Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार ०९:४४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिडपछि निजी सवारीसाधनको बिक्री बढ्यो

गत वर्षभन्दा अहिले सवारीसाधनको समग्र आयात ५.६२ प्रतिशतले घटेको देखिए पनि यो तथ्यांकमा निजी सवारीको हिस्सा बढेको छ 

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार ०९:४४:००

विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण निजी सवारीसाधनको बिक्री बढेको छ । कोभिडबाट जोगिन सामाजिक दूरी कायम गरेर यात्रा गर्नुपर्ने भएकाले नेपाली बजारमा पनि निजी सवारीसाधनको बिक्री बढेको छ । सरकारले पहिलो चरणको लकडाउन खुकुलो गरेसँगै जुलाई (असार–साउन)मा दुईपांग्रे सवारीसाधनको बिक्री पुरानै अवस्थामा फर्किएको व्यवसायीहरूले बताएका छन् । करिब तीन महिनापछि लकडाउन खुकुलो हुँदा स्टकमा रहेका स्कुटर र बाइकले बजारमा माग धान्न सकेको थिएन । 

दसैँ–तिहारपछि कम मूल्यका चारपांग्रे गाडीको बिक्री पनि आकर्षक भइरहेको अटोमोबाइल व्यवसायीको भनाइ छ । जनजीवन सामान्य भएसँगै अर्थतन्त्र चलायमान हुन थालेपछि अटो बजार पनि गर्माउँदै गएको नाडा अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष आकाश गोल्छाले बताए । ‘अहिले गाडीको बुकिङ राम्रो छ, तर मागेजति गाडी सप्लाई गर्न सकिरहेको छैन,’ एसोसिएसनका उपाध्यक्ष एवं फोर्ड गाडीका विक्रेता आकाश गोल्छाले भने, ‘फोर्डको इकोस्पोर्ट अहिलेकै बुकिङ पूरै हस्तान्तरण गरिसक्न अप्रिलसम्म लाग्ने देखिन्छ ।’ अहिले गाडीको बिक्रीमा भन्दा पनि डेलिभरीमा समस्या भइरहेको उनले जानकारी दिए ।

एचएच बजाजकी सहायक महाप्रबन्धक पुनम सिंहका अनुसार अहिले दुईपांग्रेको बिक्री उत्साहजनक छ । उनले भनिन्, ‘पहिलो चरणको लकडाउन खुकुलो भएसँगै लयमा फर्किन खोजेको दुईपांग्रेको बजार अहिले रि–बाउन्स भइसकेको छ ।’ चारपांग्रे सवारी तत्कालै डेलिभरी गर्न नसक्ने भए पनि बुकिङ धमाधम भइरहेको सुजुकी मोटर्सका मार्केटिङ प्रमुख करण शाक्यले बताए । निजी सवारीको बिक्री बढे पनि बस, ट्रक, पिकअपलगायत कमर्सियल गाडीको बिक्री भने अझै लयमा फर्किन सकेको छैन । 

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि कोभिडपछि निजी सवारीसाधनको बिक्री बढेको देखाउँछ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ५० अर्ब ४१ करोड ४० लाख रुपैयाँबराबरको गाडी तथा पार्टपुर्जा भित्रिएका छन् । गत वर्षको सोही अवधिमा ५३ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ मूल्यबराबरका गाडी तथा पार्टपुर्जाहरू भित्रिएका थिए । गत वर्षभन्दा अहिले सवारीसाधनको समग्र आयात ५.६२ प्रतिशतले घटेको देखिए पनि यो तथ्यांकमा निजी सवारीको हिस्सा बढेको छ । अटो व्यवसायी भन्छन्, ‘कोभिडपछि कमर्सियल गाडीको आयात बढ्न सकेको छैन, स्कुटर, बाइक तथा साना कारको आयात बढिरहेको छ ।’

