मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विश्वराज पछल्डङ्ग्या
२०७५ फाल्गुण २ बिहीबार ११:२८:००
Read Time : > 1 मिनेट
प्रदेश

बाढीपीडितको घर बनाउन जापानी विद्यार्थीको श्रमदान 

Read Time : > 1 मिनेट
विश्वराज पछल्डङ्ग्या
२०७५ फाल्गुण २ बिहीबार ११:२८:००

जापानबाट आएका विद्यार्थीले बाँके राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरका बाढीपीडितको घर बनाउन श्रमदान गरेका छन् । क्वान्सी गाकुइन विश्वविद्यालयबाट आएका १५ छात्रा र ११ छात्र गरी २५ स्वयंसेवी विद्यार्थीले बाढीपीडितको घर बनाउन श्रमदान गरेका हुन् ।

जापानी विद्यार्थीले १० दिन लगाएर आठ घरको डिपिसी तयार पारेका छन् । उनीहरूले बालुवा, गिट्टी, इँटा, ढुंगा बोक्ने, सिमेन्ट घोल्ने (मसला) बनाउने, मसला बोक्ने, माटो पटान गर्ने लगायतका काम गरेर घरधनीलाई सहयोग गरेका हुन् । 
विद्यार्थी आफूले दिएको रकमबाट बन्दै गरेका घरको निरीक्षण गर्न नेपाल आएका हुन् । हेबिटाट नेपालका नेपाल बाढी प्रकोपप्रति कार्यक्रम संयोजक साजन महर्जनका अनुसार विद्यार्थीले बाढीपीडितको घर निर्माणमा सहयोग गर्न रकम संकलन गरी पठाएका थिए । 

 जापानी विद्यार्थीबाट धेरै सहयोग : घरधनी
जापानबाट आएका विद्यार्थीले घर बनाउन सहयोग गरेर आफूहरूले धेरै सहयोग पाएको राप्तीसोनारी गाउँपालिका–६, कमैया डाँडाका बाढीपीडित गोपीलाल चौधरीले बताए । उनले स्वयंसेवक विद्यार्थीले आफ्नो घरजस्तै गरी निर्माणमा खटिएको बताए । ‘कत्ति पनि गाह्रोपिरो नमानेर दिनभरि काममा खटेर घर निर्माणमा सहयोग गरी ऋणी बनाएर फर्किंदै छन्,’ उनले भने । 

घर बनाउन जनश्रमदान गरेर स्वयंसेवकले बाढीपीडितको रकम बचत गरिदिएको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर थारूले बताए । उनले रकम नभएर घर बनाउन समस्या भइरहेको वेला जापानी विद्यार्थीले स्वयंसेवकको रूपमा काम गरेर बाढीपीडितको पीडामा मल्हम लगाएको बताए । ‘जनश्रमदानले बाढीपीडितलाई ठूलो राहत मिलेको छ,’ उनले भने । 

राप्तीसोनारी गाउँपालिका–६ का ४० परिवार बाढीपीडितका लागि भूकम्प प्रतिरोधी घर निर्माण भइरहेका छन् । दुई बेड रुम, एक भान्सा र बरन्डा भएको भूकम्पप्रतिरोधी पक्की घर निर्माण भइरहेको वडाध्यक्ष जनक बहादुरले बताए । घर निर्माणमा लाग्ने कुल खर्चको १५ प्रतिशत घरधनीले र अन्य सम्पूर्ण खर्च हेविटाट नेपालले व्यहोरेको छ । राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरमा निर्माण हुने एकसय चार घर दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । घर निर्माणका लागि दुई करोड ३२ लाख विनियोजन भएको वडा अध्यक्ष थारूले बताए । उनले घर निर्माणमा रकम अभाव भए वडा कार्यालयले सहयोग गर्ने बताए । बाढीपीडितको घर बनाउन जनश्रमदान गरिरहेकी जापानी विद्यार्थी हाना इकेदाले बाढीपीडितका लागि घर बनाउन पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताइन् ।