मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार ०९:३८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से सीमान्तदरमा बढ्यो, २६ खर्ब पुग्न लाग्यो लगानीकर्ताको सम्पत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार ०९:३८:००

बुधबार सेयर बजार परिसूचक नेप्से सीमान्तदरमा वृद्धि भएको छ । नेप्से ९ दशमलव ९४ अंकले बढेर २ हजार ६ सय ११ बिन्दुमा पुगेको हो । कारोबार अवधिमा दुईपटकसम्म अघिल्लो दिनको भन्दा तल ओर्लिएको नेप्से सीमान्तदरमा भए पनि वृद्धिको बाटोमा देखियो । 

उच्च तहमा आएसँगै नेप्सेको बुलिस प्रवृत्ति कमजोर बन्न थालेको छ । लगानीकर्तामा पनि अबको नेप्सेको दिशालाई लिएर अन्योल देखिएको छ । बैंकहरूको समेत कर्जा लगानी वृद्धि भइरहेपछि बजारको गतिलाई लिएर लगानीकर्ता सचेत भइरहेका छन् । बुधबारको वृद्धि बैंकिङ क्षेत्रले धानेको देखिन्छ । 

कारोबारमा आएकामध्ये बैंकिङ, व्यापारमूलक, विकास बैंक, अन्य र सामूहिक लगानी कोष समूहगत परिसूचकमा सामान्य सुधार आएको हो । कारोबारमा आएका २ सय ३ धितोपत्र तथा ऋणपत्रमा ७५ वटाको मूल्य बढेको, १ सय ११ वटाको मूल्य 
घटेको छ । 

यसरी मूल्य बढ्नेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन ऊर्जा, संवृद्धि फाइनान्सको करिब १० प्रतिशतको दरमा मूल्य बढेको छ । कारोबार रकमका आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक अग्र स्थानमा छन् । यस दिन कारोबार रकम केही घटेर ८ अर्ब रुपैयाँमा सीमित भएको छ । 

हकप्रद प्रस्ताव गरेर ६ महिनासम्म पनि आवश्यक कागजात नबुझाएपछि धितोपत्र बोर्डले जलविद्युत् लगानी तथा पूर्वाधार कम्पनी र वरुण हाइड्रोपावरको आवेदन रद्द गरिदिएको छ । कम्पनीहरूले हकप्रद जारी गर्नुपर्ने भए पुनः आवेदन दिनुपर्ने भएको छ । 

जलविद्युत् लगानी तथा पूर्वाधार कम्पनीले आव २०७६/७७ को वार्षिक वित्तीय विवरणमा सरकारलगायतका सेयरधनीबाट हकप्रदका लागि २ आर्थिक वर्षमा गरेर कुल १० अर्ब ५० करोड रुपैयाँ प्राप्त गरिसकेको उल्लेख गरेको थियो ।

 ७ कम्पनीको बजार पुँजीकरण १ खर्ब माथि 
बजार उच्च विन्दुमा रहँदा सात कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब रुपैयाँभन्दा माथि आएको छ । नेपाल टेलिकम २ खर्ब ३ अर्ब रुपैयाँसहित यो सूचीको अग्र स्थानमा छ । नबिल बैंकको १ खर्ब ८४ अर्ब, नेपाल लाइफ इन्योरेन्स १ खर्ब ६५ अर्ब, नेपाल पुनर्बिमाको १ खर्ब ५७ अर्ब, नागरिक लगानी कोषको १ खर्ब ३८ अर्ब, ग्लोबल आइएमई बैंकको १ खर्ब ७ अर्ब र एनआइसी एसिया बैंकको १ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । केहीअघि मात्रै कारोबारमा आएको नेपाल लगानी तथा पूर्वाधार बैंकको पनि कुल बजार पुँजीकरण ९० अर्ब रुपैयाँ पुगेको छ । लगानीकर्ताको कुल सम्पत्तिको मूल्य १४ अर्ब रुपैयाँले बढेर ३५ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।