मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
किरण दहाल काठमाडाैं
२०७७ फाल्गुण २२ शनिबार ०६:०८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीले राजीनामा  नगरे अविश्वास प्रस्ताव

Read Time : > 2 मिनेट
किरण दहाल, काठमाडाैं
२०७७ फाल्गुण २२ शनिबार ०६:०८:००

नेकपाको प्रचण्ड–नेपाल समूहले राजीनामा नगरे प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने घोषणा गरेको छ । संसद् बैठकको पूर्वसन्ध्यामा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले शीर्ष नेतृत्वलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने म्यान्डेट दिएको छ । 

सो समूहका अध्यक्ष एवं शुक्रबार नै संसदीय दलको नेता चयन भएका पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनभित्र नयाँ समीकरणबारे टुंगो लाग्ने र त्यतिन्जेल प्रधानमन्त्री ओलीको राजीनामा नआए अविश्वासको प्रस्ताव अगाडि बढ्ने बताए । ओलीले अविश्वासको प्रस्तावको बाटोमा जान आफूहरूलाई बाध्य बनाएको प्रचण्डको भनाइ थियो ।

‘आउने दिन सहज बनाउन संसद् पुनस्र्थापना भइसकेपछि र आज संसदीय दलको बहुमतले मलाई दल नेता निर्वाचित गरिसकेपछि प्रधानमन्त्री ओलीले अविलम्ब राजीनामा दिनु उहाँको र देशका लागि पनि सहज हुन्छ,’ प्रचण्डले भने, ‘उहाँले दिनुभएन भने हामी संविधान, कानुन, नियम, प्रक्रियाअनुसार संसद्बाट नै समाधान खोज्छौँ । अविश्वासको प्रस्तावको बाटोबाटै जान उहाँले बाध्य पार्नुभएको छ, हामी त्यही बाटो जान्छौँ ।’

तर, नेता देव गुरुङले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे निर्णय भइनसकेको बताए । ‘कुनै पनि हालतमा उहाँले राजीनामा दिनुभएन भने विकल्पको बाटो अविश्वासको प्रस्ताव हुन सक्छ । तर, पहिलो आग्रह राजीनामाकै माग हो,’ गुरुङले भने । गुरुङका अनुसार सत्तासमीकरणलाई लिएर विभिन्न तहमा छलफल भए पनि ठोस निर्णय हुन बाँकी छ । ‘राजनीतिक नेताको बीचमा भविष्यका सम्भाव्य मार्गचित्रबारे कुराकानी हुन सक्छ । तर, अहिले राजनीतिक दलहरूका बीचमा कुनै पनि निर्णय भइसकेको छैन,’ उनले भने, ‘कसलाई प्रस्ताव गर्ने वा कसैलाई नगर्ने भन्नेबारेमा कुनै निर्णय भएको छैन ।’ 

प्रचण्ड संसदीय दलको नेता चयन, दलको बैठकमा एक सय ११ सांसदको उपस्थिति भएको दाबी
नेकपा संसदीय दलको बहुमत सदस्यको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि प्रचण्ड–नेपाल समूहको दल बैठकले प्रचण्डलाई दलको नेता बनाएको थियो । तर, संसद् पुनस्र्थापनापछि पुनः बहुमत सदस्यको बैठकले प्रचण्डलाई दलको नेता बनाएको हो । 

दलको नेतामाथिको अविश्वासको प्रस्तावको निर्णय विधानतः संसदीय दलको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट हुनेछ । नेकपाको संघीय संसद्मा दुई सय २४ जना सांसद (प्रतिनिधिसभामा सभामुखबाहेक एक सय ७२ छन् । राष्ट्रिय सभामा मनोनीतसहित ५० जना छन् ।) तर, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको दलको बैठकमा सहभागी हुँदैनन् । त्यसैगरी प्रतिनिधिसभाका सभामुख पनि दलको बैठकमा सहभागी हुँदैनन् । नेकपाकै एक सांसदको निधन भएको छ । यसरी हेर्दा संघीय संसद्मा नेकपाका दुई सय २० सांसद हुन्छन् । बहुमतका लागि एक सय ११ सांसद चाहिन्छन् । 

