मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २६ बुधबार १६:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावलको ठाउँमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि एमालेका दुई समूहबीच झडप

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २६ बुधबार १६:४२:००

कैलालीमा पार्टी कार्यालय प्रयोगको विषयमा नेकपा एमालेकै दुई समूहबीच झडप भएको छ ।

धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको हो । ओली पक्षका नेता–कार्यकर्ताले पार्टीको प्रदेश कार्यालयमा प्रदेश इन्चार्ज भीम रावलको ‘नेम प्लेट’ हटाएर लेखराज भट्ट र अध्यक्ष भानुभक्त जोशीको नेम प्लेट हटाएर कर्ण थापाको नेम प्लेट राखेपछि विवाद भएको हो । बोर्ड हटाउने र राख्ने विवादले दुवै समूहका कार्यकर्ताबीच हात हालाहाल भएको थियो । 

नेकपा हुँदा प्रदेशको पार्टी कार्यालय प्रचण्ड–नेपाल समूहले प्रयोग गर्दै आएको थियो । सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेपाल पक्षकै नेता–कार्यकर्ताले नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड लगाएका थिए । तर, त्यसको केही समयपछि कर्णबहादुर थापाको नेतृत्वमा ओली पक्षका कार्यकर्ताले त्यही बोर्डमाथि एमालेको अर्को बोर्ड झुन्ड्याए ।

ओली पक्षका कार्यकर्ताले कार्यकक्षबाहिर टाँसिएको प्रदेश इन्चार्ज रावलको नामको बोर्ड हटाएर लेखराज भट्टको नामको बोर्ड राखेका थिए । अध्यक्ष जोशीको नामको बोर्ड हटाएर थापाको नाम राखेका थिए । प्रदेश इन्चार्जमा भीम रावलको बोर्ड हटाएर भट्टको बोर्ड लगाएपछि कार्यालयमा प्रवेश गरेका नेपाल पक्षका कार्यकर्ताले भट्टको नामको बोर्ड हटाएपछि झडप भएको हो । नेपाल पक्षका कार्यकर्ताले रावल र ओली पक्षकाले भट्टको पक्षमा नाराबाजी गरेका थिए ।

नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षले प्रदेश इन्चार्ज रावल र अध्यक्षमा जोशीलाई जिम्मेवारी दिएको थियो । रावल त्यसअघि पनि प्रदेश इन्चार्ज थिए । ओलीले भने माओवादीबाट आएका भट्टलाई प्रदेश संयोजक बनाएका थिए । तत्कालीन एमालेको उक्त पार्टी कार्यालय नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षले प्रयोग गर्दै आएको थियो । नेकपा विभाजनका वेला भाडामा रहेको पार्टी कार्यालयको सम्झौता अवधि सकिएपछि रावलले आफ्नै नाममा सम्झौता गरेका थिए ।

ओली पक्षका केन्द्रीय सदस्य सन्तोष शर्माले अदालतले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि बोर्ड लगाउने क्रममा भीम रावलनिकट केही व्यक्तिले अवरोध गर्न खोजेपछि विवाद भएको बताए । ‘पार्टी कार्यालयमा बोर्ड र नेम प्लेट लगाउँदै हाम्रा कार्यकर्ताले केपी ओलीका पक्षमा नाराबाजी गर्दै थिए । त्यहीवेला भीम रावलनिकट मान्छे आएर नेम प्लेट हटाउँदै ओलीको विरोध र रावलको पक्षमा नाराबाजी गरेपछि झडप भएको हो,’ उनले भने । पार्टीले प्रदेश इन्चार्ज भट्टलाई तोकेकाले आफूहरूले कार्यालयमा नेम प्लेट बदल्न खोजेको शर्माले बताए । 

नेपाल पक्षका युवा नेता बाबुराजा श्रेष्ठले पार्टी कार्यालय अराजक तत्वले कब्जा गर्न खोजेपछि आफूहरूले विरोध गरेको बताए । एमाले हुँदा पनि इन्चार्ज भीम रावल नै रहेका र अहिले पुनस्र्थापनापछि पनि पार्टी इन्चार्ज रावल नै भएको श्रेष्ठले बताए । ‘विधि र पद्धतिविपरीत नेम प्लेटहरू फेर्ने र पार्टी कार्यालय नै कब्जा गर्न खोजिएपछि झडपको अवस्था आएको हो,’ उनले भने ।

बिहान ११ बजे प्रदेश पार्टी कार्यालयको बोर्ड फर्ने भन्दै ओली पक्षले पत्रकारलाई खबर गरेको थियो । नेपाल पक्षका कार्यकर्ताले त्यसअघि नै बोर्ड फेरेका थिए । झडपपछि अहिले कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । रावल र थापाबीच विगतदेखि नै तिक्त सम्बन्ध छ ।