मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
दीपेश घिमिरे
२०७७ फाल्गुण १० सोमबार ०९:५७:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अपराधमा किशोर–किशोरी : समाज र संस्कृतिको उपज

Read Time : > 6 मिनेट
दीपेश घिमिरे
२०७७ फाल्गुण १० सोमबार ०९:५७:००

विद्यालयबाट घर फर्किंदा माघ २१ मा हराएकी बैतडीकी भागरथी भट्टको भोलिपल्ट शव फेला पर्‍यो । प्रहरीले लामो अनुसन्धानपश्चात् एक किशोरलाई हत्याराको रूपमा सार्वजनिक गर्‍यो । ती किशोरले भट्टको बलात्कारपछि हत्या गरेको स्विकारेको प्रहरीको दाबी छ । यो त एउटा प्रतिनिधि घटना मात्र हो । नयाँ पत्रिका दैनिकमा फागुन ६ मा प्रकाशित एक समाचारले जघन्य अपराधमा संलग्न किशोर–किशोरीको संलग्नताको डरलाग्दो तस्बिर देखाएको छ ।

जसअनुसार जघन्य अपराधमा संलग्न १८ वर्षमुनिका सात सय ७४ जना यतिवेला सुधारगृहमा छन् । उक्त समाचारअनुसार आर्थिक वर्ष ०७५/७६ मा भएका दुई हजार दुई सय ३० बलात्कारका घटनामा दुई हजार दुई सय २७ जना पक्राउ परेका थिए । त्यसमध्ये एक हजार तीन सय २५ जना २५ वर्षभन्दा कम उमेरका अभियुक्त छन् ।

अर्थात्, बलात्कारका घटनाका करिब ६० प्रतिशत अभियुक्त २५ वर्ष कम उमेरका छन् । त्यसमध्ये पनि तीन सय २९ जनाको उमेर १८ वर्षभन्दा कम रहेको छ । यसैगरी, आर्थिक वर्ष ०७६/७७ मा भएका दुई हजार एक सय ४४ मुद्दामा दुई हजार चार सय ५० पक्राउ परेका थिए । जसमा लगभग ६२ प्रतिशत अर्थात् एक हजार तीन सय ६ जना २५ वर्षभन्दा कम उमेरका थिए । तीमध्ये पनि तीन सय पाँचजनाको उमेर १८ वर्षभन्दा कम रहेको देखिन्छ । 

छिमेकी देश भारतमा अपराधमा संलग्न किशोर–किशोरीको तथ्यांक अझ डरलाग्दो देखिन्छ । सन् २०१८ को क्राइम इन इन्डिया प्रतिवेदनका अनुसार सो वर्ष ३१ हजार पाँच सय ९१ किशोर–किशोरी गम्भीर अपराधमा संलग्न भएका थिए । जसमध्ये १९ प्रतिशत महाराष्ट्र र १६.६ प्रतिशत मध्यप्रदेश राज्यबाट छन् । यसरी अपराधमा संलग्न हुनेहरूमा ९९ प्रतिशतभन्दा बढी किशोर रहेको तथ्यांकले देखाउँछ । किशोरहरू संलग्न ९२ प्रतिशत अपराध अर्को व्यक्तिलाई शारीरिक रूपमा हानि नोक्सानी पुर्‍याउने अर्थात् बलात्कार, हत्या, हिंसा, कुटपिटलगायतका रहेको पनि प्रतिवेदनले देखाउँछ । 

नेपाल तथा छिमेकी भारतमा मात्र होइन, संसारभर नै किशोर–किशोरी अपराधमा संलग्नताको दर डरलाग्दोसँग बढ्दै गएको छ । संयुक्त राज्य अमेरिकामा पनि साना हतियार प्रयोग गरी हुने अपराधमा किशोर–किशोरीको संख्या डरलाग्दो छ । जुभेनायल जस्टिस बुलेटिनमा प्रकाशित एक तथ्यांकअनुसार पछिल्ला दुई दशकमा साना बन्दुकको प्रयोगमार्फत भएका मानवहत्याका घटनामध्ये ८६ प्रतिशत १५–२४ वर्ष उमेरसमूहका व्यक्तिबाट भएको देखिन्छ । 

थुप्रै अनुसन्धाताले उमेर र अपराधको तुलनात्मक अध्ययन गरेका छन् । ती अध्ययनले पूर्वीय र पाश्चात्य देशहरूमा किशोर–किशोरीको संलग्नतामा हुने अपराधमा आधारभूत भिन्नता देखाएका छन् । समाजशास्त्र तथा अपराधशास्त्रका प्राध्यापक ड्यारेल स्टेफेन्स्मेयरले अमेरिका र ताइवानमा भएका अपराधका घटनाहरूको तुलनात्मक अध्ययन गरेका थिए ।