शुक्रबार सिंहदरबारमा बसेको बैठकमा एक सय ११ जना सांसदको उपस्थिति रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ । अझै थपिने क्रम जारी रहेकोसमेत उनीहरूको भनाइ छ । ‘बैठकमा हामी बहुमत उपस्थित छौँ । एक सय ११ जनाको हस्ताक्षर भएको छ । यसले के देखाउँछ भने नेकपाको संसदीय दल अत्यधिक बहुमतमा छ,’ नेता झलनाथ खनालले भने । बैठकपछि प्रचण्डले भने आफूलाई एक सय १५ सांसद (केही काठमाडौंबाहिर रहेकोसमेत)को समर्थन रहेको बताएका थिए । तर, बैठकमा सहभागी सांसदहरूको सूची भने प्रचण्ड–नेपाल समूहले सार्वजनिक गरेको छैन । 

संसद्को दलसम्बन्धी कानुनअनुसार दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एकचौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन् । दलको नेतामाथि अविश्वासको प्रस्ताव ल्याउने हो भने उपनेतालाई जानकारी दिनुपर्छ । एकीकृत नेकपाको दलको उपनेता सुवास नेम्वाङ ओली समूहमा छन् । प्रस्ताव आएको १५ दिनभित्र उपनेताले बैठक बोलाउन मुख्य प्रमुख सचेतकलाई निर्देशन दिनेछन् । दलको नेता र उपनेतालाई बैठक राख्न आग्रह गरे पनि बैठक नबसेपछि २५ प्रतिशत सदस्यले हस्ताक्षर गरेर बैठक राख्न प्रमुख सचेतकलाई आग्रह गरिएको खनालले बताए । देव गुरुङले बैठक आह्वान गरेपछि शुक्रबार बैठक बसेको थियो । 

प्रचण्डलाई यसअघि ८ पुसमा बसेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले पनि दलको नेतामा चयन गरेको थियो । तर, ११ माघमा निर्वाचन आयोगले मान्यता नदिएपछि पुनः बैठक बसेर प्रचण्डलाई दलको नेता चयन गरिएको हो । शुक्रबारको दलको बैठकमा संसदीय दलका ज्येष्ठ सदस्यका रूपमा झलनाथ खनालले अध्यक्षता गरेका थिए ।

केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय कमिटीले कारबाही गरेपछि रिक्त दलको नेतामा प्रचण्डलाई निर्वाचित गरिएको खनालले बताए । उनले भने, ‘केपी ओलीलाई पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी सदस्यता र अध्यक्षबाट पनि हटाइसकेको छ । यस्तो अवस्थामा संसदीय दलको नेता रहिरहनु उपयुक्त हुँदैन भनेर संसदीय दललाई नेताबाट हटाउनु भन्ने निर्देशन पनि दिइसकेको थियो । त्यो निर्देशन आजको संसदीय दलले कार्यान्वयन गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता रिक्त भएपछि रिक्त पदमा उपस्थित सदस्यको सर्वसम्मतिले प्रचण्डलाई संसदीय दलको नयाँ नेताका रूपमा निर्वाचित गरेका छौँ,’ खनालले भने । 

सत्तापक्षकै बेन्चमा बस्नेछन् नेकपाका दुवै पक्ष 
सत्तारुढ दल नेकपा दुई चिरामा बाँडिए पनि संसद्मा भने ओली र प्रचण्ड–नेपाल पक्षलाई सत्तापक्षकै बेन्चमा देख्न पाइने भएको छ । दल विभाजन नभइसकेका कारण उनीहरू सत्तापक्षकै बेन्चमा बस्नेछन् । संसद् सचिवालयका अनुसार नेकपाका सबै सांसदलाई सत्तापक्षकै बेन्चमा राखिनेछ । 

प्रवक्ता डा. रोजनाथ पाण्डे भन्छन्, ‘तीनवटा सेट (सत्तापक्ष, प्रतिपक्षी र मन्त्री) छुट्याइएको हुन्छ । नेकपाका सबै सांसद सत्तापक्षको बेन्चमा बस्नुहुन्छ । दल विवादका कारण फरक–फरक ठाउँमा बस्ने भन्ने छैन । बस्ने ठाउँमा कुनै समस्या हुँदैन । राष्ट्रिय सभाको बैठकमा पनि हामीले एकै ठाउँमा बस्ने व्यवस्था गरेका थियौँ ।’ राष्ट्रिय सभाको बैठकमा पनि नेकपाका सबै सांसदलाई सत्तापक्षकै लाइनमा राखिएको थियो । प्रतिनिधिसभाको बैठकमा पनि त्यसैअनुसार राखिनेछ ।