मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
खेमराज भट्ट
२०७७ फाल्गुण २१ शुक्रबार ०८:३९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अपराधमा बालबालिकाको संलग्नता 

Read Time : > 3 मिनेट
खेमराज भट्ट
२०७७ फाल्गुण २१ शुक्रबार ०८:३९:००

केही समयअघि बैतडीमा घटेको बलात्कारपछि हत्याको घटनाको सिलसिलामा एक १७ वर्षीय किशोर पक्राउ परे । केही वर्ष पहिले भारतको दिल्लीमा भएको सामूहिक बलात्कारको घटनामा पनि एक १७ वर्षीय नै (बालक) संलग्न भएको पुष्टि भएको थियो । यी र यस्ता तमाम घटनामा कानुनले वयस्क नठहर्‍याएका व्यक्ति (नेपालको कानुनअनुसार १८ वर्षमुनिका नाबालिक)हरू संलग्न रहेका समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित भइरहँदा हामी सबैको स्वाभाविक जिज्ञासा हुन्छ– किन बालकालिका यस्ता जघन्य अपराधमा संलग्न हुन पुग्छन् होला ? यो प्रश्नको सोझो र स्पष्ट उत्तर छैन । 

मनोविज्ञहरूका अनुसार हरेक मानव व्यवहार जैविक, मनोसामाजिक एवं सांस्कृतिक कारणहरूको अन्तरक्रियाबाट उत्पन्न हुन्छन् । यसर्थ, बालबिजाइँ अर्थात् बालबालिकाले देखाउने असामाजिक वा कानुनविपरीतका व्यवहार पनि यी तीनवटै कारणबाट उत्पन्न हुने गर्छ । यो लेखमा यसबारे केही विवेचना प्रस्तुत गर्न खोजिएको छ । 

विभिन्न अनुसन्धानले वंशानुगत कारणले बलबिजाइँ (बालअपराध)का घटनामा केही भूमिका खेलेको देखाएका छन् । मुख्यतः बुबाआमामा असामाजिक व्यवहार गर्ने प्रवृत्ति भएमा त्यस्ता गुण बालबालिकामा सर्न सक्ने उनीहरूको तर्क छ । त्यसैगरी, हाम्रा हरेक व्यवहारमा सिकाइको महत्वपूर्ण भूमिका रहन्छ । बालबालिकाले नराम्रा वा असामाजिक व्यवहार देखाउँदा वाहवाही वा पुरस्कार पाउँछन् भने उनीहरूले यस्ता व्यवहार देखाउने सम्भावना बढेर जान्छ । त्यसैले परिवार, विद्यालय वा समाजमा आपराधिक व्यवहार देखेमा बालबालिकाले सोको नक्कल गरी त्यस्ता व्यवहार सिक्ने सम्भावना बढ्छ । जोन बोल्वी भन्ने प्रख्यात मनोविज्ञका अनुसार बाल्यकालमा मातृवात्सल्यको कमीले पनि बालबालिका असामाजिक वा गैरकानुनी व्यवहारमा संलग्न हुन पुग्छन् । यसैगरी, बाल्यकालमा कुनै पनि किसिमको दुव्र्यवहारबाट पीडित बालबालिका बिजाइँका घटनामा बढी संलग्न हुने गरेको पाइएको छ । उचित पारिवारिक वातावरण सबल नागरिक उत्पादनको प्रमुख आधार हो । परिवारमा झैझगडा भइरहने, बुबाआमाले बालबालिकाको उचित स्याहार नगर्ने तथा तानाशाही प्रवृत्ति लाद्ने गरेमा पनि बालबालिकाले विचलित व्यवहार देखाउने सम्भावना बढी हुन्छ । 

कुनै समाजमा हिंसा, आक्रामकताजस्ता नकारात्मक व्यवहारले प्रश्रय पाएको खण्डमा बालबालिकाले त्यस्ता व्यवहार देखाउने सम्भावना बढेर जान्छ । बालसुधारगृहमा कार्यरत एक मनोविज्ञका अनुसार सुधारगृहमा आउने बिजाइँकर्ताहरूमा पारिवारिक समस्या तथा आक्रामकता मुख्य समस्याको रूपमा देखिएका छन् । शिक्षाको कमी पनि बालबिजाइँको एउटा महत्वपूर्ण कारक हो । हाम्रो देशमा कुन कुरा कानुनी रूपमा गलत हो भन्ने ज्ञान बालबालिका तथा बुबाआमालाई दिइँदैन । त्यसैगरी, बालबालिकालाई कसरी हुर्काउने जस्ता जीवनोपयोगी सीप तथा ज्ञानबाट धेरै आमाबुबा वञ्चित हुन्छन् । फलस्वरूप नचाहँदानचाहँदै बिजाइँका घटना घट्न सक्छन् । 

हामीले रोकथाम गर्दागर्दै पनि विभिन्न कारणले बिजाइँका घटना हुन सक्छन् । तसर्थ, बिजाइँका सुधारात्मक उपायसम्बन्धी अध्ययन अनुसन्धान गरिए बिजाइँ गर्ने बालबालिकालाई कसरी सुधार गर्ने भन्ने खाका दिन सकिन्छ ।

केही बालबालिकामा मानसिक अस्वस्थता बिजाइँको कारण हुन सक्छ । विशेषगरी, कन्डक्ट डिसअर्डर, अपोजिसनल डिफाएन्ट डिसअर्डरजस्ता मानसिक समस्याबाट गुज्रिरहेका बालबालिका बिजाइँका घटनामा बढी संलग्न रहेको पाइन्छ । 

