मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण ९ आइतबार ०६:३४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यालय तहमा लेटर ग्रेडिङ : ३५ नम्बर नल्याउनेलाई मूल प्रमाणपत्र नदिने तयारी

इन्साइड स्टोरी

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण ९ आइतबार ०६:३४:००

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी भइरहेको छ । कक्षा ८, एसइई (कक्षा १०) र १२ मा बेन्चमार्क ३५ अंक अर्थात् ग्रेड डी प्राप्त गरेपछि मात्र मूल प्रमाणपत्र दिने गरी शिक्षा मन्त्रालयले नयाँ व्यवस्थाको तयारी गरेको हो । शिक्षामन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले निर्णय गरी मन्त्रालयमा पठाएको प्रतिवेदनका आधारमा यस्तो तयारी भएको हो ।

नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षरांकन पद्धतिसम्बन्धी अध्ययन गर्न राष्ट्रिय योजना आयोग सदस्य डा.उषा झाको संयोजकत्वमा कार्यदल बनेको थियो । सो कार्यदलले दिएको प्रतिवेदनका आधारमा परिषद्ले गरेको निर्णय शिक्षा मन्त्रालय पठाइएको हो । कार्यदलले आठवटा विषयगत ग्रेड र ग्रेड पोइन्टसमेत निर्धारण गरेको छ । यसअघि ३० अंक ल्याउँदा डी प्लस हुने व्यवस्था गरेकामा अब भने ३५ अंकलाई बेन्चमार्क तोक्ने र डी ग्रेड मान्ने सुझाब दिएको छ । अहिले ९ वर्गान्तरयुक्त अक्षरांकन पद्धति लागू गरिएको छ । अब ननग्रेडसहित आठवटा हुनेछन् । 

कक्षा ८, एसइई र १२ मा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र मूल प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्नु उपयुक्त हुने सुझाब छ । ‘बेन्चमार्क ३५ तोकिएपछि सोभन्दा कम सिकाइ उपलब्धि प्राप्त गर्नेहरूको ग्रेडसिटमा ‘कम्प्लिटेड’ भनेर उल्लेख नगर्नु उपयुक्त हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जबसम्म विद्यार्थीले विषयगत रूपमा आन्तरिक वा प्रयोगात्मकतर्फ सी र आवधिक वा सैद्धान्तिक तर्फ डी ग्रेड प्राप्त गरी समग्रमा डी ग्रेड प्राप्त गर्न सक्दैनन्, तबसम्म सो तह पूरा भएको नमानी मूल प्रमाणपत्र पनि उपलब्ध नगराउनु उपयुक्त हुन्छ ।’

विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम आधार श्रेणी आन्तरिक वा प्रयोगात्मकमा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ प्रतिशत हुने गरी अभ्यास गर्नुपर्ने सुझाब छ ।मूल प्रमाणपत्र नलिई देश तथा विदेशमा अग्र अध्ययन गर्न नसकिने र देशबाहिर गई कसैले त्यसरी अध्ययन गरेमा समकक्षता प्रदान नगरिने व्यवस्था गर्नुपर्छ, तर रोजगारदाता संस्थाले रोजगारीका लागि उपयुक्त ठानेमा त्यसले बाधा नपार्ने व्यवस्था गर्न सुझाब छ ।

मूल प्रमाणपत्र प्राप्त गर्न विद्यार्थीले एकपटक ग्रेड वृद्धि परीक्षामा र उक्त ग्रेड वृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसके अर्को वर्षको परीक्षामा सामेल हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) र माध्यमिक तहको अन्तिम परीक्षामा एनजी ग्रेड प्राप्त गरेका विद्यार्थीले माथिल्लो तह/कक्षामा अध्ययनको अवसर पाउने छैनन् । त्यस्ता विद्यार्थीले स्वदेशमा रहेका विदेशी बोर्डसम्बद्ध शिक्षण संस्था र अन्य मुलुकमा गई कुनै पनि बोर्डमा भर्ना भएरसमेत माथिल्लो अध्ययन गर्न पाउने छैनन् । 

०७८ देखि नै कार्यान्वयन गर्न सुझाब
कार्यदलले नयाँ ग्रेडिङ तालिका शैक्षिक वर्ष २०७८ देखि सबै कक्षा र तहमा लागू गर्नुपर्ने सुझाब दिएको छ । यसको कार्यान्वयनमा लैजानुभन्दा अगाडि मौजुदा अक्षरांकन पद्धतिसम्बन्धी निर्देशिका परिमार्जन गरी सम्बन्धित सरोकारवालालाई सुसूचित तथा अभिमुखीकरण गर्नुपर्नेछ ।

यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका स्वीकृतिलगायत सार्वजनिक सूचना गर्ने, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसको कार्यान्वयनका लागि शिक्षा विकास तथा समन्वय एकाइ, प्रदेश र स्थानीय तहसँग समन्वय एवं तालिमसम्बन्धी कार्य गर्ने र पाठ्यक्रम विकास केन्द्रले विषयगत मूल्यांकनका लागि विशिष्टीकरण तालिका र नमुना मूल्यांकन साधन विकास गरी प्रकाशन गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

अक्षरांकन पद्धति व्यवस्थित भएपछि कक्षा वा तह पूरा गरेको प्रमाणपत्र पाउने विद्यार्थीले माथिल्लो कक्षामा पढ्न सक्ने व्यवस्था गरिनुपर्छ । भर्नाका आधार तोक्नु आवश्यक नभएको उल्लेख छ । विद्यालयको आधारभूत तथा माध्यमिक तहमा अलगअलग अक्षरांकन पद्धतिको अभ्यास छ । कार्यदलले सबै तह र कक्षामा अक्षरांकन पद्धतिको एकरूपता कायम गर्नु जरुरी रहेको उल्लेख गरेको छ । त्यसका लागि मापदण्डको आवश्यकता देखिएको छ । 

विद्यालय तहमै लेटर ग्रेडिङ  पद्धतिमा फरक–फरक अभ्यास
अहिले विद्यालय तहमा अक्षरांकनमा मूल्यांकन विधि फरकफरक छ । कक्षा ८, एसइई र कक्षा १२ को परीक्षाबाहेकका तहमा विद्यालयपिच्छे फरक विधिमा अक्षरांकन पद्धति अभ्यास गरिँदै आएको पाइन्छ । एकरूपता नहुनुमा हरेक विद्यालयले आ–आफ्नो तरिकाले यसलाई व्याख्या गर्दै फरक–फरक आइटी डेभलपरबाट सफ्टवेयर तयार गर्ने गरेका छन् । विद्यालयको अभ्यासलाई हेर्दा अक्षरांकनमा एकरूपता छैन । 

राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन भइरहेका कक्षा १० तथा कक्षा ११, १२ को प्रमाणपत्र प्रदान गर्दासमेत भिन्नभिन्न प्रकारले प्रदान गरेको पाइन्छ । कक्षा १० को विद्यालय शिक्षा परीक्षामा सहभागी विद्यार्थीलाई कक्षा १० को परीक्षा सम्पन्न गरेको भनेर प्रदान गरिन्छ भने कक्षा ११ र १२ मा प्रत्येक विषयमा डी प्लस ग्रेड ल्याएकालाई मात्र प्रमाणपत्र दिने व्यवस्था छ ।

कक्षा १० को परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक अंक जोडेर समष्टिगत ग्रेड प्रदान गरिन्छ र ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिक मात्र दिए पुग्ने व्यवस्था रहेको छ । कक्षा ११ र १२ को परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवैमा डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।