मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
२०७७ फाल्गुण २६ बुधबार ०६:५५:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै परीक्षा केन्द्र जाने, एसइईको ‘हार्डकपी’ पठाउने

इन्टरनेट सुविधा भएको ठाउँमा मात्रै कक्षा १२ को परीक्षा केन्द्र राख्ने

Read Time : > 4 मिनेट
२०७७ फाल्गुण २६ बुधबार ०६:५५:००

कक्षा १२ को परीक्षा केन्द्रका लागि यस्ता छन् मापदण्ड

- सुरक्षाका लागि नजिकमा प्रहरी एकाइको व्यवस्था हुनुपर्ने

- परीक्षा सामग्री ढुवानीको सहजताका लागि सडक यातायातको पहुँच भएका विद्यालयलाई प्राथमिकतामा राख्ने

- विद्यालयमा नियमित विद्युत् आपूर्तिको व्यवस्था हुनुको साथै कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिनको सञ्चालन गर्ने क्षमताको न्यूनतम दुई घन्टाको ‘पावर ब्याकअप’को अनिवार्य व्यवस्था भएको हुनुपर्ने

- न्यूनतम एक÷एक थान डेस्कटप वा ल्यापटप कम्प्युटर, लेजर प्रिन्टर र फोटोकपी मेसिनको व्यवस्थापनका साथै उपकरण राम्रोसँग सञ्चालन गर्ने जनशक्ति व्यवस्थापन हुनुपर्ने

- प्रधानाध्यापक र विद्यालयको समेत छुट्टाछुट्टै इमेल आइडी भएको हुनुपर्ने

- पर्याप्त कोठा र डेस्क–बेन्चका साथै तारबार वा पर्खालले घेरिएको सुरक्षित कम्पाउन्डसहितको भवन हुनुपर्ने

- पिउने पानी र शौचालय (महिला र पुरुष)को उचित प्रबन्ध हुनुपर्ने

- परीक्षा सञ्चालनको अवधिमा हेल्थ डेस्कको उचित प्रबन्ध गर्न सक्ने

- यथासम्भव कक्षा १२ सम्म पढाइ हुने विद्यालय÷क्याम्पसलाई प्राथमिकतामा राख्ने

- परीक्षा हलमा सिसिटिभीको व्यवस्थापन भएका विद्यालयहरूलाई प्राथमिकतामा राख्ने

- विद्यार्थी संख्या हिमाली क्षेत्रमा न्यूनतम १००, पहाडी क्षेत्रमा न्यूनतम १५० र तराई तथा सहरी क्षेत्रमा न्यूनतम ३०० र अधिकतम ५०० जनासम्म हुनुपर्ने

- विगत वर्षहरूको परीक्षा सञ्चालनको क्रममा कुनै समस्या नपरेका तथा बोर्डबाट कारबाहीको सूचीमा नपरेका विद्यालयहरूमा परीक्षा केन्द्र सिफारिस गर्ने

                                                       ........  

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ‘हार्डकपी’ प्रश्न नपठाउने भएको छ । इमेल, इन्टरनेटको सुविधा भएको ठाउँमा मात्र कक्षा १२ को परीक्षा केन्द्र राख्ने र अनलाइनबाटै प्रश्नपत्र पठाउने बोर्डले निर्णय गरेको हो । बोर्डले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को भने प्रश्नपत्र छपाइ गरी केन्द्रमा पठाउने निर्णय गरेको छ । 

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षामा प्रविधिको उच्चतम प्रयोग हुने र प्रश्नपत्र आउटसमेत नहुने भएकाले अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय भएको बताए । इन्टरनेट र इमेलको सुविधा भएको ठाउँमा कक्षा १२ को परीक्षा केन्द्र राख्ने गरी सिफारिसका लागि आग्रह गरेको उनले बताए । हिमाली जिल्लाका सदरमुकाममा इन्टरनेटको सुविधा भएकाले अहिले सो क्षेत्रमा समेत अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय भएको छ । ‘हिमाली क्षेत्रमा सबै विद्यालयमा इन्टरनेटको सुविधा नहुन सक्छ, तर सदरमुकाममा सुविधा छ, त्यही केन्द्र कायम हुन्छ,’ उनले भने । प्रश्नपत्र छपाइ नगर्दा करिब तीन करोड रुपैयाँ बचतसमेत हुने विश्लेषण छ ।

अघिल्लो वर्ष कोभिड–१९ को जोखिमका कारण आ–आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरेको थियो । हिमाली र इन्टरनेटको सुविधा नभएको ठाउँमा बोर्डले प्रश्नपत्र छपाइ गरेर पठाएको थियो ।

यस वर्ष भने कक्षा १२ को प्रश्नपत्र नै छपाइ नगर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अघिल्लोपटक अनलाइनबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन कार्य सफल भएकाले अब सबै केन्द्रमा इमेलमार्फत प्रश्न पठाएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए । 

एसइई दिने धेरै विद्यालय र परीक्षा केन्द्र पनि धेरै हुने भएकाले सबै ठाउँमा इमेलबाट प्रश्नपत्र पठाउन सम्भव नहुने भन्दै बोर्डले प्रश्नपत्र छपाइ गर्ने निर्णय गरेको छ । बोर्डअन्तर्गत माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को परीक्षा नियन्त्रण कार्यालयसमेत छुट्टै छ । प्रविधिक रूपमा ढुक्क नभएकाले पनि प्रश्नपत्र छपाइ गरेर पठाउने भएको हो । कक्षा १० सम्मको पढाइ हुने १० हजारभन्दा बढी विद्यालय रहेको बोर्डका अधिकारीको भनाइ छ । परीक्षा दिने विद्यार्थीको संख्या भने यकिन भएको छैन । विद्यार्थीले परीक्षा फाराम भरेको र अहिले इन्ट्रीको काम भइरहेको अध्यक्ष पौडेलले बताए । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल भन्छन् 

