मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार ११:५४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१५ अर्ब लगानीको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा दैनिक ३ हजार मेट्रिकटन उत्पादन क्षमता

तीन ठूला व्यावसायिक घरानाहरू शंकर ग्रुप, अम्बे ग्रुप र सिके गोल्छाको संयुक्त लगानी, उद्योगबाट ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन हुने

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार ११:५४:००

मुलुकका तीन ठूला व्यावसायिक घरानाहरूको संयुक्त लगानीमा स्थापित सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । शंकर ग्रुप, अम्बे ग्रुप र सिके गोल्छा परिवारको १५ अर्ब लगानीमा सिराहाको मिर्चैयामा रहेको उद्योगबाट सिमेन्टको परीक्षण उत्पादन सुरु भएको हो ।   

मुलुककै अत्याधुनिक प्रविधियुक्त सिमेन्ट उद्योगबाट माघ तेस्रो सातादेखि क्लिंकर उत्पादन सुरु भइसकेको शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए । ‘हामीले आगामी हप्तादेखि क्लिंकर बिक्री सुरु गर्छौँ, सिमेन्ट बजारमा आउन अझै एक महिनाजति लाग्छ,’ उनले भने, ‘अहिले सिमेन्टको परीक्षण उत्पादन भइरहेको छ ।’ अब केही दिनमै गुणस्तर चिह्नका लागि गुणस्तर तथा नापतौल विभागमा आवेदन दिइने उनले बताए । उद्योगको जडित उत्पादन क्षमता दैनिक ३ हजार मेट्रिकटन रहेको छ ।    

उद्योगबाट ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन हुनेछ । अग्रवालका अनुसार सौर्य सिमेन्टले नेपालमै पहिलोपटक ‘लो अल्कलाई’ सिमेन्ट पनि उत्पादन गर्न लागेको छ । यो सिमेन्ट ठुल्ठूला जलविद्युत्, सिँचाइका नहर तथा खानेपानीका ड्यामहरूमा प्रयोग गरिन्छ । उनी भन्छन्, ‘यो सिमेन्टको लाइफ बढी हुने भएकाले पानी हुने परियोजनाहरूमा धेरै प्रयोगमा आउँछ । यस उद्योगमा चुनढुंगा खानीदेखि सिमेन्ट उत्पादनसम्म एकीकृत प्रविधियुक्त प्लान्ट जडान गरिएको छ ।’ 

अग्रवालका अनुसार सौर्य सिमेन्ट उद्योगका लागि चाहिने चुनढुंगा खानी उदयपुरको कटारीमा छ । ‘खानीमा झन्डै ५० वर्षलाई पुग्ने चुनढुंगा छ, जुन मुलुककै सबैभन्दा उच्च गुणस्तरको छ,’ उनले भने, ‘गुणस्तरीय चुनढुंगा प्रयोग गरेर उत्पादन गरिने सिमेन्ट पनि उच्च गुणस्तरकै हुन्छ ।’ लोकप्रिय ब्रान्ड गैँडाछाप सिमेन्ट उत्पादन गर्ने सरकारी स्वामित्वको उद्योग उदयपुर सिमेन्टसरह गुणस्तरको चुनढुंगा खानी आफूहरूसँग पनि रहेको उनको जिकिर छ ।

बजारमा दर्जनौँ ब्रान्डका सिमेन्ट उपलब्ध भए पनि वर्षौँदेखि उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्ट सर्वाधिक रोजाइमा परिरहेको छ । अहिले पनि उपभोक्ताहरू गैँडाछाप सिमेन्ट कुरेर वा बढी मूल्य तिरेरै भए पनि खरिद गर्न तयार हुन्छन् । तर, सरकारी उद्योग भएकाले पूर्ण क्षमतामा नियमित चल्न नसक्दा उपभोक्ताले चाहेर पनि सजिलै खरिद गर्न पाएका छैनन् । उपभोक्ताको यही मागलाई ध्यानमा राखेर सौर्य सिमेन्टले गैँडाछापभन्दा पनि गुणस्तरीय सिमेन्ट उत्पादन गरेको अग्रवालले बताए । 

‘गैँडाछाप सिमेन्टको चुनढुंगा राम्रो छ, तर प्रविधि धेरै पुरानो भइसक्यो,’ अग्रवालले भने, ‘हाम्रोमा चुनढुंगा गुणस्तरीय छँदै छ, त्यसमाथि उद्योगको प्रविधि पनि अत्याधुनिक छ, त्यसैले सौर्य सिमेन्ट अझ गुणस्तरीय हुनेछ ।’ गुणस्तरीय सिमेन्ट प्रतिस्पर्धी मूल्यमा किन्न पाइने भएपछि सौर्यले छिट्टै ग्राहकहरूको विश्वास जित्नेमा उनी ढुक्क छन् । पछिल्लो समय बजारमा सिमेन्टको उत्पादन बजारको मागभन्दा अत्यन्तै धेरै छ ।

