मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शान्ति तामाङ काठमाडौं
तस्बिर : संजित परियार/नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०२:३१:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२२ वर्षपछि सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

चैत दोस्रो साताबाट काठमाडौंमा पानी वितरण गर्ने सरकारको तयारी

Read Time : > 4 मिनेट
शान्ति तामाङ, काठमाडौं
तस्बिर : संजित परियार/नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०२:३१:००

२२ वर्षपछि मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुगेको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ सुन्दरीजल पुगेर फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको थियो । चैत दोस्रो साताबाट काठमाडौंका धारामा पानी वितरण गर्ने सरकारको योजना छ । 

गत १० फागुनमा २६ किलोमिटर मेलम्चीको सुरुङमा पानी खसाइएको थियो । १३ दिनपछि पानी सुन्दरीजलमा खसेको हो । शनिबार खसाइएको पानी बागमती नदीमा छाडिएको छ । 

‘हामीले युगान्तकारी सफलता प्राप्त गरेका छौँ । लामो समयदेखिको प्रतीक्षा पूरा भएको छ । केही दिनभित्रै तपाईंको धारामा पानी वितरण हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मेलम्चीको खानेपानी २६ फागुनमा अलि राम्रोसँग बागमतीमा झर्नेछ, २७ गतेको शिवरात्रिमा सफा पानीले नुहाउन पाइयोस् । दोस्रो फेजको यांग्री र लार्केबाट फेरि पानी थपेर ल्याउँदै छौँ । त्यसले काठमाडौंलाई पुग्ने गरी खानेपानी वितरण गर्छ ।’

मेलम्चीबाट छाडिएको पानी सुन्दरीजलमा खसेको हेर्न सरकारको जम्बो टोली सुन्दरीजल पुगेको थियो । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, खानेपानीमन्त्री मणिचन्द्र थापा, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र सांसदहरू सुन्दरीजल पुगेका थिए ।

गत १० फागुनमा दोस्रोपटक मेलम्चीको पानी सुरुङमा छाडिएको थियो । परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड दुई सय ६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिएको थियो । ‘आजको यो सुवर्ण अवसरमा काठमाडौंवासी मात्र नभएर सिंगो देश हर्षित भएको छ,’ खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले भने, ‘सुरुङ परीक्षणको अन्तिम चरणमा हामी निश्चित भएर भन्न सक्छौँ कि अबको केही दिनमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउनुहुनेछ ।’ 

उनले गत ३० असारमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको गेट नम्बर १७ मा दुर्घटना भएपछि आयोजनाका गेटहरूको डिजाइन पुनरावलोकनपछि सुधार गरेर सुन्दरीजलमा पानी खसाल्न सकिएको बताए ।

सुन्दरीजलमा अब दैनिक १७ करोड लिटर पानी आउनेछ । सुन्दरीजलमा निर्माण सम्पन्न साढे ८ करोड लिटर क्षमताका दुई पानी प्रशोधन केन्द्र (रिजर्भवायर)बाट पानी प्रशोधन गरी वितरण गरिने मन्त्रालयले जनाएको छ । 

विश्व स्वास्थ्य संगठन एवं नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसारको पानी वितरण प्रणालीमा प्रवाह गर्ने योजना छ । सुन्दरीजलमा पानी भएसँगै काठमाडौं उपत्यकामा वितरणका लागि थोक वितरण प्रणाली, वितरण सञ्जाल सुधार, नौवटा विभिन्न पानीपोखरीको निर्माण सम्पन्न भई थप एक पोखरी निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ । यसबाट प्राप्त हुने पानी वितरण सञ्जालअन्तर्गत ११ सय २५ किलोमिटरमध्ये ११ सय किलोमिटर निर्माण सम्पन्न भएको छ । दुई सय किलोमिटर परीक्षणसमेत सम्पन्न भइसकेको छ । मेलम्चीको पानी आएसँगै पूर्ण क्षमतामा आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)अन्तर्गत निर्माण भएका थोक वितरण प्रणाली, पानीपोखरी तथा वितरण सञ्जालको परीक्षण हुने भएकाले हालसम्म ट्यांकरबाट र बागमतीको पानी प्रयोग गरी परीक्षण भइरहेको छ । 

८० हजार घरधुरीमा धारा जडान सम्पन्न

पहिलो चरणअन्तर्गत उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सेवा उपलब्ध गराइरहेकोमध्ये एक लाख १० हजार घरधुरीमा नयाँ प्रणालीमार्फत पानी आपूर्ति गर्ने योजना रहेको आयोजनाले जनाएको छ । जसका लागि हालसम्म ८० हजार घरधुरीमा धारा जडान भएको छ । जसमध्ये १५ हजार धाराहरूको परीक्षण भई पानी आपूर्ति गर्न सकिने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मेलम्चीको पानी आपूर्तिका लागि केयुकेएलको ६ वटा पानीपोखरी महाँकालचौर, बाँसबारी, पानीपोखरी, बालाजु, अनामनगर र मीनभवनसँग जोडिने तथा ललितपुरको खुमलटारको नयाँ पानीपोखरीबाट विभिन्न तीन ठाउँमा सञ्जाल एकीकृत गरी पानी वितरणको अन्तरिम व्यवस्थापन मिलाइएको छ ।

