मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण १४ शुक्रबार १०:२५:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

विपिन र शरच्चन्द्र लिएर फर्किए सुनील

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण १४ शुक्रबार १०:२५:००

अभिनेता विपिन कार्कीले रंगमञ्चमा पाइला नराखेको तीन वर्ष भयो । पर्दामा मात्रै देखिएको पनि तीनै वर्ष भइसक्यो । योबीचमा उनी कहिले सिनेमाका पर्दामा देखिए त कहिले मोबाइलका स्क्रिनमा । कहिले चलचित्रमा त कहिले म्युजिक भिडियोमा । यसैगरी घडीले चक्कर लगाउँदै गयो, कार्कीले चलचित्र र म्युजिक भिडियोमा चक्कर लगाउँदै गए, त्यतै घुमिरहे । 

तीन वर्षअघि लेखक उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’ कथा संग्रहभित्रको एक कथामा नाटक मञ्चन भएको थियो । भुटानी शरणार्थीको यो कथालाई नाट्य रूपान्तरण रंगकर्मी सुनील पोखरेलले गरेका थिए । त्यसैमा अन्तिमपटक अभिनय गरेका थिए कार्कीले शिल्पी थिएटर, बत्तीसपुतलीमा । 

रंगमञ्चबाटै उदाएका कार्की रंगमञ्चमै नदेखिएका वेला समाचार आयो, ‘विपिनले लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटकमा अभिनय गर्दै छन् ।’ यो खबरले कार्कीको रंगमञ्चीय अभिनयका पारखी उत्साही भए । तर, त्यो उत्साह धेरै दिन टिकेन । केही दिनको रिहर्सलपछि व्यस्तताका कारण उनले नाटक छाड्नुपर्ने भयो । ‘समय नै त्यस्तै भयो । नाटक र चलचित्रबीचको समय मिलेन,’ कार्की सुनाउँछन् । 

समयले कार्कीको प्राथमिकता फेरिदियो । समयान्तरमा उनको दैनिकी पनि फेरियो । ठूलो क्यानभासको ठूलो दुनियाँमा अभ्यस्त भए । तर, नाटकसँगको रस पनि सकिइसकेको रहेनछ । हतारहतारमा सुनाउँछन्, ‘चलचित्रलाई सरक्क छाडेर आउने कुरा पनि भएन । समय मिल्नुपर्‍यो । नाटक खेल्छु भनेर पनि भएन । टिम हुनुपर्‍यो । खासमा नजुरेको हो ।’

नाटकसँग नचाहेरै दूरी बनेको छ उनको । अहिले त मीठो सम्झना बनेको छ, विपिन स्विकार्छन् पनि । नाटकका न्याना अनुभूति छुटेका छन् । नाटकमा ब्याक स्टेजमा धेरै घटना हुन्छन्, जो दर्शकलाई थाहै हुँदैन । कलाकारभित्रै छुपेका हुन्छन्, तर मीठा हुन्छन् ।

नाटक सुरु भएपछि एकदमै हतारो हुन्छ कलाकारलाई । बाहिर दर्शकले हेर्न हतार गर्ने स्टेजमा आइपुग्न कलाकारले गर्ने हतारोको फेहरिस्त लामै हुन्छ । कलाकारले ड्रेस लगाउन भ्याइरहेका हुँदैनन् । एउटा संवाद मात्रै बिर्सिए बित्यास हुन्छ । विपिन नोस्टलजिक हुन्छन्, ‘संवाद बिर्सियो भने त बित्यासै हुन्छ । त्यो डरबीचमा काम गर्नुपर्छ । नाटकको मजै त्यही हो । त्यही अनुभूतिलाई खुब मिस गर्छु म ।’ 

‘मिस’ मात्रै होइन, ‘रिकल’ गर्न चाहन्छन् विपिन त्यो अनुभूतिलाई । जसका लागि मियोको काम सुनील पोखरेलले गरेका छन् । भाषाविद् शरच्चन्द्र वस्तीको पत्रिकामा छापिएका १२ वटा लेखहरूलाई समेटेर नाट्य रूपान्तरण गरेका छन्, ‘अर्को अर्थ नलागेमा’ ।

१८ फागुनबाट मञ्चन पनि हुँदै छ, मण्डला थिएटरमा । यही नाटकमार्फत विपिन ती स्मृतिहरूलाई रिकल गर्दै छन् । ‘म त एकदमै उत्साही छु । काम कस्तो होला भनेर अत्यासलाग्दो डर पनि छ,’ उत्साही हुँदै विपिन बोल्छन्, ‘जे जे मैले यो तीन वर्षमा गुमाएको छु, त्यसको सावाँ–ब्याज सबै लिएर काम गरौँ भन्ने लागिरहेको छ ।’

सामान्यतया चलचित्रको स्वभाव हो, ४०–४५ दिन सुटिङ सकिएपछि काम सकियो । दर्शक पर्दामा रेकर्डेड अभिनय हेर्छन्, रमाउँछन् । तर, नाटकमा भने हरेक दिन अभिनय, हरेक दिन दर्शक र हरेक दिन चुनौती । यही कुरालाई पुनः सम्झन र चुनौती मोल्न पनि थिएटरमा आउन लागेको कार्कीको स्विकारोक्ति छ ।

