मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दैलेख आठबिस नगरपालिका–३ निमाइलकी सुकु बडुवाल चार छोराछोरीसहित कर्णालीमा बेपत्ता भएपछि किनारमा जम्मा भएका स्थानीय ।
२०७७ फाल्गुण २६ बुधबार ०६:०५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार छोराछोरीसहित आमा कर्णालीमा : चारको शव भेटियो, पाँच वर्षीया छोरी अझै बेपत्ता

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण २६ बुधबार ०६:०५:००

शोकमा दैलेखको निमाइल गाउँ

मदिरा सेवन गरेर श्रीमान्ले यातना दिएपछि दैलेखको आठबिस नगरपालिका– ३ निमाइलकी सुकु बडुवाल आइतबार राति चार सन्तानसहित घरबाट निस्केकी थिइन् । गाउँलेले उनी माइत गएको हुन सक्ने अनुमान गरेका थिए । तर, सोमबार र मंगलबार कर्णाली नदीबाट चारजनाको शव फेला परेको छ । 

सुकु र उनका आठ वर्षीय छोरा ललितको शव मंगलबार दिउँसो फेला परेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले बताए । उनीहरूको शव जालले बेरिए जस्तो कपडाले बेरिएको अवस्थामा भेटिएको छ । त्यस्तै, छोरीहरू १५ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव सोमबार साँझ अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ स्थित कर्णाली नदीमा भेटिएको थियो । जलारीले जाल हाल्ने क्रममा उनीहरूको शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । हात बाँधिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । 

अर्की छोरी पाँच वर्षीया रजनी अझै बेपत्ता छिन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । कर्णाली नदीमा गोताखोर टोलीसमेत परिचालन गरिएको छ । शवको प्रकृति हेर्दा परिवारमा हिंसा वा अन्य पीडा धेरै भएर सामूहिक आत्महत्या गरेको अथवा कसैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सुकुको आर्थिक अवस्था कमजोर रहेको र त्यसमाथि श्रीमान् मानसिंह बडुवालले निरन्तर यातना दिने गरेको स्थानीयले बताएका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्तकुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको छ । ‘घटनाका विषयमा विस्तृत अध्ययन भइरहेको छ,’ डिआइजी पन्तले भने, ‘सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’ सनाखत भएका चारजनाको शव पोस्टमार्टमका लागि अछामको मंगलसेनतर्फ लगिएको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए । 

अनुसन्धानका लागि प्रहरीले मानसिंहलाई नियन्त्रणमा लिएको श्रेष्ठले बताए । ‘स्थानीयका अनुसार श्रीमान् मदिरा सेवन गर्ने र घरमा विवाद हुने कुरा आएको छ,’ उनले भने, ‘त्यसै कारणले यो घटना हुन गयो वा अन्य कुनै कारणले हो, त्यसैको अनुसन्धान गर्न नियन्त्रणमा लिएका हौँ,’ उनले भने । 

दैलेख आठबिस नगरपालिका उपप्रमुख दीपा बोहराले घरेलु हिंसाका कारण घटना भएको बताइन् । ‘आइतबार पनि श्रीमान्ले श्रीमतीसहित छोराछोरीलाई कुटपिट गरेको पाइएको छ,’ उनले भनिन्, ‘सधैँ मदिरा पिएर श्रीमान्ले कुटपिट गर्ने गरेका थिए ।’

आइतबार पनि सुकुको मदिरा सेवन गरेका श्रीमान्सँग झगडा भएको आफन्तहरूले बताएका छन् । श्रीमान्ले दिउँसो बजारमा मदिरा सेवन गरेको थाहा पाएपछि सुकु उनलाई लिन बजारमै पुगेको वडाध्यक्ष प्रयाग शाहीले बताए । ‘मानसिंहले मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि सुकुले उनलाई  घरमा लिएर गएकी थिइन्,’ उनले भने, ‘घरमा गएपछि के विवाद भयो थाहा भएन । तर, सुकुले लिएको अप्रिय निर्णयका कारणले गाउँ नै शोकमा डुबेको छ ।’

नागरिक समाजका अगुवाले घटना रहस्यमय भएकाले सूक्ष्म अनुसन्धान हुनुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसन दैलेखका पूर्वअध्यक्ष यामराज थापाले घटनाको गम्भीर छानबिन हुनुपर्ने बताए । ‘एउटी आमाले आफ्नो मुटुका टुक्रालाई आफूसँगै बाँधेर आत्महत्या गरौँ भनेर कल्पना गर्न पनि सक्दिनन् । उनलाई साँच्चै के पिर प¥यो र यस्तो अवस्थामा पुगिन् ? घटना रहस्यमय भएकाले गहिरो अनुसन्धान गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो समाज अहिले पनि कुन अवस्थामा छ, हाम्रा जनप्रतिनिधिले जनताको वास्तविक समस्या बुझ्न सके कि सकेनन् ? यो विषय खोजी गर्नुपर्छ ।

कांग्रेस नेतृ निर्मला खड्काले पनि सत्यतथ्य पत्ता लगाउनुपर्ने बताइन् । ‘साँच्चै श्रीमान्ले दिएको दुःखकै कारण यस्तो घटना हो वा अन्य कसैबाट यस्तो घटना गरिएको हो, सूक्ष्म अनुसन्धान गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘समाजमा पुरुषको नाममा रहेका यस्ता कुपात्रलाई फाँसी दिने कानुन बन्नुपर्दछ ।’

कर्णाली प्रदेशमा झुन्डिएर तीनजनाले गरे आत्महत्या
जुम्लामा एक र सुर्खेतमा दुईजनाले पनि झुन्डिएर आत्महत्या गरेका छन् । जुम्लाको गुठीचौर गाउँपालिका– ३ गज्र्याङकोटका ३३ वर्षीय दत्त दमाईंले आफ्नै घरको भान्साकोठामा मंगलबार बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै, सुर्खेत भेरीगंगा नगरपालिका– ५ हात्तीखालका ३७ वर्षीय छविलाल पुनले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन् । वीरेन्द्रनगर नगरपालिका– १० नयाँ गाउँका ४० वर्षीय जगतबहादुर चौधरी काँक्रेबिहारको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।