मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण १७ सोमबार १०:१०:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर

नयाँ क्षेत्रफल प्रश्नको घेरामा, आठ वर्षमा १५ सय ४५ रोपनी क्षेत्रफल घटेको केही विज्ञको दाबी

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण १७ सोमबार १०:१०:००

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलनमार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ । 

जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल संयोजकत्वको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले दिएको प्रतिवेदनलाई आधार मान्दै मन्त्रिपरिषद्ले तालको क्षेत्रफल निर्धारण गरेको हो । तर, सार्वजनिक गरिएको क्षेत्रफलको विषयलाई लिएर सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।

फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले १६ वैशाख ०७५ मा दिएको फैसलाअनुसार नक्सांकनको काम त्यसको ६ महिनाभित्र सक्नुपर्ने थियो । तर, दुई वर्ष १० महिनापछि मात्र फैसला कार्यान्वयन भएको छ । त्यो पनि सुरुमै विवादमा परेको छ । 

यही ५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर (११,२५५ रोपनी ११ आना १ पैसा) कायम गर्ने निर्णय गरेको थियो । सो निर्णयले तालको वास्तविक क्षेत्रफल खुम्चिएको ताल अतिक्रमणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका अधिवक्ता खगेन्द्र सुवेदीले बताए । अतिक्रमणकारीको दबाब र प्रभावमा सरकार परेको उनको टिप्पणी छ । विगतमा तालको बाँध भत्किएको र त्यसको केही समयपछि मापन गरिएको क्षेत्रफललाई आधार मानेकाले त्यो मान्य नहुने उनले बताए । सोमबार फैसला कार्यान्वयन नगरेका विषयमा परेको अवहेलना मुद्दाको पेसी तोकिएकाले त्यहाँ यस विषय प्रवेश गराइने अधिवक्ता सुवेदीले नयाँ पत्रिकालाई बताए । 

क्षेत्रफल खुम्च्याइँदा अचम्मित छु : विश्वप्रकाश लामिछाने 
पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले गरेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल १२ हजार आठ सय ७४ रोपनी (६.५४ वर्गकिलोमिटर) थियो । ०६९ जेठमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई त्यो प्रतिवेदन बुझाइएको थियो । लामिछानेका अनुसार १२ हजार आठ सय ७४ रोपनीमध्ये नौ हजार नौ सय ५५ रोपनी भने पानीले ढाकेको क्षेत्रफल थियो ।

अहिले लामिछाने प्रतिवेदनले औँल्याएभन्दा १५ सय ४५ रोपनी क्षेत्रफल खुम्चिएको छ । सरकारका आधिकारिक विज्ञबाट नै नापिएको उक्त जमिन अहिले घटेको पाउँदा आफू अचम्मित भएको लामिछानेले प्रतिक्रिया दिए । ‘तालको जमिन नक्साको फोटो खिचेजस्तो हो ।

व्यक्तिविशेषले कतै बसेर सर्भे गरेका दुई सय ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइका कित्ता छन् । त्यस्ता कित्तालाई खारेज गर्ने कि वैधानिकता दिने, प्रश्न यहाँनेर हो,’ उनले भने, ‘नापी विभागका आधिकारिक मानिस बोलाएर नापिएको जमिन अहिले किन घट्यो भनेर शंका गर्ने ठाउँ देखियो । कि त्यतिवेलाका प्राविधिक आधिकारिक होइनन् भन्नुप¥यो, होइन भने यसको चित्तबुझ्दो आधार देखिएन ।’ 

पूर्वअध्यक्ष लामिछानेले ‘विगतमा झन्डै २२ हजार रोपनी रहेको तालको क्षेत्रफल अहिले कति विस्तार गर्ने भन्ने सवाल पनि हो’ भनेका छन् । उनले वार्षिक एक लाख ४२ हजार मेट्रिकटन ढुंगा र माटो तालमा आउने र चौरमा परिणत हुने गरेको तथ्यलाई बिर्सिइएको टिप्पणी गरे । ‘नभए त्यसरी ताल पुरिएर चौरमा परिणत भएको जमिन के भयो ?’ उनले सोधेका छन् ।
 संयोजक पौडेल भन्छन्– तलमाथि भएको छैन
फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन गर्न तथा फेवातालको दीर्घकालीन संरक्षण तथा समुचित प्रयोग गर्न सुझाबसमेत दिन गठित समितिका संयोजक पुण्यप्रसाद पौडेलले आफूहरूले तथ्यमा टेकेरै क्षेत्रफल निर्धारण गरेको बताए । उनले यसका लागि पाँचवटा बहुआधार लिएको र इतिहासमा यहाँभन्दा ठूलो ताल थिएन भन्ने निष्कर्षसमेत निकालेको सुनाए । ‘हामीले पाँच आधारमा टेकेर यो प्रतिवेदन दिएका हौँ । विगतमा कुनै पनि सरकारी आधिकारिक नक्सा थिएन । विगतका प्रतिवेदनसमेत हामीले हेरेका छौँ ।

