मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १ आइतबार १०:२२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल पुलिस क्लबले जित्यो मेयर कप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १ आइतबार १०:२२:००

विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो विजेता बनेको छ । शनिबार भएको फाइनल खेलमा अर्काे विभागीय टोली एपिएफलाई आठ विकेटले पराजित गर्दै पुलिसले उपाधि निश्चित गरेको हो । 

काठमाडौं मेयर कप नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको नयाँ प्रतियोगिता हो । प्रतियोगितामा गत महिना सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलेका तीन विभागीय र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिकाको टोली सहभागी थियो ।

राउन्ड रोबिन लिगको प्रतिस्पर्धापछि शीर्ष दुई स्थानमा रहेका पुलिस र एपिएफले उपाधिका लागि खेलेका हुन् । यो उपाधि पुलिसका लागि सिजनकै पहिलो हो । कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रभाव केही कम भएपछि सुरु भएको नयाँ सिजनमा लगातार दोस्रो फाइनल खेलेको एपिएफ भने लगातार दोस्रोपटक अभागी ठहरिएको छ । एपिएफ प्रधानमन्त्री कपको फाइनलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको एपिएफले निकै कमजोर प्रदर्शन गर्‍यो । एपिएफको ब्याटिङ दुर्घटनामा परेजस्तै रह्यो । एपिएफ २९.४ ओभरमा एक सय पाँच रनको सामान्य योगफलमै समेटियो । 

एक सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४.१ ओभरमा मात्रै दुई विकेट खर्चिएर सहजै भेट्टायो । पुलिसलाई उपाधि दिलाउन फाइनल खेलमा प्रारम्भिक ब्याट्सम्यान सुनील धमलाले अविजित ५९ रनको योगदान दिए । उनले आफ्नो इनिङमा दुई छक्का र ७ चौका प्रहार गरे । कुशल भुर्तेल र अनिल शाहले समान १५ रन जोड्दा दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे । त्यसअघि पुलिसका गुल्सन झा र सागर ढकालले चार–चार विकेट लिएपछि एपिएफको ब्याटिङ ‘लाइन अप’ चाँडै ढलेको थियो । पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलिरहेका युवा बलर गुल्सनले फाइनल खेलमा पनि आफ्नो प्रभावशाली प्रदर्शन जारी राखे । 

उनले एपिएफका कप्तान शरद भेषवाकर (०) सहित अन्य राम्रा खेलाडीलाई सहजै आउट गराए । उनले खेलको पहिलो ओभरमै एपिएफका प्रारम्भिक ब्याट्सम्यान शंकर राना (४) लाई आउट गराएका थिए । त्यसवेला बोर्डमा एपिएफको पाँच रन मात्रै थियो । निरन्तर विकेट गुमाएपछि एपिएफलाई सय रन कटाउन नै मुस्किल देखिएको थियो ।

एपिएफ कुनै समय ५/४७ को अवस्थामा पुगेको थियो । वसन्त रेग्मीले जोडेको २२ रन नै एपिएफका लागि कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक रन रह्यो । सन्दीप जोरा र अमरसिंह रौटेलाले समान १८ र भुवन कार्कीले १४ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । कप्तान शरदभन्दा अघि प्रारम्भिक ब्याट्सम्यान आसिफ सेख विनाकुनै रन आउट भएका थिए ।

एपिएफविरुद्ध ७ ओभर बलिङ गरेका गुल्सनले ३६ रन खर्चिए । ७.४ ओभर बलिङ गरेका सागरले २८ रन दिए । उनीहरूबाहेक पवन सर्राफ र ललित राजवंशीले थप एक–एक विकेट लिए । एपिएफका अभिनाश बोहोरा र भुवन कार्कीले पुलिसको एक–एक विकेट लिएका थिए ।