शैक्षिक सत्र जेठ मसान्तसम्म लम्बिएकाले त्यहीअनुसार परीक्षा सञ्चालनको निर्णय भएको हो । हिमाली क्षेत्रमा सबै विद्यालयमा इन्टरनेटको सुविधा नहुन सक्छ, तर सदरमुकाममा सुविधा छ, त्यही केन्द्र कायम हुन्छ ।

एसइई १३ जेठ र कक्षा १२ को परीक्षा २६ जेठदेखि
राष्ट्रिय परीक्षा बोर्डले एसइईको १३ र कक्षा १२ को २६ जेठदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले परीक्षाको समय निर्णय गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले शैक्षिक सत्र जेठ मसान्तसम्म लम्बिएकाले त्यहीअनुसार परीक्षा सञ्चालनको निर्णय गरेको बताए । एसइई र कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले १३ जेठमा अनिवार्य अंग्रेजी, १४ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य गणित, १७ गते अनिवार्य विज्ञान, १८ गते अनिवार्य सामाजिक, १९ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २० गते ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय पत्रका विषयका परीक्षा सञ्चालन हुनेछ । प्राविधिकतर्फका विषयको परीक्षा भने २३ जेठसम्म सञ्चालन हुनेछ । त्यसैगरी, कक्षा १२ मा २६ जेठमा अनिवार्य अंग्रेजी विषयबाट परीक्षा सुरु हुने भएको छ । 

मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी अवस्थामा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन् । मंगलबार निरीक्षण भ्रमण गरी मन्त्री श्रेष्ठले केन्द्रका पदाधिकारीलाई निर्वाचनको समय आएकाले मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 

सरकारले निर्वाचन आयोगलाई निर्देशन दिने र आयोगको निर्णयसँगै खुरुखुरु छपाइ थाल्न तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिए । केन्द्रमा मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । निर्वाचन आयोगमा रहेका मेसिन पनि तत्काल ल्याउने व्यवस्था मिलाउनसमेत श्रेष्ठले निर्देशन दिए । यसअघि सरकारले १७ र २७ वैशाखमा निर्वाचन घोषणा गरेसँगै आयोगको टोलीले केन्द्रको भ्रमण गरेको थियो । 

पुस्तक अभावको गुनासो सुन्न नपरोस् : मन्त्री श्रेष्ठ
शिक्षामन्त्री श्रेष्ठले शैक्षिक सत्रको सुरुमै पुस्तक विद्यार्थीको हातमा पुग्ने गरी काम गर्न केन्द्रलाई निर्देशन दिएका छन् । ‘अब पुस्तक अभावको कमेन्ट सुन्न चाहन्नौँ,’ उनले भने, ‘शैक्षिक सत्र सुरु हुँदा विद्यार्थीको हात–हातमा पुस्तक पुस्तक नहुने अवस्था नहोस् ।’ पुस्तक छपाइ गरेर सबैभन्दा पहिले दुर्गममा पु¥याउन आग्रह गरे । विगतमा पुस्तक नपुगेको समाचार मिडियामा दोहोरियर नआउने वातावरण बनाउनुपर्ने उनले बताए । 

अरू कक्षाका पुस्तक छपाइ कार्य भइरहे पनि कक्षा ६ को भने नयाँ पाठ्यक्रम कार्यान्वयन हुने भएकाले अझैसम्म पनि तयारी छैन । मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पिआरसी) तत्काल ल्याएर छपाइ गर्ने व्यवस्था गर्न निर्देशन दिए । कक्षा ६ को पाठ्यक्रम स्वीकृतिमा मन्त्रालयले नै ढिला गरेका कारण समस्या आएको पाठ्यक्रम विकास केन्द्रका अधिकारीको भनाइ छ । केन्द्रले आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ११ सम्म छपाइ गर्नुपर्ने लक्ष्य एक करोड ८४ लाख ४६ हजार नौ सय ८० राखेको छ । तीमध्ये एक करोड ४७ लाख १३ हजार नौ सय ९९ थान छपाइ पूरा गरेको जनाएको छ ।

अर्थ मन्त्रालयका काम जनक शिक्षाबाटै गर्न आग्रह
जनक शिक्षा केन्द्रमा ५० प्रतिशत सेयर अर्थ मन्त्रालयको रहेको र अर्थ मन्त्रालयलगायतका सबै काम जनक शिक्षाबाट गर्न उचित हुने बताए । आन्तरिक राजस्व विभागको स्टिकरलगायतका काम जनक शिक्षाबाट गर्नुपर्ने उनले बताए । केन्द्रका अध्यक्ष एवं सचिव थपलियाले जनक शिक्षाले अर्थ, यातायात, भूमि व्यवस्था तथा सहकारीलगायत सबै सरकारी निकायको गोप्य काम छपाइ गर्नुपर्ने बताए । त्यसका लागि आवश्यक पूर्वाधार विकासमा लाग्ने पनि बताए ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले सुरक्षण मुद्रणालयमा थप मेसिन ल्याएर अघि बढाउने, संस्थालाई ऋणमुक्त गराउने र संस्थाको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउनेलगायतका काम गर्ने लक्ष्य रहेको बताए ।