मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार ०७:०७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

यतीले विस्थापन गर्न लागेका ३० वर्ष पुराना जेटस्ट्रिम जहाज किनेर चलाउँदै सिम्रिक एयर

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार ०७:०७:००

यती एयरलाइन्सले ०७० मा पाँच थान पुराना जेटस्ट्रिम जहाज ५ वर्षभित्र विस्थापन गर्ने योजना मन्त्रालयलाई बुझायो, तर ५ वर्षपछि ०७५ मा विस्थापनलाई पुनः ३ वर्षको समय माग्यो, त्यो समयसमेत सकिन लागेपछि ३० वर्ष पुराना जहाज सिम्रिक एयरलाई बिक्री गर्ने तयारी गरेको छ 

यती एयरलाइन्सले पुरानो भएको भन्दै दुई–दुईपटक विस्थापन गर्न खोजेका ३० वर्ष पुराना जहाज सिम्रिक एयरलाइन्सलाई बिक्री गर्न लागेको छ । तिनै जहाज किनेर सिम्रिकले गुण एयरलाइन्सका नाममा उडान गर्ने भएको छ । यतीले ०७० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ०७५ भित्र ३० वर्ष पुराना जेटस्ट्रिम जहाज विस्थापन गर्ने र एटिआर जहाजमार्फत उडान गर्ने प्रस्ताव गरेको थियो । त्यस अवधिमा जहाज विस्थापन गर्नुको साटो यतीले ०७५ मा पुनः ३ वर्ष समय मागेर जेठ ०७८ सम्म जहाज विस्थापनको अवधि थप गराएको थियो । तर, सो समयावधि सकिन केही महिना मात्रै बाँकी रहेका ती जहाज किनेर सिम्रिक एयरलाइन्सले उडान गर्न लागेको हो । 

जेटस्ट्रिम जहाज बेलायतको ब्रिटस एरोस्पेसले सन् १९९२ मा पहिलोपटक उडान गराएको थियो । जेटस्ट्रिम जहाज बेलायतको ब्रिटस एरोस्पेसले सन् १९९२ मा पहिलोपटक उडान गराएको थियो । तिनै जहाज यतीले अहिले उडाइरहेको छ । ‘यती एयरलाइन्सले पर्यटन मन्त्रालयमा दुईपटकसम्म आफैँले विस्थापन गर्ने प्रस्ताव पठाएको  जहाज अहिले सिम्रिकलाई बिक्री गर्न लागेको सुनेर अचम्म लागेको छ,’ पर्यटन मन्त्रालय स्रोतले भन्यो । 

जेटस्ट्रिम जहाज संसारभर १ सय थान मात्रै उत्पादन गरिएपछि बन्द गरिएको थियो । हाल यती एयरलाइन्सले उडान गरेका ५ थान जेटस्ट्रिम जहाज अफ्रिकन एयरलाइन्स कम्पनी इजी फ्लाईमार्फत सन् १९९८ मा खरिद गरेको थियो । २९ सिट क्षमताका जेटस्ट्रिम–४१ सिरिजका जहाजमध्ये एक थान सन् २०१६ मा भैरहवा विमानस्थलमा दुर्घटना भएको थियो ।

यती एयरलाइन्सको उक्त जहाज दुर्घटना हुदाँ मानवीय क्षति नभए पनि जहाजमै गम्भीर सुरक्षामा समस्या देखिएको भन्दै छानबिन आयोगदेखि प्राधिकरणको हवाई सुरक्षा शाखाले गम्भीर चासो दिएको थियो । ‘जेटस्ट्रिम जहाजका स्पेयर्स पार्टस्देखि इन्जिनमा समेत प्राविधिक समस्या पर्न थालेको छ, सोही कारण यतीले विस्थापनको नीति लिएको हो, तर सिम्रिकले किन लिन खोजेको बुझ्न सकिएन,’ स्रोतले भन्यो । 

यतीसँग रहेका पाँचवटा जेटस्ट्रिममध्ये तीनवटा ग्राउन्डेड छन् । अधिकांशको फ्लाइङ आवर १ वर्ष मात्रै बाँकी छ । अहिले दुईवटा १८ सिट क्षमताका विचक्राफ्ट–१९०० मार्फत सिम्रिकले उडान गर्दै आएको छ । सिम्रिकले यसअघि एटिआर–७२ जहाज ल्याएर ट्रंक रुटमा उडान गर्ने योजना नै सार्वजनिक गरेको थियो । ‘तर, अहिले सस्तोकै लागि यतीका थोत्रा जहाज खरिद गर्न खोजेको देखियो,’ प्राधिकरण सम्बद्ध स्रोतले भन्यो । 

