मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार ०७:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेविसंघको रिले अनशनमा  माधव नेपालको ऐक्यबद्धता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार ०७:२३:००

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गरेको रिले अनशनप्रति ऐक्यबद्धता जनाएका छन् । त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा नेविसंघको एक महिनादेखि जारी अनशनमा बिहीबार ऐक्यबद्धता जनाउँदै उनले मागहरूप्रति आफ्नो समर्थन रहेको बताए ।
जनता समाजवादी पार्टीनिकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी भएर फर्किएका नेता नेपालले उपकुलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गई ऐक्यबद्धता जनाएका हुन् । नेपालले त्यहाँ नेविसंघले राखेको पुस्तिकामा हस्ताक्षर गर्दै अनशनस्थलमा आएर मागहरूप्रति समर्थन जनाएको नेविसंघका नेता भुवन भट्टले जानकारी दिए । ‘राजनीतिक नियुक्तिले विश्वविद्यालय बिग्रिएका छन् । तपाईंहरूका मागप्रति मेरो समर्थन छ,’ नेपालले नेविसंघ नेताहरूसँग भने । 

नेविसंघले एक महिनादेखि उपकुलपति कार्यालयको ढोकैमा रिले अनशन गरिरहेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड–१९ का कारण लामो समयपछि भएको परीक्षा र त्रिविको नतिजा प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरूको शैक्षिक सत्र गुम्ने अवस्था भएकाले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत माग नेविसंघको छ ।

त्रिविको क्यालेन्डरअनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर्न पनि उनीहरूले माग राखेका छन् । यस्तै, नेविसंघ त्रिवि समिति र त्रिविबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नसमेत माग गरिएको छ ।