उनको अध्ययनले अमेरिकालगायतका पश्चिमा देशमा अपराधमा किशोर–किशोरीको संलग्नता मूलतः इन्डिभिड्युयालिस्टिक (व्यक्तिवादी) रहेको र ताइवानमा कलेक्टिभिस्ट कल्चर (सामूहिक संस्कृति)मा आधारित रहेको पाएको थियो । पश्चिमा देशमा एउटा किशोरले व्यक्तिगत रूपमा यस्ता अपराध गरेको देखिन्छ भने पूर्वीय समाजमा समूहमा वा अन्य साथीसंगीसँगको सहकार्यमा अपराधमा संलग्न हुने गरेको उनको निष्कर्ष छ । 

यतिवेला संसारभरि नै आपराधिक गतिविधिमा किशोर–किशोरीको संलग्नता बढ्दै गएको छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा सबैभन्दा बढी बलात्कार तथा हत्याजस्ता जघन्य अपराधमा किशोर–किशोरीको संलग्नता बढ्दै गएको छ । यसले धेरै प्रश्नलाई एकसाथ उठान गरेको छ । किशोर–किशोरीको अपराधमा संलग्नताको कारण के हो ? यो उनीहरूको मस्तिष्कबाट स्वतः आउँछ वा सामाजिक तथा सांस्कृतिक अवस्थाको उत्पादन हो ? के कस्तो सामाजिक अवस्था भएको समाजमा किशोर–किशोरीको यस्ता अपराधमा संलग्नता बढेर जान्छ ? यस लेखमा मूलतः यस्तै सवाललाई खोतल्ने प्रयत्न गरिएको छ । 

विभिन्न अपराधमा किशोर–किशोरीको संलग्नताका कारण पहिल्याउन थुप्रै अध्ययन अनुसन्धान भएका छन् । ती अध्ययनले किशोर–किशोरीलाई अपराधमा संलग्न गराउनमा साथीसंगीको संगत, कमजोर शैक्षिक अवस्था, गरिबी तथा कमजोर सामाजिक आर्थिक अवस्था, लागुऔषध दुव्र्यसन, अभिभावकको बेवास्तालगायतका कारण प्रमुख रहेको पाइएको छ ।

नेपालकै सन्दर्भमा त किशोर–किशोरीको अपराधमा संलग्नताका कारणहरूको बारेमा खासै अध्ययन भएको पाइँदैन । अध्ययन नभए पनि पछिल्लो समय एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका किशोर–किशोरी संलग्न भएका अपराधका घटनाहरूलाई मिहिन रूपमा केलाउँदा केही कारणहरू पहिचान गर्न सकिन्छ । 

पहिलो कारण सांस्कृतिक अवस्था हो । संस्कृति हामीले मनाउने चाडपर्व रीतिरिवाज मात्र होइन, यो त ‘वे अफ लाइफ’ अर्थात् जीवन जिउने पद्धति हो । किशोर–किशोरीको जीवन पद्धति यतिवेला अत्यन्तै असामाजिक तथा महत्वाकांक्षी बन्दै गएको छ ।

हामीले छोरालाई हुर्काउने पद्धति त अझ डरलाग्दो छ । छोराले केही गलतै गर्‍यो भने पनि अभिभावकले त्यसलार्ई गलत नमानिदिने किसिमको सामाजिकीकरण प्रक्रियाले किशोरलाई एग्रेसिभ (आक्रामक) बनाउँदै लगेको छ । छोराले बाटोमा हिँड्दा अर्को किशोरीलाई जिस्क्यायो, छोयो वा दुव्र्यवहार गर्‍यो भने पनि सामान्य रूपमा लिन्छौँ । मर्द भन्दै उचाल्दिन्छौँ ।

उल्टै पीडित किशोरीलाई गलत दृष्टिकोणले हेरिन्छ । किशोरीहरूमा जे भए पनि सहनुपर्छ भन्ने मानसिकता थोपर्ने प्रक्रिया त जुगौँदेखि चलिरहेकै छ । परिणामतः किशोरी आफूमाथि भएको दुव्र्यवहारका बारेमा खुलेर कसैलाई बताउनै नसक्ने हुन्छन् ।  यसैगरी, हाम्रा परम्परादेखिका कतिपय सांस्कृतिक चालचलन लैंगिक दृष्टिकोणले अत्यन्तै असमान प्रकृतिका छन् ।

