मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक दाहाल 
२०७५ फाल्गुण २ बिहीबार १०:२६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

गन्तव्य प्रवर्द्धन र संस्कृति संरक्षणको माध्यम ‘होमस्टे’ 

Read Time : > 4 मिनेट
दीपक दाहाल 
२०७५ फाल्गुण २ बिहीबार १०:२६:००

गाउँ पर्यटन प्रवर्द्धन  मञ्च (भिटोफ) नेपालका प्रथम उपाध्यक्ष दीपक दाहाल करिब दुई दशकदेखि पर्यटन व्यवसायमा आबद्ध छन् । भिटोफसहित सोसाइटी अफ ट्राभल एन्ड टूर अपरेटर्स (सोट्टो) नेपालमा समेत आबद्ध भई काम गरेका दाहाल भिटोफले प्रवर्द्धन  गरेका अधिकांश ग्रामीण गन्तव्यमा पुगेका छन् । होमस्टेको सेवालाई नजिकबाट नियालिरहेका लाइभ नेपाल टुर्स एन्ड ट्राभल्स प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका दाहालले गन्तव्य प्रवर्द्धन  र संस्कृति संरक्षणमा होमस्टेको भूमिकालाई यसरी बताए:

नवीन गन्तव्य विकास 
अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको नेपाल अहिले पर्यटकीय मुलुकका रूपमा स्थापित हुने क्रममा छ । हरेक गाउँहरू पर्यटक आकर्षित गर्न लायक र सक्षम छन् । झन्डै ८० प्रतिशत मानिस ग्रामीण भेगमा बसोवास गर्छन् । त्यसो त नेपालमा आफैँमा विश्वभर स्थापित गन्तव्यसमेत छन् । जसले अन्तर्राष्ट्रिय बजारमा लामो समयदेखि नेपाललाई चिनाइरहेका छन् । लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, चितवन, पोखरा ठमेलजस्ता प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।

नेपालमा पर्याप्त सम्भावना भए पनि सीमित पर्यटकीय उत्पादन मात्र पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । पछिल्लो समय ग्रामीण भेगका मानिसकै उत्साहजनक सहभागितामा होमस्टे अभियान सुरु भएको छ । ग्रामीण भेगमा लुकेर रहेका पर्यटकीय सम्पदा, संस्कृति र वस्तु प्रवद्र्धन गरी नयाँ–नयाँ गन्तव्य विकास गर्न होमस्टे उपयोगी माध्यम बनेको छ । 

प्रकृति र गाउँले जनजीवनको अनुभूति 
बढ्दो सहरीकरणका कारण हामीले बिस्तारै गाउँ भुल्न थालेका छौँ । हाम्रोमा त भर्खरै सहरीकरण सुरु भएको हो । अझ विदेशी नागरिक त गाउँमा बस्न पाउँदा आफूलाई निकै भाग्यशाली सम्झन्छन् । किनकि यस्तो अवसर उनीहरूको जीवनमा निकै कम मात्र प्राप्त हुन्छ । त्यसमाथि नेपाल प्राकृतिक सम्पदाले धनी देश हो । यहाँ केही मिनेटको फरकमा नयाँ भौगोलिक अवस्थिति, हावापानी र ग्रामीण भेगको जनजीवन देख्न पाइन्छ ।

ग्रामीण भेगका बासिन्दा हाँसेर बोल्छन् र पाहुनालाई भगवान्को रूपमा स्वागत, सत्कार गर्छन् । त्यसो त ‘अतिथि देवो भवः’को सारलाई नेपालीले पहिलेबाटै आत्मसात् गर्दै आएका छन् । नेपालीमा शान्त वातावरण, प्रदूषणरहित स्थानको घुमघामको अवसर मिल्छ । होमस्टेमा घरपरिवारसँग बसेर खाना खानु, भलाकुसारी गर्नु, ग्रामीण जनजीविकालाई नजिकबाट नियाल्दै त्यसको प्रत्यक्ष अनुभूति आफूले गर्न पाउनु यस प्रडक्टको विशेषता हो । 

विगत सम्झने अवसर 
नेपालमा सामूहिक परिवारको अवधारणा अझै कायम छ । परिवारका सदस्य एकै भान्सामा खानु, मिलेर बस्नु, साँझ नाचगान गरी दिनभरको थकाई मेटाउनु नेपाली मौलिक संस्कृति र परम्परा हो । होमस्टेले यही मौलिक तथा परम्परागत संस्कृतिलाई अँगालेको छ । गाउँले जनीवनलाई पर्यटकले देख्ने मात्र होइन, अनुभव नै गर्ने अवसर पाउँछन् ।

