मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तेजराज भट्ट
२०७५ फाल्गुण २ बिहीबार ११:४४:००
Read Time : < 1 मिनेट
समाचार

भागेका अभियुक्तमाथि गोली प्रहार: बेलाको जंगलबाट पक्राउ

Read Time : < 1 मिनेट
तेजराज भट्ट
२०७५ फाल्गुण २ बिहीबार ११:४४:००

जिल्ला अदालत कैलालीबाट फरार भएका एक जना अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जबर्जस्ती करणी मुद्दाका लम्की–चुहा नगरपालिका–३, का २३ वर्षीय अभियुक्त दिलिप परियारलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । थुनामा राख्ने म्याद थपका लागि जिल्ला अदालत पु-याइएका परियार मंगलबार दिउँसो अदालत परिसरबाट हत्कडीसहित भागेका थिए । प्रहरीका अनुसार अदालतमा म्याद थपको मिसिल बुझाउने क्रममा उनी फरार भएका हुन् ।

धनगढी उपमहानगरपालिकास्थित बेलाको जंगलमा लुकेर बसेका परियार प्रहरी देखेर भाग्न खोजेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए । फरार भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले  प्रहरी टोली खटाएको थियो । ‘फरार अभियुक्त धनगढीको बेला क्षेत्रमा रहेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो । तर, परियार प्रहरी देखेपछि भाग्न खोजे,’ प्रहरी उपरीक्षक तिम्सिनाले भने, ‘नियन्त्रणमा लिन गोली फायर गरिएको हो ।’ परियारको बायाँ खुट्टाको घुँडामाथि गोली लागेको छ । उनको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अभियुक्त परियारको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

लम्कीकी एक बालिका बलात्कारको अभियोगमा परियारलाई २८ माघमा लम्की प्रहरीले पक्राउ गरेको थियो । बालिका बलात्कारको अभियोगमा २६ माघमा प्रहरीले लम्कीका बालाराम बसिटेललाई पक्राउ गरेको थियो ।प्रहरी उपरीक्षक तिम्सिनाका अनुसार बसिटेलले आफ्नै घरमा बोलाएर स्थानीय बालिकालाई बलात्कार गर्ने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । त्यही मुद्दाको बयानका क्रममा पीडित बालिकाले करिब दुई महिनाअघि पनि आफू बलात्कृत भएको बताएकी थिइन् । ‘पीडित बालिका त्यसअघि पनि बलात्कृत भएको खुलेपछि अनुसन्धान गर्ने क्रममा परियार पक्राउ परेका थिए,’ प्रहरी उपरीक्षक तिम्सिनाले भने ।