विभिन्न अपराधमा किशोर–किशोरीको संलग्नताका कारण पहिल्याउन थुप्रै अध्ययन–अनुसन्धान भएका छन् । ती अध्ययनले किशोर–किशोरीलाई अपराधमा संलग्न गराउनमा साथीसंगीको संगत, कमजोर शैक्षिक अवस्था, गरिबी तथा कमजोर सामाजिक–आर्थिक अवस्था, लागुऔषध दुव्र्यसन, अभिभावकको बेवास्तालगायतका कारण प्रमुख रहेको पाइएको छ ।

उदाहरणका लागि, जात्रामा जाँदा मन परेकी केटीलाई समातेर या जबर्जस्ती उठाएर घरमा ल्याउनेजस्ता कतिपय संस्कृतिका अवशेष अहिले पनि हाम्रो गाउँ समाजमा छन् । अझै पनि बाजेले आफ्ना नातिलाई आफ्नो पालाका यस्ता संस्कृतिका किंवदन्ती मच्चीमच्ची सुनाउँछन् । यसले साना किशोरलाई यस्तै गतिविधि गर्नका निम्ति धेर–थोर प्रोत्साहित गरिरहेको देखिन्छ ।

अझ यसलाई सहज रूपमा भन्नुपर्दा किशोर–किशोरीको अपराधमा संलग्नताको कारण उनीहरूको ब्रेन होइन, यो समाजले निर्माण गरेको जीवन जिउने पद्धति, जसलाई हामी संस्कृति भन्छौँ, त्यसको भूमिका अहं छ । दोस्रो, हाम्रो शिक्षा प्रणाली । हामीले आज प्रदान गरिरहेको शिक्षाले न नैतिकता सिकाउँछ, न त ‘लाइफ स्किल’ बुझाउँछ, न त जीविकोपार्जनका लागि आवश्यक पर्ने ज्ञान नै दिन्छ ।

वास्तवमा कुनै निश्चित उद्देश्य र लक्ष्य नै नभएका पाठ्यक्रम पढाइरहेका छौँ, हामी । विद्यालय जाने बालबालिका तथा किशोर–किशोरीलाई अहिलेको पाठ्यक्रमले अक्षर सिकाउनेबाहेक केही गर्न सकेको छैन । उदाहरणका लागि, कक्षा १ देखि १२ सम्मै अंग्रेजी अनिवार्य छ, तर सार्वजनिक विद्यालयबाट १२ कक्षा पास गरेका आधाभन्दा बढीले अंग्रेजी भाषामा राम्रोसँग एक अनुच्छेद लेख्न सक्दैनन् ।

स्वास्थ्य शिक्षा पाठ्यक्रममा राखिएको छ, अधिकांश विद्यालयका शिक्षकले स्वास्थ्य शिक्षाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित पाठ कहिल्यै पढाउँदैनन् । त्यस्तो पाठ कसरी पढाउने र त्यो पाठको महत्व के हो भन्नेमा स्वयं शिक्षकसमेत जानकार देखिन्नन् । शिक्षकले यस्ता पाठ नपढाइदिँदा प्रजनन स्वास्थ्यका सम्बन्धमा किशोर–किशोरीमा उत्पन्न हुने जिज्ञासाको समाधान कहीँ पाउन सक्ने अवस्था रहँदैन । यसैगरी, नैतिकता तथा अनुशासनलाई प्रवद्र्धन गर्ने किसिमको पाठ्यक्रम हाम्रो विद्यालय तहमा छँदैछैन । परिणामतः किशोर–किशोरीलाई के ठीक के बेठीक भनेर बुझाउनै सकिएको छैन ।

तेस्रो कारण, नेपाली समाजको संक्रमणकाल हो । नेपाली समाज यतिवेला सामन्तवादीबाट पँुजीवादी उत्पादन प्रणालीतर्फको संक्रमणमा छ । हिजोको दिनमा समाजमा पञ्च–भलाद्मी बसेर यस्ता अपराधका सम्बन्धमा कारबाही गर्थे । धर्मले समाजलाई नियन्त्रणमा राखेको थियो । पाप–धर्मको नाममा समाजका सदस्यहरू डराउँथे, पाप गर्नुहुन्न भनेर सचेत थिए । हुन त त्यस समयमा कैयौँ अपराधका घटना सार्वजनिकै हुँदैनथे । तर, सार्वजनिक भएपछि भने सामुदायिक तहमा कारबाही हुने अवस्था थियो ।