सुरुङको परीक्षणकाल एक महिना पनि नहुनेमन्त्रालयका अनुसार मेलम्चीको पानी चैत दोस्र्रो सातबाट काठमाडौंमा वितरण गरिनेछ । खानेपानीमन्त्री मणिचन्द्र थापाले चैतको दोस्रो साताभित्र मेलम्चीको पानी काठमाडौंवासीका धाराधारामा पु¥याइने जानकारी दिए । सरकारले यसअघि मेलम्चीको सुरुङ परीक्षण दुई महिनासम्म गरिने घोषणा गरेको थियो । चैत दोस्रो साता पानी वितरण गर्ने सरकारको तयारीसँगै अब तीन साता पनि सुरुङको परीक्षणकाल नहुने भएको छ ।

मेलम्चीको हेडवक्र्स कार्य निर्माण अन्तिम चरणमा पुगेको छ । हाललाई हेडवक्र्स स्थलभन्दा एक सय मिटरमाथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ । अस्थायी व्यवस्थाअन्तर्गत पूर्ण रूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ । त्यसले उपत्यकाको खानेपानी समस्या निवारणमा महत्वपूर्ण सहयोग हुने मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग भए पनि हाललाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर पानी मात्रै वितरण गर्दै आएको छ । पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाव क्षेत्रहरूसँगै बागमती नदीमा कुनै पनि वेला पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका खोलानाला र नदीकिनारमा जानुपर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आयोजनाले आग्रह गरेको छ । पहिलो चरणको यो परीक्षण सफल भएसँगै यांग्र्री र लार्केबाट पनि पानी ल्याउने काम सुरु गरिने मन्त्रालयले जनाएको छ । यांग्री र लार्केबाट पानी ल्याउन डिपिआर तयारी भइसकेको आयोजनाले जनाएको छ । मेलम्चीसँगै यांग्री र लार्केबाट पनि पानी ल्याउन सकिएमा उपत्यकामा ५१ करोड लिटर पानी आउनेछ । 

०५५ मा गठन भएको थियो मेलम्ची खानेपानी विकास समिति

०५५ मा मेलम्ची विकास खानेपानी विकास समिति गठन गरेर सिन्धुपाल्चोकबाट काठमाडौंसम्म पानी ल्याउन आयोजना अगाडि बढाइएको थियो । ०५७ मा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि प्रारम्भिक चरणको कार्य सम्पन्न गरी ०५८ मा एसियाली विकास बैंकले एक सय २० मिलियन अमेरिकी डलरबराबरको ऋण सम्झौता स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो । आयोजना सञ्चालन तथा सम्पन्न गर्ने उद्देश्यले ०५९ मा आयोजनाको विस्तृत अध्ययन तथा डिजाइन गरी प्रारम्भिक लागत अनुमान भएको थियो । हाल चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम गरिरहेको छ । इटालियन कम्पनी सिएमसीले ठेक्का तोडेर हिँडेपछि सिनो हाइड्रोले ठेक्का पाएको हो ।

प्रधानमन्त्री ओलीले भने– युगान्तकारी सफलता प्राप्त गर्यौंँ

मेलम्चीको पानी काठमाडौंमा झार्ने लामो समयको सपना आज पूरा भएको छ । मेलम्चीको पानी हामीले सुन्दरीजलमा झारेर बागमती नदीमा खसालेका छौँ । यो अत्यन्तै खुसीको दिन हो । लड्डु त यस्तो वेला खाने हो । जुन पायो त्यही दिन लड्डु खाएर हुन्छ ? हामीले युगान्तकारी सफलता प्राप्त गरेका छौँ । यस सफलताको सन्दर्भमा काठमाडौंवासीलाई बधाई र शुभकामना भन्न चाहन्छौँ । तपाईंहरूको चिरपरिचित इच्छा लामो समयसम्मको प्रतीक्षा अब पूरा भएका छन् । केही दिनभित्रै तपाईंको धारामा पानी वितरण हुनेछ । यो नेपालको इतिहासमा ठूलो जनसंख्यालाई पानी खुवाउने युग प्रारम्भ भएको दिन हो । 

कोसी ब्यारेज हुँदै बग्ने पानी अब बागमती हुँदै हुँदै बग्ने भयो । प्रदेश १ तिर जाने पानी अब बागमती हुँदै प्रदेश २ जाने भएको छ । यस अवसरमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकवासीलाई उदारतापूर्वक काठमाडौंवासीलाई पानी दिनुभएकोमा धन्यवाद भन्न चाहन्छौँ । डाँडापारिको अर्कै खोलाको अर्कै प्रदेशमा जाने पानी सुरुङ छिचोलेर काठमाडौं आइपुगेको छ । नेपालमा पहिलोपल्ट प्रयोग गरिएको प्रविधि सफल भएको छ । वर्तमान सरकारको पालामा यो ठूलो उपलब्धि हासिल भएको छ । यसबीचमा भएको दुर्घटना अबउप्रान्त हुन नदिन सावधानीका सबै व्यवस्था गरिनेछ । कुनै प्रकारका क्षति नहोस् भनेर राम्रो परीक्षण गरेर, पाइपहरूको परीक्षण गरेर मात्र पानी सप्लाई गर्न अनुरोध गर्छु ता कि कुनै पनि दुर्घटना नहोस् । हामीले बटन थिचेर मेलम्चीको पानी सुन्दरीजलमा झारेपछि काठमाडौंवासीका लागि प्रत्याभूति भयो । अब पानीलाई प्रशोधित गरेर वितरणमा लानेछौँ ।