सिरहास्थित लहान नगरपालिका– ८ स्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विस्फोट हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार घाइतेहरूलाई लहानस्थित सप्तऋषि अस्पताल पठाइएको छ । गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि जिल्लाबाहिर पठाउन हेलिकोप्टर मगाइएको प्रहरीले बताएको छ ।
सेवाग्राहीको घुइँचो रहने कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर कार्यालय रहेको भाडाको घरको पहिलो तलामा विस्फोट भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।
घटनास्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।