मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १ आइतबार ०९:२३:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १ आइतबार ०९:२३:००

केही दिन बिराएर जनकपुर र कर्णालीले साहित्य महोत्सव आयोजना गरे । ‘कर्णालीका कुडा’ नाममा गत वर्षबाट थालिएको सुर्खेतमा आयोजना हुने बहसले कर्णालीका विविध आयामलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरिरहेको छ । यसले बहसका मुख्य चरित्रलाई प्रभावित गर्छ । काठमाडौंमा बसेर काठमाडौंको आँखाले कर्णालीमाथि बहस गर्नु र सुर्खेतमा बसेर कर्णालीका विविध विषयमाथि कर्णालीकै आँखाबाट बहस गरेर त्यसका प्रभावलाई काठमाडौं पठाउनु भिन्न विषय हुन् । यो बहसको सुल्टो बाटो हो । यसले स्थानीयस्तरका वास्तविकतालाई बहसको आधार बनाउन सहयोग गर्छ । यता जनकपुरमा हुने बहसले अवश्य पनि राष्ट्रिय बहसका कार्यसूचीलाई मधेसको आँखाबाट हेर्न, पर्गेल्न र आफ्ना चासोलाई काठमाडौंको बहसमा प्रभावित गर्न, पुर्‍याउन सहयोग गर्छ । यद्यपि बहसमा अझै पनि चासो सिर्जना गराउने र काठमाडौंको सञ्चार माध्यमले प्राथमिकता दिने पात्र र विषय केन्द्रीकृत मानसिकताकै निरन्तरतामा रहेको जस्तो देखिन्छ । 

प्रश्नहरूकै माध्यमबाट निर्माण हुने नयाँ–नयाँ कथ्यबाट पिँधमा परेकाहरूको आवाजलाई घन्काउन सकियो भने देशलाई एकाधिकारवादी चिन्तनबाट बाहिर ल्याउन र लोकतन्त्रलाई जनमुखी बनाउन मद्दत पुग्नेछ ।

यता गैंडाकोटमा फाइन प्रिन्टको आयोजनामा यस्तै बहस भइरहेको छ । यी कार्यक्रममा साहित्य, कला, लैंगिकता, संस्कृति, अर्थतन्त्र, विकासजस्ता विविधि आयामसँग जोडिएर बहसले विचार निर्माणमा रहेको सीमित राजनीतिक नेतृत्वको एकाधिकारलाई तोड्न, विचार निर्माणलाई पनि एकाधिकारको सीमामा कैद गर्न प्रयासरत काठमाडौंकेन्द्रित कथित तप्काभन्दा बाहिरबाट नयाँ पुस्ता र वक्तालाई पहिचान दिन तिनका आवाज मुखरित हुन सहयोग गर्छन् । यसैले यस्ता बहसको महत्वपूर्ण अर्थ हुन्छ । संविधान निर्माणका समयमा संक्रमणकालका पट्यारलाग्दा प्रभावका कारण बहसले अर्थ गुमाउने खतरा उत्पन्न भएको थियो । त्यतिवेला यस्तो लाग्थ्यो कि बहस गर्न जानेहरू सबै समस्या र प्रश्न लिएर गएका छन्, तर उत्तर कसैसँग छैन । त्यस क्रममा लैंगिक विभेदका विपक्षमा बहस भए । जातीय विभेदका विपक्षमा विविधताका पक्षमा बहस भए । पहिचानका अनेक मुद्दामा बहस भए । 

त्यस्ता बहस केवल डबली या कोठाहरूमा सीमिति रहेनन् । चोक–चोक र गल्ली–गल्लीमा भए । त्यतिवेला भएका मधेस आन्दोलन, अखण्ड सुदूरपश्चिम, अखण्ड लुम्बिनीजस्ता आन्दोलन, ब्राह्मण समाज, क्षेत्री समाज, जनजाति र दलित आन्दोलन, महिला आन्दोलन र प्रदर्शनहरू यस्तै बहसका विस्तारित रूप हुन् । सिंहदरबार या पाँचतारे होटेलबाट बाहिर निस्केर सम्हालिन नसकी सडकमा पोखिएका यस्ता बहसले राष्ट्रिय राजनीतिलाई प्रभावित गरे । कार्यसूचीहरू निर्धारण गरे । कति यस्ता बहसले देशलाई र खासगरी संविधानलाई प्रगतिशील बनाउन सहयोग गरे । कति आन्दोलन र बहसले देशलाई एक कदम पछि हटाउन र पहिलेकै वर्चस्वशाली समूहको शक्ति विस्तारमा सहयोग पुर्‍याए । अहिले साहित्य महोत्सवले बहसलाई विचार निर्माणका आधारथलो जस्तो बनाउन थप मद्दत गरेका छन् । 

काकडभिट्टादेखि कैलालीसम्म फैलिएका यी महोत्सव र बहसलाई अझ फराकिलो बनाउन, बहसमा स्थानीय विशेषतालाई मुखरित गर्ने अवसरका रूपमा बदल्न, तलबाट उठेका आवाजले राष्ट्रिय राजनीतिका कार्यसूची बन्न दबाब सिर्जना हुने गरी महोत्सव आयोजकले भूमिका खेल्नु जरुरी छ । भइरहेका सामाजिक, आर्थिक र राजनीतिक अवस्थामाथि प्रश्न उठाउन र यसलाई सकारात्मक दिशातिर बदल्न पहिलो काम नै प्रश्न उठ्ने वातावरण सिर्जना गर्नु हो । प्रश्नहरूकै माध्यमबाट निर्माण हुने नयाँ–नयाँ कथ्यबाट पिँधमा परेकाहरूको आवाजलाई घन्काउन सकियो भने देशलाई एकाधिकारवादी चिन्तनबाट बाहिर ल्याउन र लोकतन्त्रलाई जनमुखी बनाउन मद्दत पुग्नेछ ।