मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १८:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भयो : सुवास नेम्वाङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १८:३२:००

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूहनिकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले संसद् विघटन हुँदा कामचलाउ भएका ओली पुनर्स्थापना पछि दह्रो भएको बताएका हुन् । 

प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी उनको छ । उनले भने ‘हिजो पुनर्स्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के–के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन यो ठीक होइन भनिराथ्यौँ । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद् पुनर्स्थापित भयो, प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासलगायतका कुरा के छ स्थिति मैले तपाईंहरूलाई बताइसकेँ, उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’ 

प्रतिनिधिसभा पुनर्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत भएको बताउने गरेको पनि उनले बताए । तर, अहिले पुनर्स्थापित भएपछि फेरि संसद्मा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको नेम्वाङले बताए । उनले भने ‘पुनर्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्रीले भन्नुभएको थियो जनतामा जाने मेरो निर्णय लोकतन्त्रसम्मत छ, कानुनसम्मत छ । सर्वोच्चले त्यसै गर्छ भन्ने मेरो विश्वास छ । उहाँले भनिराख्नु भएको थियो, तर पुनर्स्थापित भइदिँदा अब हामी संसद्मा फेरि फर्किएका छौँ । स्थिति भनेको यो हो । पुनर्स्थापित गर्ने साथीहरूले के सोच्नुभयो थाहा छैन । तर, यसले त प्रधानमन्त्री केपी ओलीलाई र हाम्रो पार्टीका बारेमा चिन्ता गर्नुपर्ने कुनै कुरै छैन । ’

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेम्वाङले बताए । 

उनले कानुनी रूपमा नेकपा विभाजन भइनसकेको पनि बताए । अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको नेम्वाङको भनाइ छ । ‘हामीले भनिराखेका छौँ । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौँ । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौँ । त्यसैले हामीले भनेका छौँ हामी एकताको पक्षमा छौँ ।’