यतीका जहाज खरिदका लागि फाइनल चरणको डिल चलिरहेको सिम्रिक एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बालकृष्ण श्रेष्ठले बताए । ‘यतीले विस्थापनका लागि मन्त्रालयमा निवेदन दिएको विषय जानकारी छैन,’ श्रेष्ठले भने । यसअघि एटिआर–७२ जहाज ल्याउने भने पनि अहिले यतीको जेटस्ट्रिम जहाज खरिदका लागि अन्तिम चरणको छलफल गरिरहेको उनले बताए । 

सहकारी र घरजग्गा व्यवसायबाट टाट पल्टिएका सुधीर बस्नेतले सञ्चालन गरेको अग्नि एयरलाइन्स र आर्थिक संकटमा फसेका घरजग्गा व्यवसायी राजेन्द्र शाक्यको गुण एयरलाइन्सका दुई–दुई जहाज क्याप्टेन रामेश्वर थापाले खरिद गरेर सिम्रिक एयरलाइन्स कम्पनी खडा गरेका थिए । केही महिनाअगाडि मात्रै थापा समूह सिम्रिकबाट बाहिरिएसँगै घरजग्गा व्यवसायी शाक्य बहुमत सेयरसहित आफँै अध्यक्ष बनेका थिए । शाक्यले सिम्रिक एयरलाइन्सको नाम परिवर्तन गरेर गुण एयरलाइन्स बनाउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएका छन् ।
 
यती समूह पुराना जहाज बिक्री गर्ने खेलाडी

पुराना जहाज खरिद–बिक्री गर्ने यती एयरलाइन्सले यसअघि तत्कालीन महानिर्देशक रतिशचन्द्रलाल सुमनकै मिलेमतोमा दुर्घटनाका कारण उडाउनै नसक्ने अवस्थामा पुगेको भन्दै प्राधिकरणको दर्ता किताबबाट हटाइएको नेपाल वायुसेवा निगमको एउटा जहाजलाई तारा एयरको नाममा पुनः दर्ता गरिदिएको थियो । बनाउनै नसक्ने अवस्थामा पुगेर दर्ता खारेज भएको जहाज यती समूहको भगिनी संस्था तारा एयरको नाममा दर्ता गरिएको थियो ।

कम्पनीले सो जहाज बंगलादेशमा ३५ लाख डलरमा बिक्रीसमेत गरिसकेको छ । तारा एयरले निगमसँग भाडामा लिएको कलसाइन ९एन–एबिक्यू भएको ‘डिएचसी ६–३०० ट्विनअटर’ (सिरियल नम्बर ६६५) उडानक्रममा सन् २०१२ मा डोल्पा विमानस्थलमा दुर्घटनामा परेको थियो । ताराले उडाए पनि स्वामित्व निगमसँग रहेका कारण उक्त दुर्घटनापछि उडाउन नसकिने भन्दै निगम सञ्चालक समितिले १२ साउन २०७० मा तारालाई जहाज हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।  

पछि २३ भदौ ०७० को निर्णयअनुसार निगमले जहाजको दर्ता खारेजीका लागि प्राधिकरणमा निवेदन दिएको थियो । जहाज तारालाई दिन निगम नेतृत्व, प्राधिकरण र यतीसमूहको मिलेमतो रहेको थियो । ताराले प्राधिकरणमा नयाँ दर्ता गर्दा ९एन–एबिक्यूको साटो ९एन–एकेएम राखेको थियो । दुर्घटना भए पनि शिखर इन्स्योरेन्सबाट बिमा दाबी गरेर निगमले भुक्तानीसमेत लिइसकेको थियो । सोही जहाजलाई पुनः दर्ता गरेर यती समूहले बिक्री गरेको थियो । 

बक्यौता नतिरेसम्म नाम परिवर्तन र जहाज खरिदमा सिम्रिकलाई समस्या
सिम्रिक एयरलाइन्स ०७६ चैतदेखि बन्द अवस्थामा छ । अब विमानस्थल सेवा शुल्कबापतको बक्यौता भुक्तानी नगरेसम्म उडान गर्न पाउनेछैन । अन्य एयरलाइन्स कम्पनीले आन्तरिक उडान सुरु गरेको ६ महिना भए पनि सिम्रिक एयरलाइन्सले हालसम्म उडान गर्न सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने विमानस्थल सेवाशुल्कबापतको बक्यौता रकम २ करोड २९ लाख रुपैयाँ रहेको छ । केही समयमै बक्यौता रकम तिर्ने गरी प्रक्रिया अगाडि बढेकाले किस्ताका आधारमा रकम तिर्दै जाने सिइओ श्रेष्ठले बताए । ‘सिम्रिक एयरलाइन्सको नाम परिवर्तन गरेर गुण एयरलाइन्स बनाउने गरी प्रस्ताव पठाएका छौँ,’ सिइओ श्रेष्ठले भने ।