नेपालका अधिकांश मानिससँग ग्रामीण जनजीवनको अनुभव छ । बसाइँ–सराइँका माध्यमबाट विस्थापित भए पनि विगतमा ग्रामीण जनजीवनमा रमाएको झझल्को मनको कुनामा पक्कै पनि लुकेर बसेको हुन्छ । त्यसैले त होमस्टेमा विदेशी मात्र नभएर आन्तरिक पर्यटकसमेत आकर्षित हुने गरेका छन् । अझ पछिल्लो समय युवा जमात यसतर्फ आकर्षित देखिन्छ । पर्यटन र यसका माध्यमबाट आर्थिक विकास गर्ने सन्दर्भका निकै सकारात्मक संकेत हो ।
 
आम्दानीको माध्यम 
नेपालमा बसेर के हुन्छ ? कमाइ गर्ने माध्यम खई भनेर प्रश्न उठ्ने गर्छ । तर, होमस्टे चलाएका परिवारले कमाई नेपालमै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । होमस्टे आफैँमा व्यवसाय हो । पाहुनाले अब सित्तैमा खाँदैन । आफ्नै भान्सामा राखेर खुवाएको पाहुनाले पनि पैसा तिरेर जान्छ । कम आयस्रोत भएका गाउँलेलाई प्रत्यक्ष स्वरोजगारको माध्यम अहिले होमस्टे बन्दै गएको छ ।

होमस्टेमा स्थानीय स्तरमा उत्पादन भएका वस्तुको खपत हुन्छ । त्यसकारण स्थानीय उत्पादनले पनि बजार पाउन थाल्छ । यसबाट एकातर्फ होमस्टे सञ्चालकले लाभ प्राप्त गर्छ भने अर्कोतर्फ तरकारी, पशुपालन, स्थानीय मौलिक वस्तु उत्पादन गर्ने व्यक्तिले पनि त्यसको लाभ पाइरहेको हुन्छ । त्यसकारण होमस्टे ग्रामीण भेगमा आम्दानीको एक महत्वपूर्ण माध्यम पनि हो । 

अध्ययन अनुसन्धानकर्तालाई सहज 
जब ग्रामीण भेगसम्म पर्यटकको पहुँच बढ्न थाल्छ, तब लुकेर रहेका अन्य सम्पदाको खोजी पनि बढ्न थाल्छ । पर्यटकको उद्देश्य बिदा मनाउनु या मनोरञ्जन मात्र गर्नु नभएर स्वास्थ्य, वातावरण, मौलिक संस्कृति, जडीबुटीजस्ता क्षेत्रमा अध्ययन गर्नु पनि हुन सक्छ । ग्रामीण भेगमै बसेर अध्ययन अनुसन्धान गर्न चाहने विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि होमस्टेको बसाइ फलदायी हुन सक्छ ।

ग्रामीण भेगका जनताले जीविकोपार्जनमा अपनाएका धेरै उपायकै आधारमा अहिलेका अत्याधुनिक मेसिनहरू बनेका हुन् । तर, अहिले ग्रामीण भेगबाट त्यस्ता मौलिक उत्पादन लोप हुन थालेका छन् । पछिल्लो समय कृषक समूह, स्कुल/कलेजबाट विद्यार्थीलाई सामूहिक रूपमा शैक्षिक भ्रमणमा लैजाँदा होमस्टेमा राख्ने प्रचलन छ । यसले हुर्कंदै गरेका भावी पुस्ताले पनि गाउँले जनजीवनलाई अनुभूति गर्ने मौका पाउँछन् । यो सकारात्मक पक्ष हो ।
 
मौलिकता संरक्षण 

नेपाल बहुजाति, धर्म, भाषाले सुसज्जित देश हो । सयौँ जातिका अलग–अलग खाना, भाषा, लत्ताकपडा र रहन–सहनका तौरतरिका छन् । वर्षभर कुनै न कुनै चाडपर्व परिरहेका हुन्छन् । जात्रा, भोज, नाचगान निरन्तर चलिरहन्छ । तर, सहरीकरण तथा विदेशी संस्कृतिको प्रभावसँगै मौलिकता हराउन थालेको छ । मौलिक बाजा, लत्ताकपडा, खाना लोप हुन थालेका छन् । यो चिन्ताजनक अवस्था हो । तर, जब होमस्टे कार्यक्रम सुरु भयो, ती गाउँमा अब युवा जुर्मुराएका छन् । ती स्थानमा थन्क्याएर राखिएका बाजा फेरि बज्न थालेका छन् । मौलिक नाचगानमा युवापुस्ता आकर्षित भइरहेको छ । पाहुनाको स्वागत सत्कारदेखि उनीहरूको मनोरञ्जनमा मौलिक नाचगान र बाजा प्रयोगमा आउनु निकै सकारात्मक पक्ष हो ।

