१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ८ शनिबार २०:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश सभा भंग गरेर देखाउन भीम आचार्यको चुनौती 

‘अल्पमतमा परेपछि सत्ता पक्षले दुई महिनासम्म संसद् अवरुद्ध गरेको संसारमा कतै उदाहरण छैन’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ८ शनिबार २०:५५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रदेश–१ का इन्चार्ज तथा पूर्वमन्त्री भीम आचार्यले मुख्यमन्त्री शेरधन राईलाई तागत भए प्रदेश सभा भंग गरेर देखाउन चुनौती दिएका छन् । काठमाडौंमा शनिबार पत्रकारहरूसँगको भेटघाटमा इन्चार्ज आचार्यले प्रदेश सभा भंग गरिए जनआन्दोलनको बलमा पुनस्र्थापना गरेर लोकतान्त्रिक प्रक्रिया सुचारु गरिने रोडम्याप सुनाए । 

‘तागत छ भने प्रदेश सभा भंग गरेर देखाए हुन्छ, म चुनौतीका साथ भन्दै छु’, मुख्यमन्त्री राईको पछिल्लो चेतावनीलाई इंगित गर्दै आचार्यले भने, ‘हामी पुनस्र्थापना गरेर लोकतान्त्रिक प्रक्रिया सुचारु गरेरै छाड्छौँ ।’ गत शुक्रवार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले सरकारलाई असहयोग जारी रहे, अविश्वासको प्रस्ताव फिर्ता नभए प्रदेश सभा भंग हुने चेतावनी दिएका थिए । 

दुनियाँमा कतै पनि अल्पमतमा परेको सरकारले झन्डै दुई महिनासम्म अविश्वासको प्रस्ताव अघि बढ्न नदिएर संसद् अवरुद्ध भएको उदाहरण नभएको दाबी गर्दै उनले केही सीप नलागेपछि मुख्यमन्त्री राई पक्षले सभामुख, उपसभामुख र सांसदहरूलाई धम्क्याउने र तर्साउने, प्रलोभनमा पार्ने कोसिस जारी राखेको बताए ।  ‘आइतबार प्रदेश सभा बैठक बोलाइएको छ, सोमबारसम्म नियमित रूपमा सभा सञ्चालन हुनुपर्छ, सभामुख, उपसभामुख, सांसद कसैले पनि खुट्टा कमाउनु हुँदैन’ आचार्यले प्रश्न गर्दै भने, ‘झन्डै दुई महिनासम्म अविश्वासको प्रस्ताव दर्ता भएपछि सभा सञ्चालनको प्रक्रिया नै अवरुद्ध भएको दुनियाँमा कतै उदाहरण छ ?’

आचार्यले ९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसदको मन जितेर विश्वासको मत लिन चुनौती दिँदै परीक्षणबाट नभाग्न मुख्यमन्त्री राईलाई चेतावनीसमेत दिए ।  धाक–धम्कीबाट कोही पनि नडराउने भन्दै उनले सभामुख, उपसभामुख र सांसदहरूमाथिको धम्कीको भत्र्सना गर्दै कडा प्रतिवाद गरिने पनि प्रस्ट्याए । ‘९३ जना सांसदमा ३० जनाको पनि समर्थन नरहेको अल्पमतको सरकार रहिरहनुपर्छ, नीति, नियम, संविधान, बहुमत, प्रक्रिया केही पनि नमान्नेले सभामुख, उपसभामुख र सांसदहरूलाई धम्क्याउने गरिरहेका छन्, त्यस्तो कदमको म भत्र्सना गर्छु, नचाहिने कामको कडा प्रतिवाद हुन्छ ।’ आचार्यको चेतावनी छ । 

आचार्यले असंवैधानिक कदम भन्दै सडक आन्दोलनमा रहेको प्रमुख प्रतिपक्षी कांग्रेसले एजेन्डा र लोकतन्त्रका लागि लडेको बिरासतका कारण पनि प्रतिगमनको मतियार बनेको प्रदेश सरकारलाई साथ नदिने विश्वास पनि व्यक्त गरे । त्यस्तै, जनता समाजवादी पार्टीले समेत अविश्वासको प्रस्ताव पास गर्न सहयोग पु¥याउने दाबी गर्दै उनले प्रस्ताव पास भएपछि मात्र सरकार कसरी बनाउने विषयमा औपचारिक रूपमा छलफल अघि बढ्ने बताए । 

अल्पमतमा परिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मुख्यमन्त्री लाजै नमानी लिसो टाँसिए जसरी कुर्सीमा टाँसिएको भन्दै आचार्यले व्यंग्य पनि गरे । ‘अविश्वासको प्रस्तावबाट अल्पमतमा परेको प्रस्ट भएपछि नैतिकता भइदिएको भए खुरुक्क राजीनामा दिएर हिँड्नुपर्ने हो, तर मुख्यमन्त्री लाजसरम पचाएर लिसो टाँसिएझँै टाँसिएका छन्’, आचार्यले भने, ‘यस्तै हो भने त अल्पमतमा परेको सरकारका कारण संसारको कुनै पनि संसद् चल्न सक्दैन, के लोकतन्त्र र संसदीय व्यवस्थाको विधि यस्तै हुन्छ ?’