको बताए । दैलेखखण्डको १ सय २५ किलोमिटर सडकको काम तत्काल सक्न निर्माणको जिम्मा लिएका कम्पनीहरूलाई बोलाएर ताकेता गरिसकेको बताए । 

पहिलो चरणको सर्भेको नतिजा सकारात्मक आएका कारण अन्तिम अन्वेषणको काम सुरु गरिएको हो । प्रतिफल राम्रो आउनेमा आशावादी रहेको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले बताए । दैलेखका  भैरवी, दुल्लु, डुंगेश्वर, नारायण, चामुण्डा बिन्द्रासैनी, महाबु गाउँपालिकासँगै जिल्लाका सीमावर्ती क्षेत्रहरू कालिकोट, जाजरकोट, अछाम र सुर्खेतका केही भूभागहरूमा चिनियाँ टोलीले सर्भेका कामहरू सम्पन्न गरिसकेको छ । 

०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार ०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । 

०७६ कात्तिकमा तत्कालीन उद्योगमन्त्री मातृका यादवसहितको टोलीले दैलेखको नाभिस्थानमा आएर पेट्रोलियम अन्वेषणको औपचारिक कामको सुरुवात गरेको थियो । यसअघि तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोलीले ०७२ सालमै अन्वेषणको काम सुरु गरेको घोषणा गरेका थिए । अन्वेषणको सबै रकम चीन सरकारले नै व्यहोरेको छ ।