ग्रामीण भेगमा लुकेर रहेका मौलिकतालाई बाहिर ल्याउन पनि होमस्टेले निकै ठूलो भूमिका खेल्छ । किनकि अहिले सामाजिक सञ्जालको जमानामा पन्चेबाजा, भजन, सोरठी, रोधींका भाका तथा नाचलाई पर्यटकले आफ्नो मोबाइल तथा क्यामरामा कैद गरी तत्काल पोस्ट गर्ने प्रचलन व्यापक छ । यसले गन्तव्य प्रवर्द्धन मात्र नभई हाम्रो मौलिकतालाई विश्वभर फैलाउनसमेत महत्वपूर्ण योगदान गरेको छ ।
  
उद्यमशीलता विकास 
होमस्टे कार्यक्रमले मानिसको जीवनस्तर माथि उकास्न सहयोगी बनेको छ । नेपालका अधिकांश समुदाय जागिरे मानसिकताबाट आएका छन् । त्यसकारण मानिस उद्यमशीलताका अवसर खोजीभन्दा जागिर खानतर्फ आकर्षित हुन्छन् । होमस्टेले व्यक्तिहरूलाई उद्यमी बनाउन भूमिका खेल्छ । होमस्टे आतिथ्य सेवाको एउटा पाटो हो । जहाँ ठूला होटेल बनाउन सम्भव छैन, ठूलो लगानी गर्ने पैसा पनि छैन, तर पर्यटक आउने सम्भावना छ भने त्यहाँ होमस्टे फस्टाउँछ । त्यसकारण आफ्नो घरका केही कोठा पाहुनाका लागि छुट्याएर आफूले जे खायो, त्यही पाहुनालाई खुवाएर गरिने आतिथ्य सेवाले थोरै लगानीबाट उद्यमी बनाउन सहयोग गर्छ । होमस्टेमा सिकेको सीप र लगानी पछि ठूलो होटेल र रेस्टुराँमा विस्तार गर्न सकिन्छ ।
 
लोपोन्मुख गतिविधि नै पर्यटक तान्ने माध्यम 
नुवाकोटको गोरु जुधाउने मेला अब पर्यटन क्यालेन्डरको महत्वपूर्ण पर्व बनिसक्यो । गाउँ पर्यटन प्रवर्द्धन मञ्चले हरेक असार १५ मा रोपाइँ जात्रा मनाउने गर्छ । यस जात्रामा विदेशी पर्यटकको समेत उत्साहजनक सहभागिता रहन्छ । डोको बुन्ने, कफी/चिया उत्पादन गर्ने, ढाकाका पहिरन उत्पादन गर्ने मौलिक सीप अब लोप हुने अवस्थामा छन् । तर, यी गतिविधि नै अर्कोतर्फ पर्यटक तान्ने माध्यम बन्न सक्छन् । त्यति मात्र नभई आयआर्जन गर्ने माध्यम पनि बन्न सक्छ । एक स्थानका पर्यटकले अर्को स्थानमा अन्नबाली उब्जाउने, पकाउने, खाने, परम्पराबारे जान्न उत्सुक देखिन्छन् । यसलाई पर्यटकीय प्याकेजका रूपमा बेच्न सक्दा पनि त्यसले पर्यटनमा योगदान गरिरहको हुन्छ ।
 
आसपासका पर्यटकीय स्थलको प्रचार 
खानपान र नाचगानका आधारमा मात्र होमस्टे नफस्टाउन सक्छ । त्यसका लागि आसपासमा रहेका पर्यटकीय सम्पदाको पनि सँगै विकास, संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । भिटोफले हरेक वर्ष नयाँ–नयाँ गाउँलाई पर्यटकीय गाउँका रूपमा प्रवर्द्धन गर्छ । त्यसको उद्देश्य त्यहाँसम्म पर्यटक पुग्ने वातावरण बनोस् भन्ने पनि हो । त्यसकारण जहाँ होमस्टे खोलिएको छ, त्यहाँ पुगेपछि पर्यटक केही दिन अडिने वातावरणको खोजी हुन्छ । स्थानीय मठमन्दिर, प्राकृतिक तथा ऐतिहासिक सम्पदा, मानव निर्मित सम्पदा पनि पर्यटक आकर्षित गर्ने माध्यम बन्न सक्छन् ।