१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण १८ मंगलबार ०६:५१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशन : अन्तिम विकल्प भन्दै बदलिएको कार्यतालिका पनि मिचियो

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण सक्ने म्याद सकिन अब १० दिन मात्रै बाँकी

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण १८ मंगलबार ०६:५१:००

१० र ११ साउनमा प्रदेश अधिवेशन र ७–१० भदौमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको नयाँ कार्यतालिका

अन्तिम विकल्पका रूपमा बदलिएको कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिकासमेत मिच्ने क्रम सुरु भएको छ । १५ फागुनभित्र सिन्धुपाल्चोक, बारा र सप्तरीको समायोजन सक्ने कार्यतालिका बनाइएको भए पनि पूरा भएन । ती जिल्लाले अझै सदस्यता फाराम पाएका छैनन् । नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण सक्ने म्याद सकिन अब १० दिन मात्रै छ । जब कि संगठन समायोजनमा उत्पन्न विवादका कारण ती जिल्लामा सदस्यता फाराम रोकिएको छ ।

संघीय संरचनाअनुसार कांग्रेसले साबिकका कार्यसमितिलाई वडा, पालिका र प्रदेशस्तरीय समितिमा समायोजन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिएको थियो । तर, समितिले ७४ जिल्लामा मात्रै समायोजन सकेको छ । बाँकी रहेका जिल्लामा समेत विवादको समाधान गरी समायोजन टुंग्याउने कार्य भइरहेको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताए । ‘७४ जिल्लाको काम पहिल्यै सकिएको हो । बाँकी जिल्लाको काम पनि हामीले गरिरहेका छौँ । बारा र सप्तरीमा साथीहरूले स्थलगत रूपमै काम गरेर फर्किनुभएको छ,’ अधिकारीले भने, ‘अब सिन्धुपाल्चोकमा पनि टोली नै पठाएर विवादको समाधान गर्छौँ ।’ 

महाधिवेशनको कार्यतालिकाबमोजिम समायोजन सक्नुपर्ने भए पनि जिल्लाका कांग्रेस नेताहरू गुटगत रूपमा विभाजित भएपछि निर्वाचन समितिलाई विवाद मिलाउन सकस परेको हो । ‘पहिल्यै सक्नुपर्ने हो, तर यसमा हामीले मात्रै गरेर हुने कुरा रहेन । नेता र नेतृत्वको सहमतिको कुरा पनि आउँछ । तर, यसपटक विवादको समाधान गर्छौँ । अब करिब एक सातामा समायोजनका काम सकिन्छन्,’ उनले भने । 

तर, जिल्ला सभापतिहरूले भने केन्द्रले गुटका आधारमा समायोजन गर्न खोज्दा समस्या आएको गुनासो गर्छन् । सिन्धुपाल्चोकका सभापति विकास लामाले महाधिवेशनको कार्यतालिकाबमोजिम वडा र पालिकाले क्रियाशीलको विवरण बुझाउन म्याद गुज्रिसक्दा पनि फाराम नै नपाएको गुनासो गरे । ‘हाम्रो जिल्लाबाट पठाएको फाइल अझै खोलेको छैन । यसमा नेतृत्वकै हात छ । मलाई लाग्छ, यो कार्यतालिका पनि महाधिवेशन गर्ने गरी ल्याइएको होइन,’ लामाले भने । 

६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले बनाएको १४औँ महाधिवेशनको कार्यतालिकाबमोजिम २८ फागुनभित्र सबै जिल्ला र क्षेत्रीय समितिले क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्छ । जसअन्तर्गत १२ फागुनभित्र वडा कार्यसमितिले पालिका कार्यसमितिलाई र १६ फागुनभित्र पालिका कार्यसमितिले प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई क्रियाशीलको विवरण बुझाइसक्नुपर्ने हुन्छ । तर, समायोजन नसकिएका तीन जिल्लाले सदस्यताको फाराम नै नपाएका कारण यो काम गरेका छैनन् । अरू करिब २५ वटा जिल्लाले पनि यी काम सकेका छैनन् । 

सभापति देउवानिकट केन्द्रीय सदस्य सीता गुरुङ अब सानातिना समस्याका कारण महाधिवेशनको मिति प्रभावित नहुने बताउँछिन् । ‘अब अधिवेशन नगरी उपाय नै छैन । केन्द्रीय समितिले बनाएको कार्यतालिकाबमोजिम काम गर्नैपर्छ । कम्तीमा ६५ प्रतिशत जिल्लामा काम सकियो भने पनि महाधिवेशनका लागि कुनै बाधा पर्दैन । केन्द्रीय समितिले तोकेको मितिमा क्रियाशीलको काम नसके भाग लिन नपाउने निर्णय गरिसकेको छ,’ गुरुङले नयाँ पत्रिकासँग भनिन् । 


