१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ फाल्गुण १८ मंगलबार १०:०७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पोस्ट कोभिड सिन्ड्रोम : फलोअप कति आवश्यक ?

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ फाल्गुण १८ मंगलबार १०:०७:००

विश्व स्वास्थ्य संगठनले पनि कोभिड संक्रमण ठीक भएको पछिसम्म यसको असर देखिन सक्ने जनाएको छ,  संगठनले जारी गरेको मार्गदर्शनमा लामो समयसम्म विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिएको छ 

पोस्ट कोभिड सिन्ड्रोम (कोभिड संक्रमणपछि देखिने स्वास्थ्य समस्या)का कारण वीर अस्पतालका एक स्वास्थ्यकर्मीको गत कात्तिकमा मृत्यु भएको थियो । अस्पतालका अनुसार ५० वर्षीय ती स्वास्थ्यकर्मी (प्यारामेडिक्स)मा कोभिड संक्रमण ठीक भएको केही समयपछि फेरि स्वास्थ्य समस्या देखिएपछि अकस्मात् अस्पताल भर्ना भएका थिए । मुटुका दीर्घरोगी उनी कोभिड संक्रमण भएपछि लामो समय अस्पताल बसेका थिए । कोभिड संक्रमणपछि उनमा मुटुरोगमाथि निमोनिया र फ्राइबोसिसको समस्या थपिएको थियो । 

–कोभिड निको भइसकेको दुई महिनापछि स्वास्थ्यमा पुनः समस्या देखिएपछि ४५ वर्षीय एक पुरुष एक सातादेखि नेसनल मेडिकल कलेज, कोभिड अस्पतालको आइसियूमा भर्ना भएका छन् । अस्पतालका अनुसार उनको खकार परीक्षण गर्दा निमोनियाको ब्याक्टेरिया देखिएको थियो । पुनः चेकजाँच गर्दा उनमा गम्भीर प्रकृतिको निमोनिया देखिएको छ । सामान्यतया कोभिड निको भएको १० देखि १५ दिनको अन्तरालमा शरीरमा निमोनियाको लक्षण देखिँदैन । तर, उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि भर्ना नै गर्नु परेको अस्पतालको भनाइ छ । 

यी माथिका प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय पोस्ट कोभिड सिन्ड्रोममा निमोनियासँगै अन्य स्वास्थ्य समस्याहरू पनि देखिन थालेको चिकित्सकहरू बताउँछन् । नेसनल मेडिकलका अनुसार अस्पतालमा उपचार गराइरहेका ५६ वर्षीय अर्का बिरामी पनि निमोनियासँगै क्षयरोगको लक्षण देखिएको छ । उनमा पनि तीन महिनाअघि कोभिड संक्रमण भएको थियो । कोभिड ठीक भइसक्दा पनि स्वास्थ्यमा अन्य समस्या देखिन थालेपछि उनी अस्पताल भर्ना भएका हुन् । हाल उनको निमोनिया र क्षयरोगको उपचार भइरहेको छ । 

संक्रमण दर घट्दै गए पनि अस्पतालहरूमा पछिल्लो समय पोस्ट कोभिडको लक्षण लिएर पुग्नेहरू बढ्दै छन् । संक्रमण निको भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नेहरूमा निमोनिया, क्षयरोग, ब्याक्टेरियल इन्फेक्सन, ब्रोनकाइटिस र धेरैमा मनौवैज्ञानिक प्रभाव देखिन थालेको अस्पतालहरूको तथ्यांकले देखाएको छ । 

डेक्सामेथासोनको प्रभाव
कोभिडका बिरामीको उपचारमा धेरै अस्पतालले डेक्सामेथासोन नामक औषधिको प्रयोग गरेका थिए । चिकित्सकहरूका अनुसार संक्रमणको समयमा प्रयोग गरिएका यस्ता औषधिले बिरामीको इम्युनिटी पावर घटाएको छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजका डा. असरफ हुसेनका अनुसार शरीरमा प्रतिरोधी क्षमता घट्दा अन्य ब्याक्टेरियल इन्फेक्सन र क्षयरोगजस्ता समस्या देखिन थालेका छन् ।