भाषाविद् शरच्चन्द्र वस्तीले गोरखापत्रमा ३२–३३ वर्षअघि ‘अर्को अर्थ नलागेमा’ नामक स्तम्भ लेख्थे । त्यसवेला पाठकले निकै रुचाइदिएको मीठो अनुभूति शरच्चन्द्रसँग अहिले पनि ताजै छ । पछिल्लो समयमा पनि उनी कान्तिपुर दैनिकमा लेखिरहेका छन् । तर, स्तम्भलाई लिएर उनको अनुभव छ, ‘स्तम्भ निश्चित सीमाभित्र रहेर गर्ने काम हो । निश्चित शब्दमा लेख्नुपर्छ । अखबारी लेखनमा त्यो सीमा चाहिन्छ । समयमा पनि सकाउनैपर्छ ।’ 

उनले आफूले देखेको विषय स्तम्भमा लेख्दै गए । पत्रकारिता पनि गर्दै गए । तर, पत्रकारितामा हास्यव्यंंग्य भएन भने भाषा शुष्क हुँदै जाने उनको अनुभव छ । ‘अहिले पत्रकारिताको भाषा एकदमै शुष्क र असाध्यै औपचारिक हुँदै गएको छ । व्यंग्य छैन, यसले भाषालाई लचिलो बनाइदिन्छ,’ वस्ती सुनाउँछन् । उनै वस्तीका लेखहरू समेटेर नाटक मञ्चन हुँदै छ । आफूले आफ्नो पाराले लेखेको र पोखरेलले आफ्नो पाराले नाट्यकरण गरेको बताउँछन् । ‘नाटक बन्ने भनेपछि प्रतिक्रिया राम्रै आएको छ । लेखहरू नाटकको रूपमा आउन लाग्दा खुसीको कुरा हो,’ उनी सुनाउँछन् । 

भाषाविद्का लेखहरू, जसलाई नाटकका रूपमा मञ्चन गर्ने चुनौती मोलिरहेका छन् सुनील पोखरेल । पोखरेलले नयाँ नाटक गर्न लेखहरू रोजे । हुन त उनले पुस्तकलाई लिएर थुप्रै नाटक गरिसकेका छन् । इन्द्रबहादुर राई, सञ्जीव उप्रेती, उपेन्द्र सुब्बाहरूका सिर्जनामा नाटक बनाएका छन् । यसपटक भने पत्रिकामा छापिएका लेखहरूलाई रोजे । 

तर, चार दशक रंगमञ्चमा बिताइसकेका रंगकर्मीका लागि नयाँ नाटक खोज्न पत्रिकाका लेख चहार्नुपर्‍यो । नाटकको कथा लेखहरूमा भेटे । ‘मैले यसो गर्नुमा नाटककै अभाव हो । साथै जुन समयमाथि नाटक बनाउने सोचिरहेको थिएँ, त्यो लेखमा भेटेँ । म चाहन्थेँ, नाटकले समकालीन समय बोलोस्,’ स्पष्टीकरण दिन्छन् पोखरेल । तर, पोखरेललाई समस्या छ, कलाकारहरूले शुद्ध भाषामा बोलिदिएका छैनन् । विविध मातृभाषीका कलाकार भएर पनि होला । भाषाविद्कै नाटकमा कलाकारले शुद्ध नबोलिदिँदा पछि लेखकको गाली खाइएला कि भन्ने डर पैदा भएको सुनाउँछन् पोखरेल ।

पोखरेलले यस नाटकको सम्पादन मात्रै गरेका छन् । नाटकमा १० जना नयाँ निर्देशक छन्, जसले टुक्राटुक्रामा निर्देशन गरेका छन् । ‘सबैले पिसपिस तयार गरे, त्यसलाई मैले संयोजन मात्रै गरेको हो,’ यसो गर्नुको कारण खोल्छन् पोखरेल, ‘सबै मान्छेको समय हुन्छ । मेरो पनि रिटायर्ड हुने समय हुन्छ । नयाँ मान्छेलाई ठाउँ दिनुपर्छ, हामीले नै दिने हो । बिस्तारै स्पेस छाड्दै जानुपर्छ । नयाँ भाइबहिनी, नयाँ ऊर्जा र आइडिया आउनुपर्छ ।’ 

१८ फागुनमा मञ्चन हुन लागेको पोखरेलको नाटकले गत वर्ष एकेडेमीमा मञ्चन भएको नाटक पनि सम्झाएको छ । ‘मास्क  फर्किए’ शीर्षकको नाटक टिकटदरकै कारण आलोचित भएको थियो । सामान्य मानिसले टिकट काटेर नाटक हेर्न नसक्ने भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । ‘त्यो नाटकको प्रस्तुति मात्रै हाम्रो थियो । आयोजक अर्कै थिए । व्यवस्थापनमा हामीले हस्तक्षेप गर्ने कुरा भएन,’ विपिन र शरच्चन्द्र लिएर फेरि रंगमञ्चमा देखा परेका पोखरेल हाँस्दै सुनाउँछन्, ‘अहिले हामी आफैँले खर्च व्यहोरेका छौँ । टिकट सामान्य छ । टिकटकै कारण प्रश्न उठ्दैन ।’