कांग्रेसले आफ्नो विधानबमोजिम पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि ६ फागुनमा बसेको केन्द्रीय समिति बैठकबाट संविधानको विशेष व्यवस्थाको प्रयोग गर्दै विधान संशोधन गरेको ६ महिना म्याद थप गरेको थियो । त्यही संशोधनलाई आधार मानेर कांग्रेसले १४औँ महाधिवेशनको नयाँ कार्यतालिका बनाएको हो ।

जसअनुसार ५ असारमा वडा, ७ असारमा गाउँ, नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।साउन १० र ११ गते प्रदेश अधिवेशन र भदौको ७, ८, ९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ । 

४८ जिल्लाबाट हुँदै  छ क्रियाशील अपडेट
कांग्रेसले वडा कार्यसमितिको अधिवेशन आगामी ५ असारका लागि तोकेको छ । त्यसका लागि १७ जेठभित्र क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने कार्यतालिका छ । किनकि क्रियाशील सदस्य नै वडा तहका मतदाता हुन् । तर, क्रियाशील वितरण र नवीकरणमै ढिलाइ भएपछि त्यसको प्रत्यक्ष प्रभाव यो मितिमा पर्ने निश्चित छ । 

कांग्रेसमा साधारण र क्रियाशील गरी दुई थरी सदस्यता दिने व्यवस्था छ । साधारण सदस्यता जो कोहीले पाउन सक्छन् । तर, क्रियाशील सदस्यताका लागि भने विधानले छुट्टै मापदण्ड तोकेको छ । विधानको दफा ५ को उपदफा ६ मा बर्र्सेनि नवीकरण र महाधिवेशन हुनुभन्दा ६ महिनाअघि सदस्यता वितरण बन्द गर्नुपर्ने व्यवस्था छ । तर, १३औँ महाधिवेशनमा सदस्यता वितरण र नवीकरण गरेको कांग्रेस एकैपटक १४औँ महाधिवेशनको मुखमा यो काम गर्दै छ । 

कांग्रेसमा हाल करिब पाँच लाख क्रियाशील सदस्य छन् । १४औँ महाधिवेशनमा हाल भएकै जति क्रियाशील सदस्यता थप्ने केन्द्रीय समितिको निर्णय छ । त्यसमा अन्य पार्टीबाट समायोजन भएर आउने र १३औँ महाधिवेशनमा विवाद भएर रोकिएका ५० हजारसमेत जोडिँदा क्रियाशील सदस्यको संख्या करिब ११ लाख पुग्नेछ ।

यसपटक सदस्यहरूको अभिलेख अनलाइनमा तयार गर्न लागेको कांग्रेसले १० चैतभित्र नामावली प्रकाशित गर्ने कार्यतालिका तोकेको छ । तर, सोमबारसम्म दुई लाखजना सदस्यको विवरण मात्रै अनलाइनमा अपडेट भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘अहिले जिल्लाबाटै क्रियाशीलको विवरण अपडेट भइरहेको छ । ४८ जिल्लाबाट करिब दुई लाखजना सदस्यको विवरण अपडेट भएको छ,’ पौडेलले भने ।

कांग्रेसले सदस्यताको कामलाई गति दिन र उजुरीमाथि छानबिन गर्न क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गरेको छ । समितिले अहिले आफ्नै समितिको कार्यविधि बनाउनेबाहेक अरू काम गरेको छैन । ‘७७ वटै जिल्ला र क्षेत्रीय समितिले क्रियाशीलको विवरण अपडेट गर्ने काम भइरहेको छ, नभएका ठाउँमा ताकेता गर्न समितिले निर्णय गरेर प्रतिनिधि पठाउने तयारी गरेका छौँ,’ छानबिन समितिको सदस्य रहेका केन्द्रीय सदस्य जीवन परियारले भने । 

विगतमा केन्द्रीय सभापतिले मात्रै क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसमा अहिले नयाँ विधानले जिल्ला सभापतिले नै सदस्यता दिने व्यवस्था गरेको छ । सोअनुसार जिल्लाभित्रको सदस्यता नवीकरण र वितरणको सूचीमा जिल्लाकै सदस्यता छानबिन समितिले छानबिन गरेर केन्द्रमा पठाउँछन् । जिल्लाले तयार गरेको सूचीमा समेत विवाद आएमा पुनरावेदनका लागि केन्द्रीय छानबिन समिति बनेकाले धेरै समस्या नआउने अपेक्षा समितिको छ । कांग्रेसले छानबिन समितिलाई १७ जेठभित्र अन्तिम नामावली बुझाउनुपर्ने कार्यादेश दिएको छ ।