१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण १५ शनिबार ०७:१२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सातदोबाटोलाई तीन अंकको अग्रता

लिगमा बाँकी चार खेलमा आफ्नो अग्रता जोगाउन सके सातदोबाटो ए डिभिजनमा बढुवा हुनेछ 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १५ शनिबार ०७:१२:००

सातदोबाटो युथ क्लबले शीर्ष ए डिभिजनमा बढुवा हुने सम्भावना बलियो बनाएको छ । सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत शुक्रबार भएको महत्वपूर्ण खेलमा खुमलटार युथ क्लबलाई ३–२ गोलले पराजित गर्दै सातदोबाटोले बढुवा सम्भावना बलियो बनाएको हो । 

यससँगै सातदोबाटोले दोस्रो स्थानको खुमलटारलाई तीन अंकले पछि धकेल्दै शीर्ष स्थानमा एक्लो अग्रता कायम गरेको छ । लिगमा सातदोबाटोले अझै चार खेल खेल्न बाँकी छ । बाँकी खेलमा आफ्नो अग्रता जोगाउन सकेको अवस्थामा सातदोबाटो ए डिभिजनमा बढुवा हुनेछ । 

जारी प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोली ए डिभिजनमा बढुवा हुनेछ । त्यससँगै सो टोलीले ए डिभिजनको प्रतियोगिता खेल्नेछ । १२ टोली सहभागी रहेको प्रतियोगिताको पुछारको एक टोली सी डिभिजनमा घटुवा हुनेछ । सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टोलीबीचको प्रतिस्पर्धा निक्कै रोमाञ्चक रह्यो । खेलमा सातदोबाटोले सुरुवातमै १–० को अग्रता बनाएको थियो । 

त्यो अवस्थाबाट खुमलटारले फेरि २–१ को अग्रता बनाएको थियो । यद्यपि, त्यसपछि थप दुई गोल थप्दै सातदोबाटोले महत्वपूर्ण जित आत्मसात् गरेको हो । खेलमा सातदोबाटोले १०औँ मिनेटमै १–० को अग्रता लिएको थियो । खुमलटारका सनिषकुमार नेपालीले भुवन बस्नेतलाई डी बक्सभित्र फल गरेपछि सातदोबाटोले पेनाल्टी अवसर पाएको थियो । दोर्जे तामाङले पेनाल्टी अवसर सदुपयोग गर्दै सातदोबाटोलाई अघि बढाएका थिए । 

यद्यपि, त्यसपछि लगातार दुई गोल गर्दै खुमलटार खेलमा फर्कियो । खेलको २६औँ मिनेटमा सबिन केसीले फ्री किकमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा फर्काए । दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै रक्षक आदिल हमिदले खुमलटारलाई २–१ को अग्रता दिलाए । सातदोबाटोका गोलरक्षक सनम राईले बललाई आफ्नो हातबाट फुत्काएपछि आदिलले हेडिङ गोल गरेका थिए । 

यद्यपि, खुमलटारको यो अग्रता लामो समय रहेन । खेलको ६१औँ मिनेटमा आशिष राई र ७४औँ मिनेटमा भुवन बस्नेतले गोल गर्दै सातदोबाटोलाई महत्वपूर्ण तीन अंक दिलाए । खेलको अन्तिम समय रेफ्रीसँग वादविवादमा उत्रिएपछि खुमलटारका प्रशिक्षक राजेश शाहीले रातो कार्ड पाएका थिए । त्योसँगै खुमलटारको टच लाइन केही समय तनावग्रस्त बनेको थियो ।

टोलीको महत्वपूर्ण जितपछि सातदोबाटोका प्रशिक्षक सनोज श्रेष्ठले खेलाडीको मिहिनेतका कारण जित सम्भव भएको प्रतिक्रिया दिए । ‘लिगमा अझै चार खेल खेल्न बाँकी छ । आजको यो जितको नतिजाले खेलाडीहरूमा आगामी खेलका लागि पनि मनोबल उच्च हुनेछ,’ उनी भन्छन्, ‘आजको खेल साच्चिकै फाइनलजस्तै रह्यो । यो हाम्रा लागि निक्कै महत्वपूर्ण जित पनि रह्यो ।’

खुमलटारका सहायक प्रशिक्षक विनोद डंगोलले पराजयका बाबजुद पराजय व्यहोर्नुपरेको बताए । ‘आज हामीले राम्रो खेलेका हौँ । खेलाडीको प्रदर्शनमा सन्तुष्ट नै छु,’ उनले भने, ‘हामीले यस्तो अवस्थामा गोल खायौँ कि त्यसले हाम्रो योजना नै असफल बनिदियो ।’ उनले अझै खेल बाँकी रहेकाले आफ्नो टोलीको बढुवा सम्भवाना बाँकी नै रहेको बताए ।

यसैगरी शुक्रबारै सम्पन्न अर्को खेलमा मध्यपुर युथ क्लबले लिगमा पहिलो जित दर्ता गरेको छ । मध्यपुरले टुसाल युथ क्लबलाई २–० ले हरायो । मध्यपुरको जितमा धीरज श्रेष्ठले खेलको २३औँ मिनेटमा र कैलाश लामिछानेले ६०औँ मिनेटमा एक–एक गोल गरेका थिए । मध्यपुर चार अंकका साथ लिगको ११औँ स्थानमा उक्लेको छ । टुसाल आठ अंकका साथ सातौँ स्थानमा छ । मध्यपुर र टुसालले समान सात खेल खेलेका छन् ।