मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एलेक्स वेब
२०७७ फाल्गुण २१ शुक्रबार ०९:४६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फेसबुक निःशुल्क हुँदा अरू सशुल्क हुनेछ

Read Time : > 2 मिनेट
एलेक्स वेब
२०७७ फाल्गुण २१ शुक्रबार ०९:४६:००

इन्टरनेटमा हरेक कुरा महँगो हुँदै जानुमा विज्ञापनमा आधारित सर्च तथा सामाजिक नेटवर्किङ जिम्मेवार छ  

गुगल र फेसबुक आफ्नो सेवा निःशुल्क प्रयोग गर्न सकिने भन्दै धेरै हल्ला मच्चाउने गर्छन् । निश्चित रूपमा तिनको सेवा निःशुल्क नै छ । तर, तिनकै कारण अनलाइनमा हामीले उपभोग गर्ने लगभग हरेक कुरा महँगो भएको तथ्य भने ती चर्चा गर्दैनन् । इन्टरनेटमा केही समयसम्म निःशुल्क उपभोग गर्न सकिने विभिन्न सेवाका लागि अब सेवाप्रदायकले पैसा माग्न थालेको कुरा त तपाईंले ख्याल गर्नुभएको होला । कैयौँ समाचार, फिल्म, संगीतका साइट अब सब्स्क्रिप्सन सेवामा मात्र उपलब्ध हुन थालेका छन् । 

पछिल्लो उदाहरण ट्विटर इन्कलाई लिन सकिन्छ । अघिल्लो हप्ता कम्पनीले ‘सुपर फलो’ नामको सेवा सुरु गर्ने घोषणा गरेको छ । अब ट्विटर प्रयोगकर्ताले आफ्ना ‘प्रिमियम’ ट्विट तथा सामग्री आफ्ना फलोअर्सले पैसा तिरेर मात्र हेर्न सक्ने बनाउन सक्छन् । कम्पनीले विज्ञापनमाथिको आफ्नो निर्भरता कम गर्नका लागि यो कदम चालेको हो । 

आजको दिनमा अनलाइन विज्ञापनको ठूलो हिस्सा गुगल र फेसबुकले मात्र पाइरहेका छन्, त्यसैले अरूले विकल्प खोज्न बाध्य हुनुपर्ने अवस्था उत्पन्न भएको छ । विज्ञापन आय अहिलेजस्तै गुगल र फेसबुकतर्फ मात्र केन्द्रित भइरह्यो भने बिस्तारै तपाईं–हामीले अनलाइनमा हेर्ने, पढ्ने र सुन्ने धेरै सामग्रीका लागि महँगो रकम तिर्नुपर्ने अवस्था आउनेछ । इन्टरनेट आउनुअघि हामीले उपभोग गर्ने हरेक सञ्चारमाध्यम विज्ञापनमा चल्थे । 

सन् २०२० मा विश्वभर अनलाइन माध्यममा तीन सय अर्ब डलरको विज्ञापन हुँदा तिनको ७४ प्रतिशत रकम फेसबुक र गुगलको पोल्टामा गयो । जम्मा दुई उद्योगमा विज्ञापन राजस्व केन्द्रित हुँदा विज्ञापनमा निर्भर बाँकीले टिक्न पनि संघर्ष गर्नुपर्ने अवस्था छ । 

टिभी, रेडियोदेखि पत्रिकाको मुख्य आयस्रोत विज्ञापन हुने गथ्र्यो । विज्ञापनमा आधारित व्यावसायिक मोडललाई वेबसाइटले पनि सिको गरे । उपभोक्ताले अनलाइनमा धेरै सामग्री नि:शुल्क उपभोग गर्न पाए । उदाहरणका लागि मिडिया संस्थालाई नै लिऊँ । सुरुमा उनीहरूले आफ्ना सामग्री पढ्ने पाठकलाई कुनै शुल्क लिएनन् । धेरै पाठक तान्न सकियो भने साइटमा देखिने ब्यानर विज्ञापनले थप आय दिने भ्रममा यस्तो मार्ग अवलम्बन गरिएको थियो । तर, बिस्तारै अनलाइन मिडियाले विज्ञापन कम पाउन थाले । विज्ञापनजति सबै दुई ठूला कम्पनीको भागमा जाँदा अरूको भागको विज्ञापन संकुचित हुँदै गयो । 

