मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०९:३६:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

आफ्नै बोलीको पासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०९:३६:००

नेपाली राजनीतिमा नेताहरूले बोल्न नहुने या नपर्ने कुरा फ्याट्ट बोल्ने र पछि आफ्नै बोलीको पासोमा अल्झेर लड्ने गरेका धेरै उदाहरण छन् । कतिपय समयमा लाक्षणिक शब्द चयनमा भएका त्रुटिले या त्यस्तो लाक्षणिकताको गलत अर्थ लगाइदिँदा पनि नेताहरू अनावश्यक विवादमा आउने गरेका छन् । स्व. कृष्णप्रसाद भट्टराईले कुनै वेला एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा आफूलाई ह्विस्की खाने पैसा आउँछ भनेरै सांसद भएको भन्दा उनको सार्वजनिक छविमा धक्का लाग्यो । गणेशमान सिंंह काठमाडौंवासीमाथि प्रयोग गरेको बिम्बका कारण विवादमा आएका थिए । यतिवेला त हरेक नेता केही न केही अन्टसन्ट बोल्नै जन्मेका हुन् कि जस्ता लाग्छन् । यसमा सबैभन्दा बदनाम त प्रधानमन्त्री केपी ओली नै छन् । 

विद्वत् प्रवचन दिन उभिएका शिक्षामन्त्रीले विद्यार्थीका अगाडि निर्लज्ज, भद्दा र आक्रोशित मुद्रामा जे–जे बोले, त्यसले उनले लगाएको गाउन, उनको पदको गरिमा, नेपालको नयाँ पुस्ता सबैको अपमान भएको छ
 

हालै मात्र उनले पोखरामा एउटा भाषणका क्रममा बागमतीको जुगल हिमाललाई गण्डकी प्रदेशमा बसाइँ सराइ गरिदिन र गण्डकी प्रदेशमा रहेका आठ हजार मिटरमाथिका तीनवटा हिमालको संख्या थपेर पाँच पु¥याउन कुनै अप्ठेरो मानेनन् । अझै पनि उनी बेलौतीको पात उमालेर गार्गल गरे कोरोना भाग्छ भनेर जबर्जस्त स्थापित गराउन कत्ति लज्जाबोध गर्र्दैनन् र आलोचनाको विषय बन्छन् । यता नेकपाका अर्का नेता प्रचण्ड आफ्नो समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन सरकार बन्यो भने भारत र चीनलाई पनि कम्फर्टेबल हुन्छ भनेर सार्वजनिक अभिव्यक्ति दिएकै कारण विवादमा छन् । उनले पहिलोपटक प्रधानमन्त्री हुनेबित्तिकै चीन गएर फर्किंदा विमानस्थलबाटै आफ्नो पहिलो राजनीतिक भ्रमण भारतमै हुने भन्ने अभिव्यक्ति दिएर आफँैले कमाएको यश पनि गुमएका थिए । 

नेकपाका अर्का नेता सुवास नेम्वाङ पनि आफ्ना नेताको बचाउ गर्छु भन्दा वेला–वेला विवादास्पद कुरा बोलिरहन्छन् । गृहमन्त्री रहेका नेकपा नेता रामबहादुर थापाले हालै आफ्नो समूहले गरेको एउटा आमसभालाई तेस्रो जनआन्दोलनको थालनी भन्दै उक्सेर बोलेकाले लाजमर्दो अवस्थामा पुगेका थिए । हालै कोमल वलीका बारेमा दिएको अभिव्यक्तिका कारण नेकपा नेता रघुजी पन्त र राष्ट्रपतिका विषयमा दिएको अभिव्यक्तिका कारण नेकपाकै अर्की नेतृ रामकुमारी झाँक्रीले सार्वजनिक रूपमा सरम मान्नुपरेको थियो । आफू मन्त्री हुँदा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि विवादास्पद कुरा गरिरहन्थे । यता भर्खर वर्तमान सरकारका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ आफ्ना असान्दर्भिक अभिव्यक्तिका कारण सार्वजनिक आलोचनाका पात्र बनेका छन् । उनको बोलीले उनको मात्र होइन, प्रधानमन्त्री ओली र उनको सरकारको तौल पनि घटाइदिएको छ । 

उनले हालै ललितपुरको एउटा कलेजका ग्य्राजुएट विद्यार्थीसमक्ष विश्वविद्यालयको सहकुलपतिका रूपमा दीक्षा दिँदा बोलेका कुराले उनको निम्छरो चेतना मात्र खुलस्त भएको छ । विद्वत् प्रवचन दिन उभिएका शिक्षामन्त्रीले विद्यार्थीका अगाडि प्रधानमन्त्रीको गुनगान गाउँदै ‘उनलाई हटाउने कुनै माइकालाल नजन्मेको’ भन्दै निर्लज्ज, भद्दा र आक्रोशित मुद्रामा जे–जे बोले, त्यसले उनले लगाएको गाउन, उनको पदको गरिमा, नेपालको नयाँ पुस्ता सबैको अपमान भएको छ । कहाँ छु, के बोल्नुपर्ने हो, श्रोता को हुन् र आफ्नो पदीय दायित्व र जिम्मेवारी के हो भन्ने ठेगान नगरी बोल्दै हिँड्दा बोल्नेको बेइज्जत त हुन्छ नै, सँगै उनीहरूले प्रतिनिधित्व गरिरहेको संस्था पनि अप्ठेरोमा पर्छ । आफ्नो बोलीको पासो आफैँलाई पर्ने गरी कमसेकम नबोलेकै जाती ।