उनी भन्छन्, ‘फलोअपका लागि आउनेहरूमा उच्च रक्तचाप, मधुमेहजस्ता समस्या देखिएको छ । यस्तै कतिपयमा लक्षण नदेखिए पनि फोक्सोमा फाइब्रोसिसको समस्या देखिन थालेको छ ।’ कोभिड पूर्ण निको भएकाहरूमा तत्काल समस्या नदेखिए पनि पछिसम्म समस्याको जोखिम रहने उनको भनाइ छ । यसकारण कोभिड ठीक भइसकेका बिरामीले नियमित फलोअपमा रहनुपर्ने उनको सुझाब छ ।

ठूला अस्पतालमा कति छन्  कोभिडका बिरामी ?
देशका ठूला अस्पतालहरूमा पछिल्लो समय कोभिडका बिरामी न्यून हुँदै गइरहेका छन् । कोभिडको उपचार हुने ठूला अस्पतालहरू जस्तै, शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सेती अस्पताल, भेरी अस्पताल, नेसनल कलेजलगायतमा तीनदेखि ७ जनासम्मको उपचार भइरहेको छ । वीर अस्पतालका डाइरेक्टर डा. केदार सेन्चुरीका अनुसार पोस्ट कोभिड सिन्ड्रोमका कारण गम्भीर समस्या देखिएका केसहरू कम भए पनि अन्य स्वास्थ्य समस्या लिएर आउनेहरू भने बढिरहेका छन् । 

के हो पोस्ट कोभिड ? 
लक्षणविनाका कोभिड संक्रमितहरू केही समयको उपचारपछि ठीक हुने गरेका छन् । तर, लक्षणसहित कोभिड संक्रमण भएका बिरामीमा भने निको हुन लामो समय लाग्ने गरेको छ । कोभिड निको भइसकेको केही समयपछि पनि पुनः स्वास्थ्य समस्या देखिनुलाई पोस्ट कोभिड सिन्ड्रोम भनिन्छ । 

पोस्ट कोभिड निमोनिया
शुक्रराज ट्रपिकल अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाका अनुसार पोस्ट कोभिड सिन्ड्रोमको समस्या लिएर दिनहुँजसो अस्पतालमा बिरामी आउने गरेका छन् । उनी भन्छन्, ‘फलोअपका लागि अस्पताल पुग्नेहरू निकै नै छन् । अधिकांश यस्ता बिरामीले खोकी लागिरहने, श्वासप्रश्वासमा समस्या हुने, महिनौँसम्म स्वाद थाहा नपाउने वा एक प्रकारको गन्ध नियमित महसुस गरिरहको बताएका छन् ।’ अस्पतालहरूको तथ्यांकअनुसार सिन्ड्रोमका कारण मृत्यु नै भएका उदाहरण कम भए पनि समस्या लिएर अस्पतालसम्म पुग्नेहरू बढिरहेका छन् ।’ 

यसकारण फलोअप आवश्यक
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि कोभिड संक्रमण ठीक भएको पछिसम्म यसको असर देखिन सक्ने जनाएको छ । संगठनले जारी गरेको मार्गदर्शनमा लामो समयसम्म विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिएको छ । 
डब्लुएचओको अध्ययनअनुसार दीर्घरोग भएका कोभिड संक्रमितहरूमा यो जोखिम अझै बढी छ । यसकारण सामान्य स्वास्थ्य समस्या देखिए पनि फलोअपका लागि अस्पताल जान सुझाब छ । डा. अनुप बास्तोलाले पनि सामान्य समस्या भनेर बेवास्ता नगर्न सुझाब दिन्छन् । पोस्ट कोभिड सिन्ड्रोमले गम्भीर समस्या पनि निम्त्याउन सक्ने उनको भनाइ छ ।