अझ कोभिड महामारीका कारण सिमेन्टको माग घटेपछि उद्योगहरू ४०–४५ प्रतिशत क्षमतामा चल्न बाध्य छन् । ‘चर्को प्रतिस्पर्धाबीच सञ्चालनमा आएको सौर्य सिमेन्टले बजारमा कसरी आफ्नो उपस्थिति बलियो बनाउँछ त ?’ उनी भन्छन्, ‘सौर्य सिमेन्ट जुन क्वालिटीमा उत्पादन हुन्छ, त्यसले हामीलाई बजार पाउन समस्या हुनेछैन ।’ उपभोक्ताले उच्च गुणस्तरीय सिमेन्ट उचित मूल्यमा पाएपछि सौर्य सिमेन्ट खोजी–खोजी प्रयोग गर्ने उनको विश्वास छ ।

 अग्रवालका अनुसार सौर्य सिमेन्ट सञ्चालनमा ल्याउने योजना बनेको सन् २०१७ मा हो । जुनवेला बजारमा त्यति धेरै ‘प्लेयर’ थिएनन् । पछिल्लो अढाई वर्षमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगको क्षमता विस्तारसँगै, नयाँ उद्योगहरू थपिएसँगै बजारमा तीव्र प्रतिस्पर्धा बढेको हो । ‘पक्कै पनि अहिले सिमेन्ट बजारमा प्रतिस्पर्धा उच्च नै छ, तर अरूले भन्दा गुणस्तरीय माल दिन सकेको खण्डमा उपभोक्ताको विश्वास सजिलै जित्न सकिन्छ,’ उनले भने, ‘हामी गुणस्तरीय सिमेन्ट बजारमा ल्याएर उपभोक्ताको विश्वास जित्नेछौँ ।’

सौर्य सिमेन्ट पूर्वी नेपालको सबैभन्दा ठूलो उद्योग भएको उनले दाबी गरे । यो उद्योग उत्पादन क्षमतामा मात्र होइन कि आधुनिक प्रविधिको प्रयोगमा पनि अग्रणी रहेको छ । उद्योगमा जडित आधुनिक प्रविधिकै माध्यमबाट धेरै कामहरू फत्ते हुन्छन् । माइनिङदेखि सिमेन्ट उत्पादनसम्म एकीकृत प्रविधिको प्लान्ट स्थापना गरिएको छ ।

‘उद्योगमा रोबोटिक प्रयोगशाला राखेका छौँ, जसले चुनढुंगा, क्लिंकरदेखि सिमेन्टसम्मको नमुना परीक्षण स्वचालित रूपमा गर्न सक्छ,’ अग्रवालले भने, ‘सिमेन्टका बोराहरू स्वचालित रूपमै ट्रकमा लोड गर्ने सुविधा पनि उपलब्ध छ ।’ उनका अनुसार बोराहरू पनि लेमिनेटेड हुने भएकाले सिमेन्ट चुहावट कम हुनेछ । यो उद्योग सञ्चालन गर्न २५ मेगावाट विद्युत् आवश्यक हुन्छ, जसमध्ये ६ मेगावाट विद्युत् आफँै आन्तरिक रूपमा उत्पादन गर्ने उनले बताए ।

अहिले नेपालका सिमेन्ट उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसके पनि निकट भविष्यमै पूर्ण क्षमतामा सञ्चालन हुने अग्रवालको विश्वास छ । अझै मुलुकमा थुप्रै पूर्वाधारका कामहरू हुन बाँकी छन् । आधुनिक सहर, सडक, हाइड्रोपावर, भवन निर्माणलगायतका कामले गति समात्नेबित्तिकै सिमेन्टको खपत बढ्ने अग्रवालले बताए । अहिले शंकर समूहअन्तर्गत जगदम्बा, शुभश्री जगदम्बा, रिद्धिसिद्धि र सौर्य सिमेन्ट सञ्चालनमा छन् । उनी भन्छन्, ‘हाम्रा उद्योगहरू पूरा क्षमतामा सञ्चालन हुँदा वार्षिक ४५–५० लाख मेट्रिकटन सिमेन्ट उत्पादन हुन्छ ।’