Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण १० सोमबार ०९:१८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

देवघाटमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १० सोमबार ०९:१८:००

देवघाट गाउँपालिका– १ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । देवघाट– ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो । 

त्यस क्षेत्रमा विद्युत् विस्तार नहुँदा लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो । राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत त्यस क्षेत्रमा विद्युत् विस्तार गरिएको विद्युतीकरण आयोजनाका साइट इन्चार्ज लक्ष्मण रेग्मीले बताए । 

नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन भइरहेको कार्यक्रमबाट तनहुँलाई पूर्ण विद्युतीकरण गर्ने योजना छ । त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र तीनवटा ट्रान्सफर्मर बिहीबार सञ्चालन (चार्ज) गरिएको रेग्मीले जानकारी दिए । ‘लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौँ, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्नेछ,’ उनले भने । 

पाँच सय घरधुरी लाभान्वित
विद्युत् विस्तार भएपछि त्यस क्षेत्रका करिब पाँच सय घरधुरी लाभान्वित हुनेछन् । विद्युत् आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक–एकवटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि घिरिङ गाउँपालिका– १ मा पनि राष्ट्रिय प्रसारण लाइन पुर्‍याई विद्युत् आपूर्ति सुरु गरिएको थियो । 

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इस्ट इन्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग १३ मंसिर ०७५ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको रकम ६१ लाख ५३ हजार अमेरिकी डलर रहेको छ ।

ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनी ३३÷११ केभी वितरण लाइन निर्माण गर्नेछ । कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेसन निर्माणाधीन छन् । ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कामहरू यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।