१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार १५:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुनियरलाई उपकुलपति बनाउने खेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार १५:२२:००

सरकारले तीनवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिको आवेदन माग गरेको छ । २४ फागुनमा विज्ञापन माग गर्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिमा योग्य व्यक्तिको खोजी गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञा प्रतिष्ठानमा भने जुनियरलाई उपकुलपति बनाउने खेल सुरु भएको छ । प्रतिष्ठानको स्थापना हुँदा प्राध्यापक जान मान्दैनन् भनेर सहप्राध्यापकलाई उपकुलपति बनाउने नियम राखिएको थियो । तर, अहिले चिकित्सा शिक्षामा पठनपाठन गर्न सरकारले कर्णालीमा १३ जना प्राध्यापक पठाएको छ ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वर्षपछि पाँच सिट एमडी÷एमएस सञ्चालन भएको छ । चाँडै एमबिबिएसको सिटसमेत प्रतिष्ठानले पाउने त्यहाँ कार्यरत एक प्राध्यापकले बताए । पठनपाठन सञ्चालन भएको अवस्थामा सहप्राध्यापकलाई उपकुलपति बनाउन नहुने आवाज उठेको छ । ‘कर्णालीको हकमा नियमले सहप्राध्यापक पनि उपकुलपति हुने व्यवस्था छ,’ एक प्राध्यापकले भने, ‘अब पठनपाठन सुरु भएको अवस्थामा उक्त नियमावली परिवर्तन गरी प्राध्यापकलाई उपकुलपति बनाउने व्यवस्था गर्नुपर्छ ।’

हाल निमित्त उपकुलपति सहप्राध्यापकलाई दिइएको छ । सहप्राध्यापकलाई उपकुलपति बनाए हाल कार्यरत अधिकांश प्राध्यापकले राजीनामा गर्ने बताएका छन् । निकै मिहिनेतका साथ कर्णालीमा प्राध्यापक पठाएको सरकारले सहप्राध्यापकलाई उपकुलपति बनाए प्राध्यापकको राजीनामा मात्रै होइन अध्ययन गरिरहेका पाँच विद्यार्थीको भविष्यसमेत अन्योलमा पर्ने देखिएको छ । 

प्राध्यापकहरूले उपकुलपति छनोटमा सिनियर, योग्य र क्षमतावान व्यक्तिको नियुक्ति गरी नौ वर्षपछि पाएको चिकित्सा शिक्षाको अध्ययनलाई बन्द गर्न नहुने बताएका छन् । हाल कर्णालीमा प्राध्यापकका रूपमा प्राडा तरुण पौडेल, प्राडा रेशमबहादुर राना, प्राडा डम्बर खड्का, प्राडा भोलाराम श्रेष्ठ, प्राडा गणेश थापा, प्राडा केशर ढकाल, प्राडा राम उप्रेती, प्राडा विजय अर्याल, प्राडा शेषानन्द संजेल, प्राडा सुदेश कायस्थ, प्राडा सुनु दुलाल, प्राडा दिनेश बास्तोला र प्राडा भरतमणि पोखरेल रहेका छन् ।