समाजमा पुँजीवादी उत्पादन प्रणाली हावी हुँदै जाँदा धर्मले समाजलाई शासन गर्न छाड्यो र कानुनको आवश्यकता प¥यो । तर, हाम्रो जस्तो देशमा यस्ता धेरै क्षेत्रमा आवश्यक पर्ने उपयुक्त कानुन समयमै बन्न सकेका छ्रैनन् । बनेका कानुन पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकिरहेको र नैतिक धरातलले शासन गर्न नसकेको अवस्था छ ।

यसैगरी, यो संक्रमणसँगै समाजमा पैसाको महत्व बढेर गएको छ । जसले किशोर–किशोरीमा महŒवाकांक्षाको भारी थोपरेको छ । त्यस्तो महत्वाकांक्षाको प्राप्तिका लागि उनीहरू जेसुकै गर्न तयार हुन थालेका छन् । यस समयमा आर्थिक तथा सामाजिक अवस्थाले पनि किशोर–किशोरीमा निराशा बढाउन मद्दत गरेको देखिन्छ । 

नेपालमा कति युवा नैराश्यता (डिप्रेसन)को सिकार भएका छन् भन्ने यकिन तथ्यांक त छैन, तर पनि प्रत्येक चारमध्ये दुईजना युवा डिप्रेसनको सिकार रहेको आकलन छ । डिप्रेसन, एन्जाइटी एन्ड डिप्रेसन एसोसिएसन अफ अमेरिकाको एक तथ्यांकअनुसार अमेरिकामा मात्रै चार करोड वयस्क डिप्रेसनको सिकार छन् ।

नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ, अमेरिकाले सन् २०१७ मा गरेको एक अध्ययनअनुसार १२ देखि १७ वर्ष उमेरसमूहका १३.३ प्रतिशत अर्थात् ३२ लाख अमेरिकी किशोर–किशोरी डिप्र्रेसनको सिकार छन् । यसले पछिल्लो समय किशोर–किशोरीमा डिप्रेसन अर्थात् मानसिक स्वास्थ्यको अवस्था निकै डरलाग्दो रहेको देखाउँछ । डिप्रेसनले किशोर–किशोरीलाई अपराध कर्मतर्फ डोहोर्‍याइरहेको देखिन्छ । 

चौथो कारण कानुन कार्यान्वयनको कमजोर अवस्था हो । कैयौँ अपराधका घटना प्रहरीसम्म नै नपुग्ने, शक्ति र पैसाको आडमा स्थानीय तहमै मिलापत्र हुने घटना नेपाली समाजमा प्रशस्तै छन् । पुगे पनि उचित अनुसन्धान नहुने, अनुसन्धान भइहाले पनि राजनीतिक शक्ति र पैसाको बलमा त्यसलाई तार्किक निष्कर्षमा पुग्न नदिने जस्ता क्रियाकलापले किशोर–किशोरीलाई अपराध कर्ममा थप उत्प्रेरित गरेको छ ।

किशोर–किशोरीको जीवन पद्धति यतिवेला अत्यन्तै असामाजिक तथा महत्वाक्षी बन्दै गएको छ । हामीले छोरालाई हुर्काउने पद्धति त अझ डरलाग्दो छ । छोराले केही गलतै ग¥यो भने पनि अभिभावकले त्यसलार्ई गलत नमानिदिने किसिमको सामाजिकीकरण प्रक्रियाले किशोरलाई आक्रामक बनाउँदै लगेको छ ।

गत असोजमा बझाङको मस्टा गाउँपालिकामा १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या गर्ने अभियुक्त किशोर त्यसअघि पनि त्यस्ता घटनामा संलग्न भएको तथ्य सार्वजनिक भएको थियो । अघिल्ला घटनामा पैसा र शक्तिको आडमा जोगाउँदाको परिणाम सम्झनाले ज्यान गुमाउनुपर्‍यो ।

तराईका जिल्लामा पञ्चभेलाका नाममा यस्ता घटनाका अपराधीलाई उन्मुक्ति दिइँदाको परिणामस्वरूप डरलाग्दा घटनामा किशोरहरूको संलग्नता बढेको देखिन्छ । भागरथी भट्टकै सन्दर्भमा पनि उनका बाबुले वर्षौंअगाडि गरेको अपराधमा उनलाई सजाय नहुँदाको बदला लिएको भन्ने पनि सार्वजनिक भएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको अहिलेसम्म पहिचान हुन नसक्दा यसले कैयौँ किशोरमा यस्तै गरी घटना दबाइदिन सक्छु भन्ने सोचाइ बढाएको पनि हुन सक्छ । यी त केही उदाहरण मात्र हुन् । वास्तवमा कानुन कार्यान्वयनको अवस्था कमजोर हुँदा त्यसले किशोर–किशोरीको अपराधमा संलग्नता बढाएर लगेको छ । 