कसरी रोकथाम गर्न सकिन्छ बिजाइँका घटना : बिजाइँमा संलग्न बालबालिकालाई अन्तर्राष्ट्रिय मान्यताअनुसार न्याय दिने हेतुले नेपालमा ०६३ सालमा बालन्याय कार्यविधि ल्याई सोहीअनुसार बालमैत्री वातावरणमा न्याय दिने व्यवस्था गरिएको छ । बालबालिकालाई न्याय दिन सामाजिक कार्यकर्ता तथा मानोविज्ञानमा तालिमप्राप्त व्यक्तिहरूको परामर्श महत्वपूर्ण हुने तथ्यलाई यो कार्यविधिमा आत्मसात् गरी बालन्यायका क्रममा बालमनोविज्ञानमा तालिमप्राप्त व्यक्तिलाई पनि अदालतको फैसलाको महत्वपूर्ण अंग मान्न थालियो । अहिले पनि धेरैजसो जिल्ला अदालतहरूमा बालबिजाइँका केसमा न्यायधीशहरूलाई न्याय सम्पादनमा सघाउन बालमनोविज्ञानमा तालिमप्राप्त व्यक्तिहरूको सहयोग लिइन्छ ।

तिनले बालबालिकालाई कसरी सुधारात्मक उपायद्वारा भविष्यमा सबल नागरिक बन्न तथा बिजाइँबाट पर राख्न सकिन्छ भन्ने सुझाब दिने गर्छन् । बालन्यायको ज्ञान समाजमा पुर्‍याउन तथा बिजाइँका घटना कम गर्ने हेतुले त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा बालबिजाइँ तथा बालन्यायको पाठ्यक्रम सुरु गरेको छ । यसबाहेक विश्वविद्यालयमा पनि बालन्यायसम्बन्धी पढाइ सुरु भएका छन् । तथापि, यी बालबिजाइँका घटना कम गर्न खासै प्रभावकारी पाइएका छैनन् । प्रकाशित समाचारअनुसार २०१८–०१९ मा अघिल्लो वर्षको तुलनामा बढी घटना भएका थिए । त्यस वर्ष भएका कुल ८२१ घटनामध्ये सबैभन्दा बढी घटना बलात्कारका थिए । बालसुधारगृहमा कार्यरत मनोपरामर्शदाताका अनुसार पनि हत्या र बलात्कारका घटना सबैभन्दा बढी छन् । 

यी कुराले के स्पष्ट पारेको छ भने राज्य वा शिक्षाविद्हरूको पहलबाट मात्र बिजाइँको रोकथाम सम्भव हुन सक्दैन । यसका लागि परिवार र समाजको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस लेखमा केही सुझाब प्रस्तुत गरिएको छ । 

पारिवारिक झगडा र कडा सजायले बालबालिकाले कुरा लुकाउने र भन्न डराउने हुन सक्छ, जुन कालान्तरमा बिजाइँको कारण बन्न पुग्छ । तसर्थ, परिवारमा उचित वातावरण र अनुशासन दिनु बुबाआमाको कर्तव्य हुन्छ । बुबाआमाले बालबालिकाका राम्रा व्यवहारलाई प्रोत्साहित गर्ने र नराम्रा व्यवहारलाई दुरुत्साहित गर्ने गर्नुपर्छ । यसका लागि प्यारेन्टिङसम्बन्धी तालिम समाजमा चलाउनु आवश्यक छ । 

बालबालिकाले बुबाआमा, शिक्षक तथा अन्य गन्यमान्य व्यक्तिको व्यवहार नक्कल गरी सिक्ने हुँदा हामी आफूले असामाजिक तथा आक्रामक व्यवहार नदेखाएको खण्डमा बालबालिका बिजाइँमा लाग्ने सम्भावना घटेर जान्छ । 

बालबालिकालाई जीवनोपयोगी सीपहरू (जस्तै– तनाव व्यवस्थापन, समस्या समाधान) सानै उमेरदेखि सिकाउन सकिएमा उनीहरू अपराधजन्य कर्ममा लाग्ने सम्भावना कम भएर जान्छन् । नागरिकका हक तथा कर्तव्यको उचित ज्ञान दिने, नैतिक शिक्षा दिने गर्नाले पनि बालबालिका बिजाइँमा लाग्ने सम्भावना कम हुन्छ । 

बालबालिका आफ्ना साथीका कारण पनि बिजाइँमा लाग्न सक्छन् । तसर्थ, बिजाइँ हुन सक्ने सम्भावित ठाउँ पहिचान गरी समुदायले उचित निगरानी राख्न सकेमा बिजाइँ रोकथाममा भूमिका खेल्न सक्छ । मिडियाले पनि बिजाइँ कम गर्न भूमिका खेल्न सक्छन् । बालबालिकाको उमेरअनुसार कस्तो व्यवहार गर्छन्, किन बिजाइँ हुन्छ, बाल बिजाइँ कम गराउन परिवार र समाजले के भूमिका खेल्न सक्छ जस्ता खोजमूलक सामग्री पस्किएमा पक्कै प्रभावकारी हुनेछ । 

केही बालबालिका सानै उमेरदेखि मानसिक रूपमा अस्वस्थ हुन्छन् । जसले गर्दा उनीहरू बिजाइँमा संलग्न भएका हुन सक्छन् । तसर्थ, यस्ता समस्या पत्ता लगाई उचित मनोपरामर्श दिन सक्दा अपराधमा लाग्ने सम्भावना घटेर जान्छ । हामीले रोकथाम गर्दागर्दै पनि विभिन्न कारणले बिजाइँका घटना हुन सक्छन् । तसर्थ, बिजाइँका सुधारात्मक उपायसम्बन्धी अध्ययन अनुसन्धान गरिए बिजाइँ गर्ने बालबालिकालाई कसरी सुधार गर्ने भन्ने खाका दिन सकिन्छ । 

(भट्ट मनोविद् हुन्)