बढ्दो मागलाई धान्न अहिले बजारमा गाडी कम्पनीबीच निजी सवारीसाधनका नयाँ मोडल भित्र्याउने चर्को प्रतिस्पर्धा छ । कोभिडकै बीचमा मलेसियन ब्रान्ड प्रोटोन भित्रिएको छ । किया र निसानले नयाँ मोडल भित्र्याएका छन् । कियाको सोनेट र निसानको म्याग्नाइट गाडीको बिक्री उच्च रहेको विक्रेता बताउँछन् । किया गाडी विक्रेता सुहृद घिमिरे भन्छन्, ‘सोनेटको सप्लाई नै एकदमै कम छ, कोभिडका कारण कम्पनीले मागेजति गाडी दिन सकेको छैन ।’

नेपालमा भित्रिने अधिकांश गाडीहरू इन्डियामा उत्पादन हुन्छन् । कोभिडपछि इन्डियामै गाडी तथा स्कुटर–बाइकको माग ह्वात्तै बढेपछि उत्पादक कम्पनीले मागेजति सप्लाई बढाउन नसकेको गोल्छाको भनाइ छ । उनले भने, ‘अहिले इन्डियामै गाडीको माग बढेको हुँदा अटोमोबाइल कम्पनीहरूले त्यहीँको बजारलाई पुर्‍याउन सकिरहेका छैनन् ।’ हालै नेपाली अटोबजारमा भित्रिएको नयाँ ब्रान्ड प्रोटोनको सेडान कार सागा पनि राम्रै बिक्री भइरहेको जगदम्बा मोटर्सका सहायक महाप्रबन्धक विवेक बलामीले बताए ।

कोभिड मत्थर हुँदै गएपछि टिभिएसले भृकुटीमण्डपमा चलाइरहेको एक्सचेन्ज कार्यक्रममा उपभोक्ताको बाक्लो भिड देखिन्छ । ग्राहकले पुरानो बाइकसँग नयाँ बाइक–स्कुटर साट्ने धेरै रहेको जगदम्बा अटोमोबाइल्सले जनाएको छ । फ्युज इन्जेक्सन (एफआई) इन्जिन भएको एनटर्क स्कुटरको माग अत्यधिक भए पनि उपलब्ध गराउन नसकेको कम्पनीको भनाइ छ ।

बजारमा महँगो मूल्यका प्रिमियम मोटरसाइकल तथा गाडीको माग भने खासै बढेको छैन । इन्ट्री लेबल कारको माग अत्यधिक छ । कोभिड महामारीबाट जोगिन सामाजिक दूरी कायम राख्न पनि लकडाउन खुल्नेबित्तिकै बाइक–स्कुटर र साना गाडीको बिक्री बढेको हो । अझ पछिल्लो समय सेयर बजारमा कमाएको पैसाले गाडी र बाइक खरिद गर्नेहरू बढेका छन् । यही समय बैंक तथा वित्तीय संस्थाहरूले अटोकर्जा ब्याजदर पनि एकल अंकमा झारेका छन् । नेपाल राष्ट्र बैंकले पनि घरजग्गा र अटो क्षेत्रमा फिक्स्ड ब्याजदरको कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । कोभिड इन्स्योरेन्सबाट आएको पैसा पनि बाइक–स्कुटर किन्न प्रयोग भइरहेको व्यवसायीहरूले बताए । 

नयाँ वर्ष नजिकिँदै गर्दा अटो व्यवसायीहरू आकर्षक स्किम ल्याउने तयारीमा छन् । आकर्षक छुट र बम्पर उपहारसहित आउने स्किमले अटोमोबाइलको बिक्रीमा उछाल आउने व्यवसायीको विश्वास छ । फोर्ड विक्रेता गोल्छा भन्छन्, ‘गाडीको माग त अहिले पनि छ, तर बुकिङकर्तालाई समयमा गाडी उपलब्ध गराउन सकिरहेका छैनौँ । नयाँ वर्षसँगै सवारीसाधनको माग अझै बढ्न सक्छ, तर डेलिभरीमा समस्या अझै केही समय रहने देखिन्छ ।’