१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ फाल्गुण १० सोमबार ०८:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवलमा दोस्रो केबलकारको शिलान्यास

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १० सोमबार ०८:२८:००

बुटवलमा दोस्रो केबलकारको शिलान्यास गरिएको छ । अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले आइतबार सिद्धार्थ केबलकारको शिलान्यास गरेका हुन् । आइतबार शिलान्यास भएको सिद्धार्थ केबलकारको तल्लो स्टेसन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्मको राजमार्गको दूरी २ किलोमिटर छ ।

केबलकार निर्माण र सञ्चालनपछि २५ डब्बामा दैनिक ५ हजार पर्यटकले यात्रा गर्ने कम्पनीको अपेक्षा छ । केबलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले ०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र ०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफल वनको जग्गा ३० वर्षका लागि लिजमा दिएको छ । फागुन १ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेको लुम्बिनी केबलकारले २ वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको औपचारिक शुभारम्भ गरिसकेको छ ।  

विगत आठ वर्षदेखि केबलकार निर्माण गर्ने अभियानले मूर्तरूप लिएको प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताए । केबलकार निर्माण सम्पन्न गर्न करिब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । शिलान्यासपछि अर्थमन्त्री पौडेलले रूपन्देहीलाई देशकै विकासको नमुना जिल्ला बनाउने बताए । रुपन्देहीमा ठूला विकासका आयोजनाहरू अगाडि बढेकाले विकासको ‘रोलमोडल’ जिल्लाका रूपमा स्थापित हुन लागेको उनको दाबी थियो । विकास सिक्न र पढ्न रुपन्देही जानुपर्ने जिल्ला बनेको उनको भनाइ थियो । 

बुटवलमा निर्माण हुन लागेको केबलकारले रुपन्देहीको विकासमा बहुआयामिक महत्व राख्ने मन्त्री पौडेलले बताए । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै पौडेलले अब दोस्रो चरणमा काम सुरु हुने बताए । मृत्युमार्गको उपमा पाएको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा बन्ने भनिएको सुरुङमार्ग छिट्टै टेन्डरको प्रक्रियामा जाने पौडेलले बताए ।  

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले जितगढी र नुवाकोटगढी ऐतिहासिक र सांस्कृतिक पूर्वाधारलाई जोडेर पर्यटन विकासले ठूलो फड्को मार्ने बताए । बुटवल आर्थिक र पर्यटकीय हबका रूपमा विकास हुने उनको भनाइ थियो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा केबलकारका लागि मात्रै साढे ४ अर्ब निजी क्षेत्रले लगानी गरेकाले उनीहरूसँग हातेमालो गरेर अगाडि बढ्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता जनाए ।