मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २६ बुधबार ११:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २६ बुधबार ११:३९:००

किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो  ।  

दिनेशलाई सरकारी वकिल कार्यालयले मंगलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।  थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो । 
  
दिनेशलाई बुधबार डोटीमा रहेको सुधारगृह पठाउने तयारी रहेको गरिएको छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा बीभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । 
    
प्रहरीले घटनाको अनुसन्धानपछि दिनेशलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चारपटक पाँच–पाँच दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । दिनेशले यसअघि नै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन्  । 

सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने  भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन् । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो । भागरथीको भेजाइनल स्वाब र दिनेशको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको भए पनि रिपोर्ट आएको छैन । रासस