मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १२:०४:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्सेसँगै कारोबार रकममा सुधार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १२:०४:००

साताको अन्तिम दिन नेप्से परिसूचक शून्य दशमलव ६७ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । कम्पनीहरूले घोषणा गरेका लाभांशले बजार प्रभावित भइरहेको छ । कम्पनीहरूले साधारणसभामार्फत धमाधम लाभांश पारित गर्न थालेका छन् । यसका साथै साधारणसभा र बुक क्लोजको मिति नजिकिएपछि बजारले सकारात्मक गति लिएको एक ब्रोकरले बताए । कारोबार रकम र नेप्से दुवै बढ्नु सकारात्मक पक्ष हो । बजारले गति लिन परिसूचकसँगै कारोबार रकम बनि बढ्नु आवश्यक छ । यस दिन बजार खुलेदेखि मध्याह्नसम्म नेप्से करिब स्थिर रहेको थियो । मध्याह्नपछि उकालो लागेर नेप्से १ हजार १ सय ५३ बिन्दुमा पुगेको थियो । बजार बढेको मौकामा केही लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेपछि नेप्से ओरालो लागेको थियो । तर, अन्तिम समयमा बजार पुनः सामान्य सुधार भएर बन्द भएको छ । पुँजीबजार सुधार र विस्तारका लागि अनशन बसेका लगानीकर्ताको बिहीबार पाँचौँ दिन हो । लगानीकर्ताले १४ बुँदे मागसहित आइतबारदेखि सो अनशन सुरु गरेका थिए । हालसम्म पनि माग पूरा नभएपछि लगानीकर्ताले देशव्यापी अनशन सुरु गर्न आह्वान गरेका छन् ।

नेप्से परिसूचक यस दिन ७ दशमलव ६० प्रतिशत बढेर १ हजार १ सय ४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ६४ अंक घटेर २ सय ४४ दशमलव ७० बिन्दुमा पुगेको छ । यस दिन १ सय ५४ कम्पनीको ३ हजार २ सय ६६ पटकको कारोबारमा ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँबराबरको ९ लाख ९७ हजार ६ सय ७२ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४२ दशमलव ३३ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्स्योरेन्स अगाडि रहेको छ । सो कम्पनीको यस दिन ५ करोड २५ लाख ३४ हजार ३ सय ४५ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । सेयर संख्याका आधारमा भने यस दिन माछापुच्छे« बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ लाख ५६ हजार ७ सय १ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा यस दिन नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ९३ पटक सेयर खरिद–बिक्री भएको छ । नागबेली लघुवित्त विकास बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । सूर्योदय लघुवित्त, सेन्ट्रल फाइनान्स र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएका १ सय ५४ कम्पनीमध्ये यस दिन १ सय ६ कम्पनीको सेयरमूल्य यस दिन बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

बिहीबार कारोबारमा आएको होटेल, वित्त र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव ३१ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक शून्य दशमलव ९२ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ८५ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ७४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ६२ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ५९ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव २४ प्रतिशत बढेको छ । अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ३६ प्रतिशत, होटेल समूहको शून्य दशमलव ११ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । 

कञ्चनको साधारणसभा
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले पुस २१ गते होटेल ओपेरा प्रालि, महेन्द्रनगरमा नवौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ५ प्रतिशत बोनस सेयर, ६ दशमलव २९ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि वितरण गर्ने, संस्थापक समूहको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने, सर्वसाधारणको तर्फबाट रिक्त रहेको पदमा बाँकी अवधिका लागि निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । 

हिमालयन पावर पार्टनरको साधारणसभा
हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते अम्रपाली ब्यांक्वेट, क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनीमा छैटौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा आर्थिक प्रतिवेदन पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनले पुस १२ र १३ गते बुक क्लोज गर्ने भएको छ । 

निर्धनमा नयाँ सञ्चालक
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले देवेन्द्रबहादुर राउतलाई सञ्चालक पदमा नियुक्त गरेको छ । मंसिर २५ गते सम्पन्न कम्पनीको साधारणसभाको बैठकले संस्थापक सेयरधनीका तर्फबाट राउतलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । साथै, सो सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट टोपबहादुर रायमाझी र सम्रिता तिवारीलाई सञ्चालक पदमा निर्वाचित गरेको छ । 

अपर तामाकोसीको आइपिओको रकम फिर्ता
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आइपिओमा आवेदन दिएका, तर बाँडफाँडमा नपरेका सेयरको रकम फिर्ता भुक्तानी गर्ने भएको छ । कम्पनीले यसअघि कात्तिक १९ गतेदेखि आइपिएसमार्फत सेयर बाँडफाँडमा नपरेको बाँकी रकम दरखास्त फाराममा उल्लेख गरेको खातामा रकमान्तर गरेको थियो । यद्यपि, धेरै लगानीकर्ताले रकम फिर्ता भुक्तानी नपाएको गुनासो गर्दै आएका थिए । 

आवेदन दिनेहरूमध्ये नाम नमिलेको, बैंक खाता नम्बर नमिलेको, खाता रोक्का रहेको तथा केवाइसी नबुझाएको र ६ महिनाभन्दा बढी समयसम्म कारोबार नभएका कारण रकम खातामा फिर्ता नभएका कारण लगानीकर्ताले रकम फिर्ता पाउन सकेका थिएनन् । कम्पनीले त्यस्ता आवेदकहरूको हकमा पुनः डाटा रुजु गरी र सम्बन्धित व्यक्तिले खातालगायत अन्य विवरणहरू सच्याउन अनुरोध गरेको छ । रकमान्तर हुन नसकेका ५२ हजार लगानीकर्तालाई पुस १ गतेदेखि दरखास्त बुझाएको संकलन केन्द्र तथा सनराइज क्यापिटल लिमिटेडबाट चेक फिर्ता भुक्तानी गर्न आग्रह गरेको छ ।

एनएमबीको निमित्त सिइओमा मिश्र
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले रामप्रसाद मिश्रलाई निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । कम्पनीका सिइओ फनिलाल चौधरीको मंसिर २६ गते असामयिक निधन भएका कारण मिश्रलाई नियुक्त गरेको हो ।

चिलिमेको लाभांश
चिलिमे जलविद्युत्् कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २६ मंसिरमा बसेको सञ्चालक समिति बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।