मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ फाल्गुण २० बिहीबार ०८:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालका लागि चार हजार टन चिनियाँ युरिया मल खासा आइपुग्यो

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ फाल्गुण २० बिहीबार ०८:४१:००

विगतमा छिमेकी मुलुक भारतको कोलकाता भएर आउने चिनियाँ युरिया मल योपटक तातोपानी नाका भएर नै नेपालमा भित्रिने भएको छ । चिनियाँ युरिया मल स्वशासित क्षेत्र तिब्बतको बाटो हुँदै नेपाल आउन लागेको यो पहिलोपटक हो । नेपालका लागि चीनको छिङहाई प्रोभिन्सबाट खरिद गरिएको रासायनिक युरिया मल तातोपानीपारि खासा भ्यान पार्किङमा आइपुगेको हो । सिल्क मार्केट कम्पनीले ल्याएको युरिया मल आइतबारसम्म नेपालतर्फ आयात हुने निश्चित भएको छ । 

भारतलगायत तेस्रो मुलुकबाट आयात भएको मलजस्तै चिनियाँ युरिया मलको अन्तर्राष्ट्रिय गुणस्तर र मूल्य एउटै भएको सिल्क मार्केट कम्पनीका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । ‘पानीजहाजबाट भारतको कोलकाता हुँदै आउने मल तथा अन्य लजिस्टिक सामग्री तिब्बत भएर सहज रूपमा नेपाल भित्र्याउने प्रक्रिया सुरु भएको छ,’ शेर्पाले भने, ‘मल मात्रै होइन, सबै चिनियाँ मालसामान तातोपानी र केरुङ भएर सहज रूपमा आयात गर्ने कार्यमा हामी लागिरहेका छौँ ।’

तत्कालका लागि चार हजार टन खरिद गरिएको उनले जानकारी दिए । ढुवानी, समय र यसको मागलाई विचार गरेर दोस्रो चरणमा ठूलो परिमाण आयात गर्ने कम्पनीको योजना छ । पहिलो चरणमा तातोपानी नाका भएर चार सय कन्टेनर मल काठमाडौं आयात हुँदै छ । 

 निकासीका लागि भन्सारको पहल
भूकम्पपछि खुलेको तातोपानी नाकाबाट आयात मात्रै भइरहेको छ । पटक–पटक खुल्दै र बन्द हुँदै आएको व्यापारिक केन्द्र खासामा नेपाली सामानको निकासी खुलेको छैन । सामान मात्रै होइन, कोरोना महामारीको बहानामा नाका खुलेयता नेपालीहरूलाई खासा क्षेत्र प्रवेशमा रोक लगाइएको छ । चिनियाँ पर्व स्प्रिङ फेस्टिभल सकिए तापनि पहिले जसरी आयात चलेको छैन ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार आयात गर्ने सामान नै सकिएको छ । हाल दैनिक तीनवटा गाडीमा फलफूल र लसुन मात्रै आयात भइरहेको छ । ‘वर्ष दिनअघि व्यापारीले खरिद गरेको सामान आयात भइसकेको छ,’ खत्रीले भने,‘पछिल्लो समय थोरै परिमाणमा खरिद भएका सामग्री खासा आइपुगेको छैन ।’ व्यापारिक सामान आयात हुन २० दिन लाग्ने उनले बताए । 

ल्हासामा रहेका महावाणिज्यदूत नवराज ढकालसँग तातोपानी भन्सारले निरन्तर पहल गरिरहेको छ । तर, चिनियाँ पक्षले नेपाली सामान निकासीका लागि कुनै संकेत दिएको छैन । आउँदो वर्षसम्ममा निकासी खुलाउनेबारे महावाणिज्य दूतावासले चीन सरकारसँग कुराकानी गरिरहेको खत्रीले बताए । आयात–निर्यातका लागि चिनियाँ पक्षबाट कुनै पनि बेला ‘ग्रिन सिग्नल’ आउन सक्ने भएकाले भन्सारसम्बद्ध कर्मचारी, सवारीचालक, कन्टेनर ड्राइभर, लोड–अनलोड गर्ने मजदुरलाई कोरोनाविरुद्धको खोप लगाइसकेको उनले बताए ।