अघिल्लो दशक विज्ञापन रकमको अधिकांश हिस्सा सर्च इन्जिन सञ्चालक तथा सामाजिक मिडिया कम्पनीको खल्तीमा गएको देखियो । वर्ल्ड एड्भरटाइजिङ रिसर्च काउन्सिलका अनुसार सन् २०२० मा विश्वभर अनलाइन माध्यममा तीन सय अर्ब डलरको विज्ञापन भयो । तिनको ७४ प्रतिशत रकम फेसबुक र गुगलले मात्र पाए । यसले विज्ञापनमा निर्भर बाँकी सबैले टिक्न पनि संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भयो । तर, विगतमा विज्ञापन जगत् यति केन्द्रीकृत थिएन । 

सन् २००६ मा न्युयोर्क टाइम्सले आफ्ना पत्रिकाको सब्स्क्राइबरबाट औसतमा ५३४ डलर रकम पाउँथ्यो भने प्रतिसब्स्क्राइबर थप १०६४ डलर विज्ञापनबाट पाउँथ्यो । पत्रिका प्रकाशकहरूले मुद्रास्फीतिसँगै विज्ञापन रकम बढाएर लिन सक्ने भएकाले उनीहरूलाई पत्रिकाको रकम बढाउने आवश्यकता पर्दैनथ्यो । अहिले यो विशेषाधिकार ठूला प्रविधि कम्पनीसँग मात्र छ । सन् २०१७ देखि फेसबुकले अमेरिका र क्यानडाका हरेक प्रयोगकर्ताबाट वार्षिक औसत १५९ डलर आय गर्न थालेको छ । विज्ञका अनुसार फेसबुकले आफ्नो कुल राजस्व सन् २०२४ सम्म अझ दोब्बर बनाएर १७६ डलर पुर्‍याउनेछ । 

उपभोक्ताको दृष्टिबाट हामी पनि सामाजिक सञ्जाल र सर्च नि:शुल्क हुनुपर्छ भन्ने वकालत गर्ने गर्छौं । आखिर यी सबैले उपभोग गर्ने भएकाले यसको विकल्पबारे हामीलाई सोच्न कठिनजस्तो लाग्छ । बरु निश्चित सेवाका लागि मूल्य तिर्ने कुरामा मानिसले सहमति जनाउँछन् । 

नेटफ्लिक्स र डिज्नी प्लसजस्ता ‘भिडियो–अन–डिमान्ड’ सेवाको प्रसिद्धिले यही देखाउँछ । शुल्क तिरेर सेवा लिनुपर्ने वेबसाइटमा विज्ञापनको झन्झट त हुँदैन, तर तिनको सेवा महँगो हुने गर्छ । ट्विटरजस्तो कम्पनीले समेत आफ्ना केही सेवामा शुल्क लिन थालेपछि अब गुगल र फेसबुकबाहेक हरेक सेवा सशुल्क हुने दिन नआउला भन्न सकिँदैन । जुन आफैँमा खराब कुरा भने होइन । सम्भवतः त्यस अवस्थामा हामीले शुल्क तिरेको सामग्रीको महत्व बुझ्न थाल्नेछौँ । कुनै सामग्री उत्पादन गर्न पैसा लाग्छ भने तिनको उपभोगमा पनि पैसा लाग्नुपर्छ । 

(वेब ब्लुम्बर्गका स्तम्भकार हुन् । उनी प्रविधि, मिडिया र सञ्चार उद्योग विषयमा लेख्छन्)
ब्लुम्बर्गबाट