पहिलो आधार फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल हो । दोस्रो आधार फेवातालका हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण हो । तेस्रो आधार तालवरपर रहेका जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकसँगको अन्तत्र्रिmया हो । चौथो आधार फेवातालमा मिसिन आउने खोलाहरूको अवस्थिति र आकार हो । र, पाँचौँ आधार इलेक्ट्रिकल रेसिसटिभिटी टोमोग्राफी अध्ययन हो,’ उनले भने । संयोजक पौडेलले विगतमा भनिएजस्तो २२ हजार रोपनीमा ताल कहिल्यै नफैलिएको जिकिर गरे । ‘भन्नलाई भनिएजस्तो विगतमा २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको भनियो, तर यसलाई पुष्टि गर्ने कुनै आधार देखिन्न,’ उनले भने ।

 प्रदेश सरकार र पोखरा महानगर उत्साही
फेवातालको चार किल्ला निर्धारण भएकामा गण्डकी प्रदेश र पोखरा महानगरपालिका उत्साही देखिएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवाताललाई प्राथमिकतामा राखेर प्रदेश सरकारले संरक्षणको ऐतिहासिक कदम चालेको बताए । ‘मुख्य कुरा फेवातालको संरक्षण हो, हामीले संरक्षणको पाइला चालेका छौँ,’ मुख्यमन्त्री गुरुङले भने, ‘फेवातालको चार किल्ला निर्धारण भएसँगै अब संरक्षणको ढोका खुलेको छ ।’

मुख्यमन्त्री गुरुङले निर्धारित तीन महिनाभित्र नै पौडेल नेतृत्वको समितिले उत्साहजनक काम गरेको भन्दै अब बाँकी काम पनि भटाभट हुने अपेक्षा राखे । पोखरा महानगरका मेयर मानबहादुर जिसीले छिट्टै तालको मापदण्ड निर्धारण गर्ने जानकारी दिए । यसअघि लामिछाने आयोगले तालको किनारादेखि ६५ मिटरआसपासमा निजी वा व्यावसायिक संरचना नदिन र अहिले भएको संरचना हटाउन सिफारिस गरेको थियो । 

नगरप्रमुख जिसीले परापूर्वकालदेखि बस्दै आएकालाई उचित मुआब्जा दिएर हटाउने र ०३४ यता दर्ता भएका जग्गा खारेज गर्ने बताए । उनले तालको मापदण्डभित्र परेका निजी तथा व्यावसायिक संरचना हटाउने तयारी गरेको जानकारी दिए ।

पोखरा महानगरले पनि यसअघि फेवातालबारे अध्ययन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई २९ भदौमा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा हजार रोपनीभन्दा बढी जमिन तालको नाममा ल्याउनुपर्ने र पाँच सयभन्दा बढी निजी तथा व्यावसायिक संरचना भत्काउनुपर्ने उल्लेख गरिएको थियो । यसका लागि तीन चरणमा गरेर १० अर्बदेखि ३६ अर्बसम्म मुआब्जा दिनुपर्ने उल्लेख गरेको जिसीले बताए । उनले पत्रकार भेटघाटमा भने, ‘तालको मापदण्डका नाममा पुस्तौँदेखि बस्दै आएकालाई उठीवास लगाउन भएन । उहाँहरूलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।’ 

यस्तो छ विगतका अध्ययन
विभिन्न अध्ययन–प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोकिँदै आएको थियो । यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले गरेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल १२ हजार आठ सय ७४ रोपनी (६.५४ वर्गकिलोमिटर) तोकिएको थियो ।

०६९ जेठमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई त्यो प्रतिवेदन बुझाइएको थियो । लामिछानेका अनुसार १२ हजार आठ सय ७४ रोपनीमध्ये नौ हजार नौ सय ५५ रोपनी भने पानीले ढाकेको क्षेत्रफल थियो । ०३८ मा युएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ११ हजार चार सय रोपनी (५.८ वर्गकिलोमिटर) तोकेको थियो । तालको क्षेत्रफल ०१८ मा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल ०३१ मा ६, ०३८ मा ५.८ र ०६९ मा ५.०६ वर्गकिलोमिटर (पानीको मात्रा) उल्लेख थियो । अहिले मापन गरेको क्षेत्रफल ०३८ को भन्दा पनि थोरै छ ।