पाँचौँ कारण प्रविधिको दुरुपयोग हो । यतिवेला गाउँगाउँमा मोबाइल सेवा पुगेको छ । अधिकांश किशोर–किशोरीको हातमा स्मार्ट फोन छ । त्यो फोनमा इन्टरनेट जोडिएको छ । इन्टरनेटको व्यवस्थित उपयोगको बारेमा किशोर–किशोरीलाई कहीँ कतै कुनै पनि माध्यमबाट सिकाइएको छैन । अमेरिकामा कुनै पनि व्यक्तिले कानुनले वर्जित गरेका कुनै पनि भिडियो पटक–पटक खोजी गर्‍यो भने तत्काल साइबर सेक्युरिटीमा एलर्ट जान्छ ।

अनि यसबारेमा तत्काल अनुसन्धान हुन्छ । तर, नेपालमा कुन उमेरको व्यक्तिले के हेर्न मिल्ने, के नमिल्ने भन्ने कुनै व्यवस्थित नियम छैन । भएको नियमको पनि कार्यान्वयनको कुनै स्पष्ट संयन्त्र छैन । किशोर–किशोरीले उनीहरूको उमेरसमूहले हेर्न नमिल्ने खालका भिडियो सहजै हेर्न पाइरहेका छन् । कहीँ कतै रोकतोक छैन । सामाजिक सञ्जालको प्रयोगको अवस्था उस्तै बेथितिग्रस्त छ ।

आमनेसामने भएर बोल्न गाह्रो हुने कुरासमेत किशोर–किशोरीले सामाजिक सञ्जालमार्फत सहजै भन्न, लेख्न सक्छन् । यस्तो गर्न हुन्छ÷हँुदैन भन्ने जानकारी नै नभएकाले पनि जानी–नजानी उनीहरूको अपराधमा संलग्नता बढ्दै गएको देखिन्छ । यस्ता घटनामा आफ्ना समकक्षी साथीसँगको संगतका कारण पनि किशोर–किशोरीहरू अपराध कर्ममा लालायित हुन पुग्छन् । जसले बिस्तारै किशोर–किशोरीको अपराधमा संलग्नताको ग्राफ डरलाग्दो गरी बढाउँदै लगेको छ ।

छैटौँ कारण सामाजिक बहिष्करण तथा घृणा हो । आफ्नो जात, वर्ग, वर्णको आधारमा हुने बहिष्करण र घृणाले किशोर–किशोरीको मनमा बदलाको भावना भर्दै लैजान्छ । सार्वजनिक स्थलमा कतिपय अवस्थामा एकले अर्कालाई होच्याएर वा घृणापूर्वक बोल्ने र व्यवहार गर्ने गरिरहेको देखिन्छ । कतिपय यस्ता कार्यमा अभ्यस्त भएका होलान्, तर धेरैमा यसले बदलाको भावना बढाउँछ । आधारभूत सम्मानको अभावमा किशोर–किशोरी अपराधतर्फ डोरिएका कैयौँ उदाहरण हाम्रो समाजमा छरपष्ट देख्न सकिन्छ । 

किशोर–किशोरीको अपराधमा संलग्नता उनीहरूको ब्रेन (दिमागबाट) स्वतः आउने कुरा होइन । बरु यो हाम्रो समाज, संस्कृति, राजनीतिक तथा आर्थिक अवस्थाको उपज हो । प्रसिद्ध समाजशास्त्री आरके मर्टन भन्छन्, ‘हरेक व्यक्ति जे जस्तो छ, जे सोच्छ वा जस्तो कार्य गर्छ, त्यो ऊ जन्मे–हुर्केको समाजको सामाजिक संरचनाको उपज हो ।’ यसमा अर्का समाजशास्त्री टालकोर्ट पार्सनको पनि समान धारणा पाइन्छ । यसलाई मिहिन रूपमा विश्लेषण गर्दा हाम्रो सामाजिक, सांस्कृतिक तथा आर्थिक संरचनाले किशोर–किशोरीलाई अपराध कर्मतर्फ डोहोर्‍याएको देखिन्छ । यदि यस अवस्थामा सुधार गर्नेतर्फ समयमै कदम नचाल्ने हो भने आगामी दिनमा यस्ता घटना अझै बढेर जाने निश्चित छ ।