१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
योगेश भट्टराई, पूर्वमन्त्री
२०७७ फाल्गुण १९ बुधबार ०६:४२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पूर्वमन्त्री भट्टराईद्वारा अग्निपीडितका लागि पाँच लाख सहयोगको घोषणा 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १९ बुधबार ०६:४२:००

विकट हिमाली जिल्ला ताप्लेजुङमा बर्सेनि साना र ठूला आगलागीका घटना भइरहन्छन् । आगलागी नियन्त्रणका लागि पर्याप्त पूर्वतयारी नहुनु, स्थानीयमा सचेतना नहुनुलगायत कारणले ताप्लेजुङ प्रत्येक वर्ष जलिरहन्छ । रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब ५० बढी घर आगलागीका कारण खरानी हुन्छन् । ‘केही ठूला आगलागीका घटना बाहिर आउँछन् । जिल्लाका विभिन्न ठाउँमा आगलागी भइरहन्छ,’ उनी भन्छन्, ‘फाट्ट–फुट्ट आगलागी हुँदा पनि जिल्लामा प्रत्येक वर्ष ५० बढी घर जलिरहेकै हुन्छन् ।’

पूर्वतयारीको नाममा जिल्लामा एउटै मात्र दमकल छ । सदरमुकाम रहेको फुङ्लिङ नगरपालिकाले गत वर्ष एउटा दमकल खरिद गरेको थियो । भौगोलिक विकटताका कारण कतै आगलागी भइहाल्यो भने पनि दमकल पुग्न मुस्किल पर्छ । ‘दमकल सदरमुकाममा हुन्छ । उडाएर लैजान मिलेन । गुडाएर लैजानुपर्‍यो ।

आगो नियन्त्रणका लागि तालिमप्राप्त जनशक्ति पनि सदरमुकाम नै हुन्छ जान समय लाग्छ,’ ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले भनिन्, ‘त्यहाँ पुग्दा ठूलो क्षति भइसकेको हुन्छ । मुख्यतः भौगोलिक विकटताले नै आगो नियन्त्रणमा समस्या देखियो ।’ भौगोलिक विकटताका कारण आगलागी भइहाल्दा पनि उद्धारका लागि मुस्किल भएको उनले बताइन् । 

ताप्लेजुङमा पूर्वतयारीको नाममा एउटा दमकल मात्र रहेको ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराई बताउँछन् । ‘पूर्वतयारी भनेको त साधन स्रोत हो । ताप्लेजुङमा एउटा दमकल मात्र छ । त्यो पनि गत वर्ष मेरो पहलमा आएको हो,’ उनी भन्छन्, ‘मैले आगो नियन्त्रणका लागि एउटा योजनाबारे छलफल पनि गरेँ । सोलुखुम्बुमा सय–सय मिटरको फरकमा पम्पहरू छ । आगो लाग्दा प्रयोग हुन्छ । अरूवेला खानेपानीको रूपमा प्रयोग गर्न सकिन्छ ।’ उनले जिल्लामा अव्यवस्थित बिजुलीका तार, पुराना घरका कारण धेरै आगलागीका घटना भएको बताए । 

ताप्लेजुङमा प्रत्येक वर्ष आगलागीका घटना हुन्छ । जसका कारण बर्सेनि धेरै नागरिक घरबारविहीन हुन्छन् । पूर्वमन्त्री भट्टराईका अनुसार साँघुरो ठाउँमा साना रहेका झुप्रा घरका कारण पनि आगलागीका घटना धेरै हुने गर्छ । ‘घरहरू झुप्रा छन् । खरको छानो भएका, टिनको छानो भएका, काठका पुराना घर छन्,’ भट्टराई भन्छन्, ‘विद्युत्का तार पुराना जमानका छन् सर्ट हुने र आगलागी हुने खतरा उस्तै छ ।’ आगलागीपीडितको सहयोगका लागि नेकपा नेता भट्टराईले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।